Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढ्दो

सोमबार, १६ माघ २०७९

काठमाडौं - विगत पाँच वर्षमा सामुदायिक विद्यालयमा ० दशमलब ६ प्रतिशतले विद्यार्थी संख्या बढेको छ । काठमाडौं विश्वविद्यालयले गरेको सर्वेक्षणले यो तथ्य फेला पारेको हो । विश्वविद्यालयले गरेको ‘नेपाल जनमत सर्वेक्षण रिपोर्ट २०२०’ मा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको पाइएको उल्लेख छ । 

हालै विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार विगत पाँच वर्ष (सन् २०१८, २०२० र २०२२) को तथ्यले सामुदायिक विद्यालयमा ०.६ प्रतिशतले विद्यार्थी बढेको र संस्थागत विद्यालयमा ०.१ प्रतिशतले विद्यार्थी घटेको छ । तथ्यांक अनुसार सन् २०१८ मा सामुदायिक विद्यालयमा ५६.६ प्रतिशत विद्यार्थी पढ्थे भने सन् २०२२ मा सो संख्यामा वृद्धि भई ५७.२ प्रतिशत पुगेको छ । सन् २०२० मा भने सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी संख्या घटेको थियो । सो समयमा ५५.३ प्रतिशत विद्यार्थी मात्र सामुदायिक विद्यालय पढ्थे ।

संस्थागत विद्यालय पढ्ने विद्यार्थी भने घट्दै गइरहेको पाइएको छ । विश्वविद्यालयले सन् २०१८ मा गरेको सर्वेक्षणमा संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीको संख्या ३५.७ प्रतिशत रहेकोमा सन् २०२० मा सो सख्या बढी ३६.८ पुगेको र सन् २०२२ को सर्वेक्षणले भने ३५.६ प्रतिशत विद्यार्थी मात्र संस्थागतमा पढ्ने गरेको पाइएको छ ।

विश्वविद्यालयले ४ हजार २ सय ६८ जनालाई ‘तपाईंको परिवारमा सरकारी÷संस्थागत विद्यालयमा अध्ययन गरिरहेका कुनै बालबालिका छन् ?’ भन्ने प्रश्नका आधारमा उक्त सर्वेक्षण नतिजा निकालेको हो । सर्वेक्षणले कर्णाली प्रदेशका ८०.१ प्रतिशत विद्यार्थी, गाउँपालिकाका ७६.३ प्रतिशत विद्यार्थी र हिमाली क्षेत्रका ८७.७ प्रतिशत विद्यार्थी सामुदायिक स्कुलमा र बागमती प्रदेशका ५४.३ प्रतिशत विद्यार्थी र नगरपालिकाका ४५.३ प्रतिशत विद्यार्थीमात्र संस्थागत विद्यालयमा पढ्ने गरेको समेत फेला पारेको छ ।

प्रदेशगत रुपमा प्रदेश नं. १ का सामुदायिक विद्यालयमा पढ्ने ५१.६, मधेश प्रदेशमा ५०.४, बागमती प्रदेशमा ४२.२, गण्डकीमा ५६.५, लुम्बिनीमा ६७.३, कर्णालीमा ८०.१ र सुदूरपश्चिममा ६९.३ र संस्थागत विद्यालयमा प्रदेश नं. १ मा ४४.१, मधेश प्रदेशमा ३७.६, बागमती प्रदेशमा ५४.३, गण्डकी प्रदेशमा ३८.७, लुुम्बिनी प्रदेशमा २५.५, कर्णाली प्रदेशमा १३.७ र सुदूरपश्चिम प्रदेशमा २०.८ प्रतिशत विद्यार्थी रहेका छन् ।

सामुदायिक विद्यालयमा विद्यार्थी बढ्नुका कारणमा सामुदायिक विद्यालयले गरेको भौतिक प्रगति, स्थानीय तहका जनप्रतिनीधिले लिएको अपनत्वका साथै बढेको गुणस्तरबाट अभिभावक प्रभावित भएको कीर्तिपुरस्थित मंगल माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकलाल महर्जनले बताए । उनले निजी विद्यालयलयहरुले विभिन्न बहानामा अभिभावकहरुबाट शुल्क लिएका कारण पनि संस्थागत विद्यालयमा आर्कषण पहिलाजस्तो नभएको बताए ।

संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी घट्नुमा विश्वभर महामारीको रुपमा फैलिएको कोभिड मुख्य कारण र सरकारको निजी विद्यालयप्रतिको नकारात्मक धारणा दोस्रो कारण रहेको प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपिका रिमाल थापाले बताइन् ।

‘कोरोनापछि स्कुलको संख्या नै घट्यो, कति विद्यालयहरु किनबेच भए, कति चल्नै सकेनन्, कति त सरकारी स्कुलमै पनि मर्ज भए । यसका साथै सरकारले निजी विद्यालयप्रति राखेको बक्रदृष्टिले पनि यसको असर निजी विद्यालयमा परेको हो ।’

प्रतिक्रिया