Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
खबर/फिचर

कार्यविधि बनाएरै नगर शिक्षकको व्यवस्था, विद्यालयलाई राहत

मंगलबार, १३ मंसिर २०७९

ललितपुर – टीकाथलीस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा अहिले ५ सय ४१ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

महालक्ष्मी नगरपालिका वडा नं. ५ मा रहेको सो विद्यालयको इसिडीदेखि प्रावि तहसम्म ३ सय विद्यार्थी छन् । ती ३ सय विद्यार्थीका लागि स्कुलसँग पुग्दो संख्यामा शिक्षक दरबन्दी छैन ।

आफैले शिक्षक बन्दोबस्त गर्न सक्ने स्रोत पनि विद्यालयसँग छैन । अभिभावकको माग र चाहना अनुसार विद्यालयले अँग्रेजी माध्यमबाट पठनपाठन गराउन थालेको छ । अभिभावकको माग पूरा भएसँगै बढ्दो छ विद्यार्थीको आर्कषण । तर त्यही आर्कषणले विद्यालय प्रशासनलाई भने टाउको दुख्ने गरेको छ । कारण हो, विद्यार्थी संख्या अनुसार शिक्षकको प्रबन्ध गर्न नसक्नु ।

‘विद्यार्थीको आर्कषण बढेसँगै शिक्षक चाहियो भनेर नगरपालिका धाएँ, नगरपालिकाले पनि आवश्यक शिक्षक दिन सकेन’, प्रधानाध्यापक भरत खनालले भने, ‘निजि शिक्षक पाल्ल सकिने अवस्था पनि छैन ।’

शिक्षक चाहियो भनेर प्रधानाध्यापक खनालमात्र नगरपालिका धाएका हैनन्, सो नगरपालिकाका अरु विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी पनि नगरपालिका धाए ।

विद्यालयहरुको शिक्षक चाहियो भन्ने मागलाई सम्बोधन गर्न नगरपालिकाले नगर शिक्षकको अवधारणा अघि ल्यायो । सो अनुसारको कार्यविधि बनाएर शिक्षक नियुक्ती भएपछि अहिले महेन्द्रग्राम लगायतका अन्य विद्यालयलाई पनि राहत मिलेको छ ।

‘शिक्षकविना कसरी शैक्षिक क्रियाकलाप अघि बढ्थ्यो र ? कम्तिमा एकजना भए पनि सहजीकरण गर्ने व्यक्ति त चाहियो नि’, प्रअ खनालले भने, ‘नगरपालिकाले अहिले विद्यार्थी अनुपात हेरेर नगर शिक्षक पठाएको छ, त्यसले राहत पुगेको छ ।’ 

संघीय सरकारले विद्यालयको आवश्यकता अनुसार शिक्षक दरबन्दी दिन नसक्दा धेरै विद्यालयहरुका कक्षाकोठा शिक्षक विहीन छन् । अझ केही समय अघि शिक्षक दरबन्दी मिलानको क्रममा प्राथमिक तहका शिक्षक संख्या कटौती गर्दाको मार स्थानीय पालिकाहरुले व्यहोरिरहेका छन् ।

सोही मारलाई कम गर्न महालक्ष्मी नगरपालिकामा ‘नगर शिक्षक’ को अवधारणा ल्याइएको नगर शिक्षा शाखाकी अधिकृत सुनिता योङहाङले बताइन् । नगरपालिका क्षेत्रमा रहेका विद्यालयहरुमा अध्ययन गरिरहेका विद्यार्थीको अनुपातमा शिक्षक नभए पछि शिक्षक अभावलाई कम गर्न नगर शिक्षक बन्दोबस्त गर्ने नगरपालिकाले निर्णय गरेको उनले बताईन् । 

‘शिक्षक दरबन्दी मिलान गर्दा परेको अफ्ठ्यारोलाई सहज बनाउन नगर शिक्षकको अवधारणा अघि सारिएको हो’ उनले भनिन् ‘दरबन्दी मिलानको क्रममा यस नगरपालिकाबाट ११२ जना प्रावि दरबन्दी काटिएपछि धेरैमा जनशक्ति अभाव भयो ।’

नगरपालिकाले अहिले वडा नं. ५ स्थित महेन्द्रग्राम माविमा एक, वडा नं. ७ स्थित नारायण आविमा एक, वडा नं. १० स्थित कालिदेवी माविमा २, बासुकी माविमा १ जना नगर शिक्षक नियुक्त गरेको छ ।

नियुक्त भएका शिक्षकलाई महंगी भत्ता सहित प्रावि तृतीय सरहको पारिश्रमिक दिइएको छ ।

संविधानले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय सरकार मातहत तोकेको छ । नगरपालिकाले शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारको रुपमा लिएको बताउँदै अधिकृत योङहाङले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय अनिवार्य शिक्षा प्रदान गर्ने दायित्व पूरा गर्न ५ जना नगर शिक्षकको दरबन्दी दिने कामबाट सुरु गरेको र त्यसको प्रभावकारिता बढ्दो रहेको दावी गरिन् ।

सो नगरपाललिकामा २८ वटा प्रारम्भिक बालवकास केन्द्र रहेका छन् भने आधारभूत तह (कक्षा १–५) सम्म सञ्चालित विद्यालय एक, आधारभूत तह (कक्षा १–८) सम्म सञ्चालित विद्यालय तीन, मावि तह (कक्षा १–१०) सम्म सञ्चालित विद्यालय ५ र माध्यमिक तह (कक्षा १–१२) सम्म सञ्चालित विद्यालय ६ गरी जम्मा १५ वटा सामुदायिक विद्यालय रहेका छन् ।

नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा २ हजार ७ सय ८४ छात्रा र २ हजार ८ सय ३२ छात्र गरी ५ हजार ६ सय १६ विद्यार्थी अध्ययन गरिरहेका छन् । 

प्रतिक्रिया