Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

प्रअको भोगाइ - हामी जाँदा ‘हुन्छ, हुन्छ’ पठाउने बेलामा बोर्डिङ !

बुधबार, १७ फागुन २०७९

 भक्तपुर - सल्लाघारीस्थित सन्तति आधारभूत विद्यालयमा अहिले १ सय ७२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । अध्ययनरत विद्यार्थीमध्ये अधिकाँश देशका अन्य जिल्लाका हुन् । 

‘खासै स्थानीय विद्यार्थी छैन भन्दा पनि हुन्छ’ स्थानीय विद्यार्थी संख्या कति छ भन्न आफूलाई संकोच लाग्ने गरेको बताउँदै विद्यालयकी प्रधानाध्यापक मधुमैंया प्रधानले भनिन्, ‘जम्मा २ जना छन्, स्थानीय विद्यार्थी । त्यो पनि तल्लो कक्षामा ।’

विद्यालय रहेको टोलका स्थानीयलाई पनि थाहा छ, विद्यालय समुदायको हो । यसैले प्रधानले समुदायको ‘अपनत्व’ बढाउन प्रयास गरिरहेको दावी गर्छिन् । तर पनि स्थानीय विद्यार्थी बढाउन सकेकी छैनन् । 

‘हामी यहीको टोल, छिमेकमा गएर, घरदैलो गरेर बाबुनानीलाई स्कुल पठाउन भन्छौं, हामी जाने बेलामा ‘हुन्छ, हुन्छ, अहिले त स्कुल राम्रो भयो भन्छन्’, तर पठाउने बेला बोर्डिङ पठाउँछन्, यहाँ पठाउँदैनन्’, उनले भनिन् ‘स्थानीय र पैसा हुने जतिले बोर्डिङमा पठाउँछन्, बाहिरबाट आएर बसेका नहुने जतिले हामीकहाँ पठाउँछन् ।’

यो समस्या भक्तपुर नगरको पश्चिममा रहेको सल्लाघारीस्थित सो विद्यालयको मात्र हैन, नगरको पूर्वी भेगमा रहेको सिद्धिशारदा आधारभूत विद्यालयको अवस्था पनि यस्तै छ । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवालले ९४ जना विद्यार्थीमध्ये ३ जनामात्र स्थानीय भएको बताए । यस्तै हनुमानघाटस्थित बालसेवक आविकी प्रधानाध्यापक प्रेरणा तपोलले पनि आफ्नो विद्यालयमा रहेका २ सय ९० विद्यार्थीमध्ये २०/२२ जनामात्र विद्यार्थी स्थानीय रहेको बताइन् ।

भक्तपुर नगरको छेउछाउका ती विद्यालयमात्र हैनन्, भक्तपुरको मध्य भाग दत्तात्रय परिसरमा रहेको दत्तात्रय आविको अवस्था पनि तिनीहरुको भन्दा भिन्न छैन । सो आविमा पनि स्थानीय विद्यार्थी निक्कै कम छन् । विद्यालयका निमित्त प्रधानाध्यापक सज्जन प्रधानले विद्यालयमा ५ जनामात्र विद्यार्थी स्थानीय रहेको जानकारी दिए । सो विद्यालयमा अहिले ७२ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

प्रधानाध्यापक तपोल भन्छिन्, ‘हामीले बोर्डिङकै शैलीमा पढाउँदा पनि स्थानीयले पत्याएका छैनन्, यहाँ भन्दा बोर्डिङमै पठाउने गरेका छन्, सामुदायिक स्कूलप्रति विश्वासै छैन ।’ 

भक्तपुरका आधारभूत विद्यालयका साथै माध्यमिक विद्यालयको अवस्था पनि उस्तै बन्दै गइरहेको छ । एकाध माध्यमिक विद्यालयलाई छाडेर हेर्ने हो भने सामुदायिक विद्यालयमा अधिकांश उपत्यका बाहिरका विद्यार्थी अध्ययनरत छन् । नगरप्रमुख सुनिल प्रजापतिकै उपस्थितिमा भएको स्थलगत निरीक्षणमा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीमा स्थानीय भन्दा बाहिरकै विद्यार्थीको संख्या धेरै पाइएको नगर शिक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया