Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

इसिडी सहजकर्ता माविको प्रअ

आइतबार, ०३ पुस २०७९

धनकुटा - धनकुटा नगरपालिकाको वडा नं. ८ साङताङस्थित देउराली माध्यमिक विद्यालयकी बालविकास सहजकर्तालाई सो विद्यालयको निमित्त प्रधानाध्यापक तोकिएको छ । विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले उक्त विद्यालयको रिक्त रहेको प्रधानाध्यापक पदमा सोही विद्यालयमा २०६० सालमा इसिडी कोटामा नियुक्त भएकी सरु राईलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको हो । 

वडा अध्यक्ष रसबहादुर राईले उक्त विद्यालयमा कार्यरत १७ जना शिक्षकमध्ये इसिडी सहजकर्तालाई निमित्त प्रअ तोकिएको बताए ।

‘विद्यालय प्रशासन, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ सबैको सहमतिमा उनलाई प्रधानाध्यापकको जिम्मेवारी दिईएको हो’ उनले भने,  ‘विद्यालयका अरु स्थायी, राहतका शिक्षकले प्रधानाध्यापक बन्न रुचि नदेखाए पछि प्रअ पद रिक्त नराख्नका लागि प्रअको जिम्मेवारी दिइएको हो ।’

नवनियुक्त प्रअ राईले सबैको समर्थनमा आफूले नचाहेर पनि प्रअको जिम्मेवारी सम्हालेको बताइन् । विद्यालयका अन्य कुनै पनि शिक्षकले आँट नगरे पछि आफू अघि बढ्न बाध्य भएको बताइन् ।  

‘के गर्नु म बाध्य भएँ, त्यही भएर प्रअ बनेँ’ उनले भनिन्, ‘यहाँ स्थायी र राहतका शिक्षक साथीहरु पनि हुनुहुन्छ, तर उहाँहरुले आँट गर्नुभएन, अनि म आफै प्रअ भएँ, सबैले तपाईं नै बन्नुपर्छ, तपाईं स्थानीय पनि हो, काम पनि गरिरहनु भएको छ भनेपछि बनेँ ।’

प्रधानाध्यापक हुनका लागि आवश्यक प्रावधानबारे आफू जानकार रहे पनि विद्यालयको प्रशासन खाली नराख्नका लागि जिम्मेवारी सम्हालेको उनको भनाई छ । विद्यालयका पूर्व प्रधानाध्यापक यमबहादुर बस्नेत केही समयअघि सरुवा भएका थिए । उनको सरुवा भएपछि सहायक प्रधानाध्यापक बलिराम देवानलाई निमित्त प्रअको जिम्मेवारी तोएिको थियो । उनले पनि राजिनामा दिएपछि प्रअ पद खाली बनेको थियो । 

विद्यालय स्रोतका अनुसार विद्यालयमा केही समय अघि (गत असारदेखि) शिक्षक र विद्यार्थीबीच तिक्तता देखिएको थियो । सो समयमा विद्यालयका एक राहत शिक्षकमाथि छात्रामाथि दुव्र्यवहारको आरोप लागेको थियो । सोही आरोपका कारण शिक्षकहरु समेत विभक्त भएका थिए । त्यही कारण अहिले सो विद्यालयको नेतृत्वका लागि शिक्षकहरु अघि सरेका थिएनन् ।
हाल सो विद्यालयमा करिब १४० विद्यार्थी छन् भने १७ जना शिक्षक अध्यापनरत छन् । 

नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठले आफूले पनि सोबारेमा सुने पनि आधिकारिक रुपमा शिक्षा शाखामा पत्र आइ नसकेको बताए । उनले कागजात माग गरिएको जानकारी दिए ।

‘शिक्षा नियमावली अनुसार मिल्दैन, तर पनि आधिकारिक आएको छैन, डकुमेन्ट मागेको छु, डकुमेन्ट आएपछि अध्ययन गरी थप प्रतिक्रिया दिन सकिन्छ,’ श्रेष्ठले भने ।

शिक्षा नियमावलीमा विद्यालयको प्राज्ञिक तथा प्रशासकीय प्रमुखको रुपमा काम गर्न प्रत्येक विद्यालयमा एक जना प्रधानाध्यापक रहने व्यवस्था छ । नियमावलीको परिच्छेद १७ मा प्रधानाध्यापक सम्बन्धी व्यवस्था गरिएको छ । सो परिच्छेदमा ‘व्यवस्थापन समितिले सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदमा नियुक्तिको लागि प्राथमिक तहको प्रधानाध्यापकको हकमा शिक्षा शास्त्र विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह, निम्न माध्यमिक तहको प्रधानाध्यापकको हकमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक वा सो सरह र माध्यमिक तहको प्रधानाध्यापकको हकमा शिक्षाशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरमध्येबाट दरखास्त आह्वान गर्नेछ । तर शिक्षाशास्त्र विषयमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरी माध्यमिक तहमा दश वर्ष स्थायी सेवा गरेको शिक्षक माध्यमिक तहको प्रधानाध्यापकको पदमा उम्मेदवार हुन पाउनेछ’ भनी लेखिएको छ ।

प्रतिक्रिया