Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
गतिविधि

विद्यार्थीको विवरणमा लापरबाही, फारम भर्दा नै ख्याल गर्न आग्रह

शुक्रबार, ०९ मंसिर २०७९

भक्तपुर - आफ्नै विवरण भर्दा लापरवाही गरेका कारण विद्यार्थीले निकै हैरानी खेप्दै आएका छन् । परीक्षाका लागि भर्नु पर्ने फारममा आवश्यक विवरण भर्दा नै ध्यान दिनु पर्ने हुन्छ । तर, विद्यार्थीले फाराम भर्ने बेलामै लापरबाही गर्दा भविष्यमा दुःख समेत पाउने गरेका छन् । सोही लापरबाहीका कारण भविष्यमा समस्या आउने भएकाले परीक्षा नियन्त्रण कार्यालय भक्तपुरमा विवरण सच्याउन आउने विद्यार्थीको संख्या कहिल्यै टुट्दैन । 

हिजो आज पनि दैनिक २५ जनाको हाराहारीमा नामथर, जन्ममिति सच्याउन आउने गरेको कार्यालयले जनाएको छ । त्यसैले फाराम भर्दा नै ख्याल गर्न राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक अर्जुनबहादुर रायमाझीले अनुरोध गरेका छन् । 

‘विद्यार्थीले लापरबाही गर्ने गरेका छन्, त्यसले गर्दा भविष्यमा दुःख समेत पाउने गरेका छन्, यो कुरा उनीहरुलाई अहिले थाहा हुन्न, त्यही भएर विद्यालय प्रशासन, प्रधानाध्यापकले यो विषयमा ध्यान दिनुपर्छ’, उनले भने, ‘त्यतिले पनि नपुगे सम्बन्धित पालिकाको शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाइले ख्याल गर्नुपर्छ ।’

उनले अधिकांश विद्यालयले फारम भर्दा नाम थर, जन्ममिति र परीक्षा दिने विषयमा समेत गडबडी गर्ने गरेको पाइएको पनि बताए ।

यसैबिच कार्यालयले २०७९ सालको कक्षा १० को अन्तिम परीक्षामा समावेश हुनका लागि आवदेन फाराम भर्न सूचना जारी गरेको छ । उक्त सूचना सँगै रायमाझीले फाराम भर्दा विशेष ख्याल गर्नुपर्नेमा जोड दिएका छन् । 

कार्यालयले आगामी पुस १० गतेभित्र आवदेन फाराम भर्नका लागि सूचना जारी गरेको छ । कार्यालयले अहिले शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीका लागि सूचना जारी गरेको हो । 

परीक्षामा सहभागी हुनका लागि शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययनरत माध्यमिक तहको खुला तथा बैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीले सो फाराम भर्नुपर्ने कार्यालयले जनाएको छ । 

फारम भर्दा साधारण तथा प्राविधिक धारतर्फका विद्यालयमा हाल कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीले रजिष्ट्रेशनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७७ वा सोभन्दा पहिले आधारभूत तह( कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि (प्रधानाध्यापकबाट प्रमाणित) गरी विद्यालय पोशाकमा हाल सालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो सहित परीक्षा दस्तुत वापत ५ सय रुपैयाँ विद्यालयमा बुझाउनुपर्ने हुन्छ । 

यस्तै खुला, वैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयमा पढिरहेका विद्यार्थीको हकमा दूर शिक्षा÷खुला सिकाई कार्यक्रम सञ्चालन निर्देशिका(संसोधन सहित) २०६३ को दफा १५ र १७ अनुसार भर्ना भएको र भर्ना भएका विद्यार्थीले तोकेको सबै शर्तहरु पूरा गरेको सिफारिश सहित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात संलग्न गरी हालसालै खिचिएको पासपोर्ट साइजको दुईप्रति फोटो सहति परीक्षा दस्तुर वापत ५ सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया