Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

असल शिक्षकका पक्षमा संसदमा आवाज उठाउने प्रतिवद्धता

मंगलबार, २० मंसिर २०७९

भक्तपुर - भक्तपुर क्षेत्र नं. १ का नवनिर्वाचित सांसद प्रेम सुवालले अरु काममा असफल भइसकेपछि शिक्षक बन्ने प्रवृत्तिको अन्तका लागि आवश्यक नीति नियम निर्माण गर्न संसदमा आवाज उठाउने प्रतिवद्धता जनाएका छन् । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव समेत रहेका सुवालले 'फल राम्रो बनाउन बिउ राम्रो चाहिए जस्तै' समाज राम्रो बनाउन असल शिक्षक चाहिने तर्क दिदैं यो विषयलाई प्राथमिकता दिने बताएका हुन् । 

‘अरु कुनै काम नभएपछि, अरु काममा असफल भइसकेपछि शिक्षक बन्ने प्रवृत्ति विकास भइरहेको छ, यसले पनि शिक्षालाई गुणस्तरीय बनाउन सकिएको छैन’, चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथली स्थित देवी माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सवमा कार्यक्रममा बोल्दै सांसद सुवालले भने, ‘जसरी फल राम्रो बनाउनका लागि राम्रो बिउ चाहिन्छ, त्यसरी नै समाज राम्रो बनाउन असल शिक्षक चाहिन्छ, असल शिक्षक बनाउनका लागि संसदमा आवाज उठाउने छु ।’

उनले गएको पाँच वर्षमा पनि शिक्षाबारे सडक र सदनमा आवाज उठाएको प्रसंग जोड्दै यो पटक पनि शिक्षाका विषयलाई प्राथमिकताका साथ उठाउने बताए ।

‘दश वर्ष अगाडि एक कक्षामा १३ लाख विद्यार्थी भर्ना भएका थिए, अस्तिको एसईईमा ५ लाखमात्र बाँकी भो, हामीले शिक्षा मन्त्रीलाई सोध्यौं, मन्त्रीज्यू, खोइ विद्यार्थी ? मन्त्रीज्यूले भन्नुभयो, थाहा छैन, संसदमा शिक्षाबारे विषय उठाउँदा शिक्षामन्त्री नाजवाफ भएको प्रसंग सुनाउदै उनले भने, ‘मन्त्री भएपछि जनताका छोराछोरी कहाँ छन् ? खोज्नुपर्छ, थाहा छैन भन्न मिल्दैन, ‘जनताका छोराछोरीलाई नपढाउने हो भने शिक्षामन्त्रीको औचित्य हुँदैन, मन्त्रालयको औचित्य हुँदैन, राजिनामा गरेर घर बसे हुन्छ ।’

सत्तामा रहेका दलहरूको गलत नीतिका कारण शिक्षण पेशाप्रति नयाँ पुस्ताको आर्कषण कम हुँदै गएको बताउँदै उनले शिक्षण पेशामा सबैभन्दा उत्कृष्ट व्यक्ति आउनुपर्ने वातावरण नबनाएको समेत आरोप लगाए ।

कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले देवी मावि चाँगुनारायण नगरकै शानको रुपमा रहेको उल्लेख गर्दै सो विद्यालयको असल अभ्यास अरु विद्यालयहरुका लागि उपयोगी रहेको चर्चा गरे । उनले चाँगुनारायण नगरपालिकाले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि विद्यार्थी, शिक्षकको दक्षता अभिवृद्धि गर्न विभिन्न क्रियाकलाप गरिरहेको जनाउँदै शिक्षालाई पहिलो प्राथमिकतामा राखेको पनि बताए । 

शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले सामुदायिक विद्यालयमा बढिरहेको सरकारको लगानी अनुसारको प्रतिफल नआउँदा सामुदायिक स्कुल आलोचित हुन परेकाले सो विषयलाई ख्याल गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम छुकांले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउनका लागि आगामी दिनमा गुणात्मक र संख्यात्मक रुपमा विद्यार्थी संख्या बढाउने, मल्टिमेडियाको प्रयोग गरी पठनपाठन गराउने, विषयगत शिक्षक सिकाइ उपलब्धि हासिल गर्नेलगायतका योजना बनाएको उल्लेख गरे ।

सो अवसरमा विद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । 

वि.सं. २०२५ सालमा स्थापना भएको सो विद्यालयमा हाल ६७७ विद्यार्थी, ५३ जना शिक्षक, कर्मचारी छन् ।

प्रतिक्रिया