Edukhabar
शनिबार, १९ फागुन २०८०
बहस

‘शिक्षकको भाषा’ को भाष्य

शुक्रबार, २२ पुस २०७९

समाज परिवर्तनका ‘संवाहक’ शिक्षकका अनुभव, अनुभूति, विचारहरु लेखिन जरुरी छ । वास्तविक अनुभूति नै मन छुने साहित्यिक रचना हो । त्यो रचना सबैका लागि काम लाग्छ । त्यो रचनाले स्वभाविक रुपमा जो कोहीलाई पनि रचनात्मक रुपमा सहयोग गर्छ नै । यस्तै सहयोग गर्ने प्रयत्न गरेका छन्, लेखक तथा पूर्व शिक्षक छवि अनित्यले, आफ्नो पुस्तक ‘शिक्षकको भाषा’ मा ।

२०७२ सालको माघमा स्थायी शिक्षक भएको २७ महिना पार गरी २०७४ मा ‘स्थायी शिक्षक’ बाट राजिनामा गरेर ‘आँटिला’ काम गरी स्वयम् आफूलाई ‘असफल शिक्षक’ घोषणा गरेका हेटौंडाका छवि अनित्यको पुस्तक मा सुनेको भन्दा आफूले भोगेको र देखेको अनुभवलाई प्रस्तुत गरेका छन्, र भनेका छन्, ‘शिक्षण पेशामा प्रवेश गर्नु जति सहज छ, शिक्षक हुन त्यति सहज छैन ।’

२०५८ सालमा कक्षा ११ पढ्दै गरेका १६ वर्षे एक किशोरले बोर्डिङ स्कुलबाट शिक्षण यात्रा सुरु गरे । क्रमशः सामुदायिक विद्यालयको निजी स्रोत, लियन, राहत हुँदै स्थायी शिक्षकसम्म बन्न सफल भए । शिक्षणको क्रममा उनको मनमा लागिरह्यो, ‘शिक्षण आफैमा एउटा पेशा हुँदै हो । त्यो भन्दा बढी यो कला हो । अनि शिक्षक एउटा कलाकार । रंगमञ्चभन्दा कम छैन कक्षाकोठा । दिनहुँ फरक फरक विषयवस्तुमा उस्तै प्रस्तुति दिनुपर्छ शिक्षकले । उसका प्रत्येक दिनको प्रस्तुतिले विद्यार्थीलाई आकर्षित गरिरहनु पर्छ । जब त्यो कलाको एउटा प्रस्तुतिमा एउटा शिक्षक चुक्छ अनि दुर्घटना हुन्छ ।’

शिक्षकका कारण कक्षाकोठा कसरी ‘शून्यता’ मा रमाइ रहेछ ? सिकाइ स्तर कसरी ऋणात्मक बन्दैछ ? त्यसले एउटा विद्यार्थी होइन, सिंगो एउटा पुस्ता कसरी पछाडि परिरहेको छ ? वास्तवमा शिक्षकले विद्यार्थीप्रति, शिक्षालयप्रति, अभिभावकप्रति र शिक्षक हुनुको गर्वप्रति न्याय गर्न सकेको छ ? सबै शिक्षकले छातीमा हात राखेर सोच्नु पर्ने स्थिति आएको बेला छवि अनित्यको ‘आत्म मूल्यांकन’ को साझा प्रतिविम्ब हो — शिक्षकको भाषा ।

‘शिक्षकको भाषा’ पढ्दै गर्दा ‘ह्या ! के पढ्नु ? एक शिक्षकको निजी अनुभव र विचारै त हो नि’ भनी पन्छन पनि छुट छ, जो कोहीलाई । तर पढ्दै गर्दा तपाईं पनि ‘शिक्षकको भाषा’ का सर्जकसँग आफ्नै अनुभूतिमा रम्न थाल्नु् हुन्छ । तपाईंलाई आफूले पढ्दाको दुःख याद आउँछ, सहपाठीहरु सम्झनामा आउँछन्, गुरुहरु, विद्यालयको वातावरणको सम्झना आउँछ, आफूले ‘करियर’ सुरु गर्दाको त्यो ‘अग्र्यानिक’ क्षण सिनेमाका रिल झैं आँखा अगाडि आउँछ । ‘शिक्षकको भाषा’ को विशेषता यो पनि हो ।

हुन त छवि अनित्यको त्यो आत्ममूल्यांकन नितान्त निजात्मक हुन् तर कक्षा कोठाको वातावरण, शिक्षककको साझा मनोविज्ञान भने प्रायः उस्तै उस्तै हुन् । यसर्थ, यो पुस्तक शिक्षक बनिरहेकाहरुका लागि उपयोगी, पठनीय छ नै, आगामी दिनमा शिक्षक बन्न खोज्नेहरुका लागि पनि उपयोगी छ ।

समग्र शिक्षा सुधारको आवश्यकता सर्वत्र महशुस गरिँदैछ । यसका लागि शिक्षाका प्रत्येक पाटोलाई सुधार नगरी सुखै छैन । यसको सुरुवात कताबाट गर्दा हुन्छ ? आफैमा यो प्रश्न गम्भीर छ । यताबाट भनी चोर औंला देखाउँदा बाँकी औंलाले आफैतिर पनि सोझ्याइ रहेकै हुन्छ । यही ‘सत्य’ बिर्सिरहेका छौं हामी । यसैले शिक्षामा सुधारका लागि सबै पक्षको भूमिका समान र समानान्तर हुनुपर्नै जरुरी देखिएको छ । लेखक छवि अनित्यले पनि पुस्तक मार्फत् यही माग गरेका छन् । आआफ्नो क्षेत्रमा आआफूले इमान्दारी पूर्वक भूमिका निर्वाह गर्ने हो भने पक्कै पनि शिक्षामा सुधारको लागि टाढाको यात्रा गर्न जरुरी छैन ।

तेह्रवटा शिर्षक मार्फत् लेखक छवि अनित्यले शिक्षाको एउटा सांगोपांगो चित्रण गरेका छन् । उनले ‘शिक्षक’ मा ‘गुरु’ बन्न बाँकी शिक्षकको सन्दर्भदेखि समाजमा शिक्षकको स्थान सम्मको व्याख्या गरेका छन् । व्यावसायिक भन्दा व्यापारिक बनेका शिक्षकका कारण शिक्षामा देखिएको ‘विकृति’ देखाएका छन् ।

‘किसिम किसिमका विद्यार्थी’ मा कक्षाकोठाको वातावरण देखाएका छन् । उनले शिक्षक बन्नका लागि विद्यार्थि र बालबालिकाको मनोविज्ञान बुझ्ने दक्षतामा जोड दिएका छन् । यसैगरी ‘खराब केटी’ केटी वा छात्राप्रतिको बुझाइ र त्यो बुझाले समाजमा परिरहेको नकारात्मक असर, ‘नियत’ले बढ्दो यौन दूव्र्यवहारसँगै छात्राहरुको मनोभाव र ‘बुलिङ’ ले पारेको असरलाई उल्लेख गरेका छन् ।

सकारात्मक सोच र धारणाले परिवर्तन गर्न सकिन्छ भन्ने ‘सत्प्रेरणा’ को मूल भाव रहेको छ भने ‘पढ्ने शिक्षक, पढ्ने विद्यार्थी’ ले पठन संस्कृतिको जरुरीलाई जोड दिएको छ । नेपालको सन्दर्भमा पेचिलो बनेको एउटा सदाबहार विषय हो–शिक्षकको दलसँगको आवद्धता । यही आवद्धताले शिक्षा क्षेत्रलाई नराम्ररी गाँजेको छ । राजनीतिका लागि शिक्षक कि शिक्षकका लागि राजनीति ? भन्ने सवालमा लेखक अनित्यको यही प्रश्न छ: ‘नेता शिक्षक कि शिक्षक नेता ?’ 

राजनीतिबाट कोही पनि बिमुख हुन नसक्ने यथार्थलाई अंगीकार गर्दै उनले शिक्षकले राजनीति गर्न जरुरी रहेको सार प्रष्ट्याएका छन् ।

कवि विनोदविक्रम केसीको ‘आज सरको क्लास लिन्छ विद्यार्थी’ सँग मिल्दोजुल्दो शिर्षकको अर्को निबन्ध ‘माष्टर जाँच्ने विद्यार्थी’ मा उनले शिक्षक हुनुको मर्म, गर्वलाई सिलसिलवद्ध वर्णन गरेका छन् । त्यसैमा उनले शिक्षक किन सबैको सम्झनामा रहिरन्छ ? भन्ने जवाफ खोजेका छन् । शिक्षकलाई हरेक वखत विद्यार्थीले परख गरिरहने यथार्थलाई प्रस्तुत गर्दैै लेखक अनित्यले शिक्षकलाई झक्झक्याएका छन्, लेखनी मार्फत पढाएका छन् । लेखक अनित्य ‘शिक्षक’ को पात्रमा देखिएका छन् ।

‘सिकाइको अभिव्यक्ति’मा उनले आफूमा रहेको सिर्जनशीलतालाई अभिव्यक्त गर्न उक्साएका छन् । त्यो चूर्नौतिपूर्ण भएर पनि त्यसलाई स्वीकाुर्नको विकल्प छैन । क्षमता, दक्षता र नेतृत्व विकासका लागि जरुरी छ– अभिव्यक्ति कला पनि । त्यसका लागि लेखक अनित्यले कक्षा कोठालाई पनि आफ्ना धारणा अभिव्यक्त गर्ने एउटा मञ्चका रुपमा प्रयोग गर्न सकिने अनभुवभजन्य उदाहरण पस्केका छन् ।

पुस्तकमा अनुभव छ । त्यो अनभुवले शिक्षक, विद्यार्थी, शिक्षाबारे जीवन्त अनभूति दिएको छ । शिक्षकको भाषालाई भावले लिपिवद्ध गरेका छन्, लेखक अनित्यले । शिक्षकको भाषाको ध्वनिलाई थप सुमधुर बनाउने एउटा प्रयास मान्न सकिन्छ । साथै निवन्धका शिर्षक र विषय सुहाउँदो सन्दर्भ, उद्धरण, उदाहरण, संवादले कतै शिक्षाको धमिलो चित्र, कतै शिक्षकको उज्यालो पाटो देखाएका छन् । 

मुख्यतः शिक्षाको नायक: ‘शिक्षक’लाई नै केन्द्रबिन्दूमा राखी लेखिएका पठनीय, सुललित भाषा शैलीका ती निवन्ध्हरु सतही छैनन् । यी निबन्धहरु पढ्ने, पढाउने, सिक्ने, सिकाउने सबैका लागि उपयोगी छन् । ती निबन्धहरु कतै लेख जस्तो, कतै निबन्धै जस्तो, कतै आत्मसंस्मरण जस्तो त कतै विज्ञका कुरा जस्तो भान हुने उनका विचारले शिक्षामा सुधार गर्न चाहना राख्ने जोकोहीलाई पनि यो पुस्तक उपयोगी देखिन्छ । आफ्नो निधारमा लाएको टीका कुन रङको छ ? कुन आकारको छ, कसरी लगाइएको छ ? भन्ने थाहा पाउन किन ऐना अगाडि उभिनै पर्यो कि कोहीले निधारको वर्णन गर्नु पर्छ । लेखक छवि अनित्यले यही भावको नित्य भाषा बोलेका छन्, ‘शिक्षकको भाषा’ मा ।

माथि नै उल्लेख गरिसकियो, पुस्तकमा समेटिएका शब्दहरु लेखकको भोगाइ र अनुभूतिमा केन्द्रित छन् । भनिन्छ, भोगाइ भन्दा ठूलो पाठशाला अर्को छैन । यति हुँदा हुँदै पनि, नेपालमा शिक्षकको अनौपचारिक/औपचारिक ईतिहासलाई समेट्न सकेको भए पुस्तक ऐतिहासिक दस्तावेजका रुपमा पनि स्थापित हुन सक्थ्यो । नेपालको सार्वजनिक विद्यालय शिक्षामा थुप्रै थरी शिक्षकहरु छन् । एउटै कर्ममा धेरै थरी समूह हुँदा बालबालिकाको सिकाइमा असर परेको विज्ञहरुले बताउँदै आएका छन् । धेरै थरी शिक्षक हुँदा व्यक्तिका रुपमा परेको मनोवैज्ञानिक असरका कारण बालबालिकाको सिकाइमा नै प्रभाव परेको छ । राज्यले शिक्षकलाई एकै समूहमा राखेर व्यवहार गर्न सकेको छैन । यसका कारण शिक्षक माथि परेको प्रत्यक्ष असरलाई पुस्तकले समेट्न सकेको छैन । निकै लामो समय देखि पेचिलो बनेको यस सवालमा राज्यलाई झक्झक्याउने गरी दृष्टिकोण दिन भने लेखकले चासो दिएका छैनन् ।

शब्द भित्र पुस्तक 

कृति : शिक्षकको भाषा
कृतिकार : छवि अनित्य
प्रकाशक : आकृति क्रिएसन, हेटौँडा
मूल्य : ३००।-

 

प्रतिक्रिया