Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

निर्वाचनमा खटाईएको शैली प्रति शिक्षकहरु असहमत

सोमबार, २८ कार्तिक २०७९

काठमाडौं - झापाको गौरादह नगरपालिका वडा नं. ६ स्थायी घर भएका शिक्षक निरबहादुर बराल हाल दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ८ को क्षत्रवती माध्यमिक विद्यालयका शिक्षक हुन् । प्राथमिक तहको प्रथम श्रेणीका शिक्षक बराललाई दोलखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर ४ गते हुने प्रतिीनीधि सभा र प्रदेश सभा निर्वाचनमा सोही जिल्लाको भुसाफेदामा रहेको नवीन माध्यमिक विद्यालय मतदान केन्द्र ‘ग’ मा सहायक कर्मचारीको जिम्मेवारी तोकियो । जिम्मेवारी तोकिए पछि उनले सो पदमा रही कार्य सम्पादन गर्न नसक्ने जनाए । उनले निर्वाचन कार्यालयले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने भन्दै २७ कार्तिकमा पत्र समेत लेखे ।

‘मेरो पद प्राथमिक शिक्षक, प्रथम श्रेणी जुन निजामति कर्मचारीको राजपत्रांकित तृतीय श्रेणी अर्थात् छैटौं तह सरहको अधिकृत बराबरको हो’ उनले भने, ‘तर निर्वाचन कार्यालयले सो पद अनुसारको जिम्मेवारी मलाई दिएन, त्यही भएर मैले सहायक कर्मचारी हुन सक्तिनँ भनेर पत्र लेखे, पत्र बुझाएँ ।’

उनले मात्र हैन, कैलालीका चार माविका तृतीय श्रेणीका शिक्षकहरु क्रमशः सुवोधकुमार शर्मा, मनोजकुमार जोशी, हरिदत्त भट्ट र बलिभद्र देवकोटाले पनि आपूmहरुलाई निर्वाचनमा ‘सहायक कर्मचारी’ मा खटाइएको प्रति असन्तुष्टि पोख्दै निर्वाचनको जिम्मेवारीबाट हटाउन निर्वाचन अधिकृतलाई पत्र लेखेका छन् ।

उनीहरुले शिक्षकलाई अन्य सेवाका समान तह र श्रेणीका कर्मचारीहरु भन्दा कनिष्ठ हुने गरी तल्लो तहमा सिफारिश गरी खटाइएको प्रति आपत्ती जनाएका छन् । निर्वाचन कार्यालयहरुले आफूहरुलाई प्रयोग मात्र गर्न खोजेको ती असन्तुष्ट शिक्षकहरुको भनाइ छ । उनीहरुले शिक्षकको मानमर्दन गर्ने गरेको समेत बताए ।

नेपाल शिक्षक महासंघले पनि सो विषयमा ध्यानाकर्षण भएको जनाएको छ । महासंघले प्रावि तृतीय तहलाई खरिदार, प्रावि द्धितीय, निमावि तृतीयलाई नासु सरह, प्रावि प्रथम, निमावि द्धितीय र मावि तृतीयलाई शाखा अधिकृत, निमावि प्रथम र मावि द्धितीयलाई उपसचिव सरह र मावि प्रथमलाई सहसचिव सरह गर्नुपर्ने माग गरिरहेको छ । सो माग बमोजिम नगर्दा र शिक्षकको तह अनुसारको जिम्मेवारी नदिँदा शिक्षकहरु निर्वाचन आयोगको कामदेखि रुष्ट बनेका हुन् ।

महासंघका उपाध्यक्ष तिलक कुँवरले निर्वाचनमा शिक्षकलाई खटाउनु स्वागत योग्य भएको तर शिक्षकको तह र श्रेणी अनुसार जिम्मेवारी नदिनु खेदजनक भएको प्रतिक्रिया दिए । दोलखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शिव पोखरेलले केही शिक्षकहरुले मर्यादाको कुरा उठाएर राज्यले दिएको जिम्मेवारीबाट पन्छिएको बताए ।

उनले निर्वाचन आयोगको जनशक्ति निर्धारणका लागि बनाइएको कार्यविधि अनुसार जनशक्ति व्यवस्थापनको क्रममा शिक्षकहरुलाई पनि समेटिएको जानकारी दिँदै असन्तुष्ट शिक्षकहरुको ठाउँमा अन्य वैकल्पिक जनशक्ति लगाइएको बताए ।

‘खटाएको ठाउँमा इच्छुक शिक्षक जिम्मेवारी लिएर गएका छन्, अनिच्छुक शिक्षकले जिम्मेवारी लिएका छैनन्, उहाँहरुको विचार के हो बुझ् गाह्रो छ’ उनले भने, ‘यही ४ गते सम्मका लागि हो, त्यति जिम्मेवारी लिँदा मानमर्दन त हुँदैन, यो कुरा केही शिक्षकले बुझेका छैनन् ।’

उनले पाँच वर्षमा आउने निर्वाचनका लागि सबैले सहयोग गर्नु पर्नेमा केही शिक्षकहरु तिललाई पहाड बनाएर जिम्मेवारी निर्वाहबाट पन्छिएको समेत बताए ।

निर्वाचनमा खटिने मतदान अधिकृतले प्रतिदिन २ हजार ५ सय, सहायक मतदान अधिकृतले प्रतिदिन २ हजार, सहायक कर्मचारीले १ हजार ६ सय, सहयोगी कर्मचारीले १ हजार २ सय र स्वयम्सेवकले १ हजार २ सय प्राप्त गर्छन् । 

प्रतिक्रिया