Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
गतिविधि

चुनावमा २५ विद्यालय, एक विद्यालय बस र चार शिक्षक प्रयोग

मंगलबार, १३ मंसिर २०७९

काठमाडौं - गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा २५ वटा विद्यालय, एक वटा विद्यालय बस र चार जना शिक्षक प्रयोग भएको पाइएको छ ।

बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सो तथ्य बाहिर ल्याएको हो । अभियानका अनुसार चुनावी प्रचारका बेला वाम लोकतान्त्रिक गठबन्धनले १५ वटा विद्यालय र नेकपा एमालेले १० वटा विद्यालयको प्रयोग गरेको पाइएको छ ।

संस्थाले गरेको अध्ययन अनुसार राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले चुनावमा दुई सय १६ वटा कार्यक्रममा बालबालिका प्रयोग गरेका छन् । दलहरुले घरदैलो, प्रचारप्रसार तथा र्याली, आमसभा, प्रचारप्रसार सामग्री तथा कलाकारको रूपमा समेत बालबालिकालाई प्रयोग गरेका थिए । 

दल तथा उम्मेदवारहरुले प्रचार प्रसार तथा र्यालीमा एक सय ४४ वटा, घरदैलोमा १२ वटा, आमसभामा १८ वटा, प्रचारप्रसार सामग्रीमा १३ वटा र कलाकारको रूपमा २८ वटा कार्यक्रममा बालबालिकाको प्रयोग गरेको तथ्यांक पाइएको संस्थाका अध्यक्ष राजेश शर्माले बताए ।

सबैभन्दा बढी सत्ता गठबन्धनका दलहरूबाट बालबालिका प्रयोग भएको पाइएको उनले बताए । गठबन्धनका दलहरूबाट ९८ वटा घटना, नेकपा (एमाले) बाट ७१ वटा, अन्य राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारबाट १३ वटा घटनामा बालबालिका प्रयोग गराइएको पाइएको उनको भनाइ छ ।

 

प्रतिक्रिया