Edukhabar
विहीबार, १० जेठ २०८१
गतिविधि

शिक्षाको सौन्दर्यमा क्षयको चित्र

मंगलबार, १२ पुस २०७९

काठमाडौं -  कपुरी ‘क’

खोइ कलम?

ऐन लेख्न गयो,

खोई शिक्षा ऐन ?

फाइलभित्र पस्यो,

खोई फाइल ?

मुसाले खायो,

खोई मुसा?

शिक्षा मन्त्रालयमा लुक्यो !

कवितात्मक शैलीका शब्दलाई कार्टुन चित्रमार्फत् पनि प्रष्ट पारेका छन्, कार्टुनिष्ट सुदर्शन सिग्देलले । आउन ढिला भइसकेको संघीय शिक्षा ऐनका शैक्षिक प्रशासकदेखि राजनीतिक दलहरु सम्मले ‘बेमतलब’ गर्दा त्यसले शिक्षासम्बन्धी उठेका कयौं प्रश्नहरु अनुत्तरितै छन् । यो सत्य बुझेका कार्टुनिष्ट सिग्देलले शिक्षा मन्त्रालय पुगेको शिक्षा ऐन खोजेका छन्, शिक्षा ऐन खाने मुसा खोजेका छन् । 

नेपालको सार्वजनिक शिक्षा संकट उन्मुख रहेको शिक्षाविद र शैक्षिक अभियन्ताहरुले सार्वजनिक रुपमै बोल्दा, विभिन्न तरिकाले अभिव्यक्ति दिँदा पनि निदाएको अभिनयमा पोख्त ‘कलाकार’ हरु कोल्टे फेर्ने ध्यानमा छैनन् । यही कारण सार्वजनिक शिक्षा बिग्रेको छ । शिक्षामा बेथितिको चाङ छ, विकृतिको बोक्नै नसकिने भारी छ । शिक्षाका तल्ला तहदेखि माथिल्लो निकायसम्म समस्याहरु छन् । 

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले प्रदर्शन गरेको ‘ब्ल्याकबोर्ड’ शीर्षकको कार्टुन प्रदर्शनीका दुई दर्जन शैक्षिक मुद्धाका कार्टुनहरुले शिक्षाका ‘यस्तै यस्तै’ समस्यालाई देखाउँदै सुधार गर्न बितिसकेको सन्देश दिएका छन् ।

‘सार्वजनिक शिक्षा सम्मेलन २०७९’ का अवसरमा आयोजित कार्टुन प्रदर्शनीले शिक्षामा रुपान्तरणको चिन्तन गरेको छ ।

कार्टुनिष्ट महेशले विद्यालय व्यवस्थापन समितिका अध्यक्षले शिक्षक नियुक्ति, भवन निर्माण लगायत विषयमा गरेको अनियमिताका कारण बदनाम बनेको विव्यसमाथि व्यङ्ग्य गरेका छन् ।

यसैगरी उनले निजी विद्यालयहरुले लिने गरेको अत्यधिक शुल्कलाई ‘यत्ति पैसा तिरेसी त, खरर पढ्न सक्ने होला नि बाबु’ भन्दै निजी विद्यालयका प्रिन्सिपललाई घोचेका छन् ।

कार्टुनिष्ट विष्णु थापाले बढ्दो मोबाइलको प्रयोगसँगै बालबालिकालाई मात्र हैन, अभिभावकलाई समेत सामाजिक सञ्जालले बनाएको व्यस्ततामाथि व्यङ्ग्य गरेका छन् । फेसबुकमा फोटो अपलोड गर्ने, त्यसमा लाइकको लोभ गर्ने प्रवृत्तिमाथि उनको व्यङ्ग्य छ । उनले निजी विद्यालयको नदेखिएको सिण्डिकेटमाथि पनि व्यङ्ग्य गरेका छन् ।

उनले भनेका छन्, ‘होइन, होइन, कटुटु पनि विद्यालयलयकै छापवाला हुनुपर्छ क्या ।’

कार्टुनिष्ट भानुले कलिला विद्यार्थीले बोक्नु परेको किताबी बोझ र त्यो बोझले मरेको सिर्जनशीलता, किताबी किरोबाट उम्कन खोजे पनि नसकेको विम्वलाई कार्टुनमा देखाएका छन् ।

कार्टुनिष्ट कोइमीले शंखेकिराको गतिमा अघि बढ्दै गरेको गुणस्तरीय शिक्षा प्रणाली, बासु क्षितिजले शैक्षिक गुणस्तरका लागि शिक्षा मन्त्रालयको प्राथमिकतामाथि व्यङ्ग्य गरेका छन् ।

आर. के. थापाले सैद्धान्तिक प्राविधिक शिक्षा र व्यवहारिक प्राविधिक शिक्षाको अन्तर देखाएका छन् । उनले सैद्धान्तिक ज्ञान लिएका प्राविधिक भन्दा व्यवहारिक रुपमा ज्ञान लिएका किसान उद्यमी र खुसी भएको यथार्थ पस्केका छन् । 

कार्टुनिष्ट आरके थापाले विभिन्न कारणले बन्द भएको सामुदायिक विद्यालय र त्यसले पारेको असरलाई कार्टुनमा पस्केका छन् । उनले विद्यालय बन्द भएपछि बालबालिका पढाइबाट बञ्चित भएको विषय उठाएका छन् ।

कार्टुनिष्ट पानसिंह तोमारले कोभिडको समयमा सञ्चालनमा रहेको अनलाइन कक्षालाई देखाउँदै सिकाइ र आर्थिक विपन्नताको चेपमा परेका विद्यार्थीको मर्मलाई चित्रण गरेका छन् ।

कार्टुनिष्ट अविनले संविधानले निः शुल्क शिक्षा भने पनि अझ पनि सामुदायिक विद्यालयले लिइरहेको शुल्कमाथि व्यङ्ग्य गरेका छन् । उनले अर्को कार्टुनमा शिक्षामा लगानी र प्रतिफलको अनुपात, बासु क्षितिजले महंगो शुल्कको भार, सामुदायिक विद्यालयका अनेकौं चुनौतिहरु आदिलाई प्रष्ट्ष्याएका छन् ।

एनसिई नेपाल र कार्टुनिष्ट क्लब अफ नेपालसँगको सहकार्यमा उक्त प्रदर्शनी गरिएको हो । क्लबका अध्यक्ष बासु क्षितिजले सार्वजनिक शिक्षा नसुध्रिएको अवस्थामा जवाफदेहिता कम खोजिने बताए ।

भने, ‘सार्वजनिक शिक्षा नसुध्रिएसम्म देशको समग्र शिक्षा पक्कै सुध्रिदैन । यही मर्मलाई आत्मसात गरी शिक्षक, विद्यार्थी, अभिभावक, सरकार र सम्बन्धित पक्षलाई बुझिने गरी सन्देश दिनु अहिलेको आवश्यकता हो । रोचक, घोचक तरिकाले बुझाउने माध्यम कार्टुन कला हो ।’

सो प्रदर्शनीमा राखिएका कार्टुनहरुले नेपालको शिक्षामा भोगिएका दुई अवधिलाई झल्काएका छन् । कार्टुनिष्टहरुले कोभिड १९ को संकटपूर्ण अवस्थामा शिक्षाको अवस्था र वर्तमान शिक्षाको दूरावस्था देखाएका छन् ।

प्रतिक्रिया