Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

अभिभावक चार थरिका, बालबालिका तीन थरिका !

आइतबार, ०५ चैत्र २०७९

भक्तपुर - मनोसामाजिक परामर्शदाता एवम् सकारात्मक सोचका अभियन्ताको परिचय बनाएका छन्, प्रितम पौडेलले । आफ्नो वाकशैली तथा मन छुने उदाहरण र अनुभवका कारण अभिभावक, विद्यार्थी र शिक्षकमाझ उनी परिचित छन् ।

उनको दुई/तीन घण्टाको कक्षामा बस्ने हो भने पनि बालबालिकाको पढाइमा सुधारदेखि असल अभिभावक कसरी बन्ने ? भन्ने व्यवहारिक टिप्सहरू प्रशस्त पाइन्छ । यत्तिमात्र हैन, मनमा, दिमागमा रहेका नकारात्मक सोचहरू समेत सकारात्मक सोचमा बदलिने उनका कक्षामा बसेकाहरुको अनुभव छ । 

जीवन रुपान्तरणका लागि पोजेटिव भाइब्रेशन’ को अवधारणा लिएर अघि बढिरहेका उनले संसारभर चार वर्गका अभिभावक हुने चर्चा गर्दै आफू कुन वर्गमा पर्ने त्यसको आत्ममूल्यांकन गर्न अनुरोध गरेका छन् । भक्तपुरको कमलविनायकस्थित पारागन एकेडेमीको आयोजनामा भएको अभिभावक अभिमुखीकरणको क्रममा उनले संसारभर ‘वास्ता नगर्ने स्वभावका अभिभावक’, ‘बालबालिकाले भनेको सबै पुर्याउने स्वभावका अभिभावक’, ‘निरंकुश स्वभावका अभिभावक’ र ‘जिम्मेवारी लिने अभिभावक’ रहेको जानकारी दिँदै तिनीहरुका विशेषता समेत सुनाए ।

विभिन्न अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालयको उदाहरण दिँदै पौडेलले विद्यार्थीका लागि अभिभावक शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

‘अभिभावकको उपस्थिति पनि विद्यार्थीका लागि ज्यादै प्रभावकारी हुन्छ, तर हामी स्कुल जान गाह्रो मान्छौं, जानै परे हामी फि तिर्न मात्र जान्छौं, त्यसलाई सुधार गर्नुपर्छ’, उनले भने, ‘बालबालिकाको भविष्यका लागि अभिभावकीय दायित्व सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।’

उनले बालबालिका पनि जिम्मेवार, आज्ञाकारी र अटेरी गरी तीन स्वभावका हुने गरेको चर्चा गर्दै बालबालिकाको उक्त स्वभावलाई बुझ्नु पर्नेमा जोड दिए । उनले विद्यालयमा  मात्र नभएर घरमा पनि सबैका लागि नियमको जरुरी रहेकोमा जोड दिए । 

‘घरमा नियम बनाएका छैनौं, नियमको अभ्यास हामीले गरेका छनौं, त्यसले गर्दा बालबालिकालाई सम्हाल्न गाह्रो भइरहेको छ’, उनले भने, ‘नियमले धेरै कुरालाई नियमित गर्न सहज हुन्छ, अभिभावकलाई भन्दा बालबालिकालाई नियम जरूरी छ ।’

असल अभिभावकत्वले मात्र बालबालिकाको भविष्य र शिक्षामा सुधार गर्न सकिने उनको भनाइ छ । अभिभावकसँग अन्तरक्रिया गर्दै परामर्शदाता पौडेलले अभिभावकीय दायित्व पूरा गर्नका लागि ६ वटा बानीलाई दैनिकी बनाउनुपर्ने बताए ।

‘तपाई आफ्नो सन्तानलाई आदेश दिने होइन, हौसला दिनुस् । नकारात्मक कुुरा मात्र कोट्याउने होइन । राम्रो कुराको तारिफ गर्नुस् । विस्तारै विद्यार्थीको शिक्षामा सुधार आउँछ’, उनले अभिभावकलाई बालबालिकालाई उत्प्रेरित गर्ने तरिका सुनाए, ‘तपाई जन्मदिने बाआमा हो । खत्तम छस् नभन्नुस् । तपाईले गरेको गाली पनि लाग्न सक्छ । सन्तानको प्रशंसा गर्नुस् । गल्ती गरेपछि सम्झाउनुस् । सन्तान हरेक साना साना कुरामा खुसी हुन्छन्, रमाउँछन् । उनीहरुका लागि समय पनि निकाल्नुस् ।’

कार्यक्रममा मोटिभेसनल स्पिकर पौड्यालले विद्यार्थीको शिक्षा सुधार्न विद्यालय, शिक्षकसँगै अभिभावकको पनि उत्तिकै भूमिका भएको बताएका थिए । उनले भने, ‘हामीले विद्यार्थीको भविष्यका लागि विद्यालय त पठाउँछौं । शैक्षिक ज्ञानले मात्र पुग्दैन । अभिभावकले नैतिक र संस्कार नदिने हो भने त्यो ज्ञानको पनि दुरुपयोग हुनसक्छ ।’ उनले राम्रो शिक्षा दिन शिक्षक पनि अपडेट हुुन पढ्नुपर्नेमा जोड दिएका थिए ।

पौडेलले बालबालिकाको गल्ती कमजोरीलाई मात्र नकेलाउन र उनीहरुप्रति गुनासोमात्र नगर्न अभिभावकलाई आग्रह गर्दै बालबालिकाको कामलाई प्रशंसा गर्दा उनीहरूमा सकारात्मक भाव विकास हुने दुई घण्टाको कक्षाको क्रममा उदाहरणहरु सुनाए ।

सो कार्यक्रममा त्रिचन्द्र क्याम्पसका वातावरण विज्ञानका उपप्राध्यापक डा. कमलराज गोसाइँले बालबालिकाको लागि अभिभावक रोलमोडल बन्नुपर्नेमा जोड दिए । अभिभावक र बालबालिकाबीच संवाद नहुँदा मनोवैज्ञानिक समस्या देखिएकाले सो विषयमा अभिभावकले ख्याल गर्नुपर्ने चर्चा गरे ।

विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले बालबालिकाको दैनिकी प्रति आएको परिवर्तनले अभिभावक चिन्तित रहेकाले सो समस्या निराकरणका लागि अभिभावक सचेतता जरुरी रहेको बताए । उनले मोबाइल बिग्रे मर्मत गर्न सकिने तर मोबाइलले विद्यार्थी बिगारे मर्मत गर्न मुश्किल हुने जनाउँदै मोबाइलको प्रयोगलाई नियन्त्रण गरि उपयोग गर्न अनुरोध गरे ।

कार्यक्रममा विद्यालयका व्यवस्थापक रत्नवीर किसीले विद्यार्थीमा मोबाइलको लत बढिरहेको जनाउँदै त्यसले ल्याउन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न अभिभावकले निभाउनु पर्ने भूमिकाबारे जानकारी दिन अभिभावक अभिमुखीकरण गरिएको बताए । उनले बालबालिकाको पढाइ र वृत्ति विकासका लागि अभिभावकले दिने खाजा (विशेषगरी जंक फुड)को सन्दर्भमा सतर्क रहन जरूरी रहेको जनाए । अभिभावकलाई विद्यालय आउने बानी बसाल्नका लागि पनि उनले अनुरोध गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीले अभिभावक सचेतनाको आवश्यकता महशुस गरी विद्यालयले नियमित रुपमा कक्षा सञ्चालन गरिरहेको जानकारी दिए । सोही अवसरमा विद्यालयले खैराती माष्टर नाटकका कलाकार, केन्दामा खेलका विजयी विद्यार्थी, इण्डो नेपाल कबड्डीका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो ।

प्रतिक्रिया