Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

दिनमा एक घण्टा पढ्दा ३ बर्षमा मास्टर लेभल बराबर

मंगलबार, १५ मंसिर २०७२

काठमाडौं - मंसिर ७ गतेदेखि भृकुटीमण्डपमा पुस्तक प्रदर्शनी जारी छ । रिच एण्ड ग्रोको आयोेजनामा भएको प्रदर्शनमा ६० बढी प्रकाशकका पुस्तकहरु राखिएका छन् । १७ गते सम्म चल्ने प्रदर्शनीका संयोजक तथा डिकुरा पब्लिकेशनका सञ्चालक एवं साहित्यकार पुण्य प्रसाद प्रसाईसंग गरिएको कुराकानी

- कस्तो भइरहेको छ पुस्तक प्रदर्शनी ?

राम्रै भइरहेको छ । सन्तोषजनक छ । यस्तो नाकाबन्दी एकातिर अर्कातिर इन्धन संकट भइरहँदा पनि पाठकहरु आइरहेका छन् । दिनहुँ संख्या बढिरहेको छ ।

- पाठकहरुले कस्ता पुस्तकहरु बढी रोज्ने गरेका छन् ?
पाठकहरु एकै खालका छैनन् । उनीहरुले जस्तो पनि खोजिरहेका छन् । अलि बढी रुचि साहित्य संगै उपन्यास, जीवनी लगायतका पछिल्लो चरणमा प्रकाशित ुिस्तक रुचिमा परेका छन् । 

- प्रर्दशनीमा नेताहरु पनि आएका छन् ? 

सायद नेताहरुलाई फुर्सद छैन् होला । त्यसैले त्यति धेरै देखेको छैन । उनीहरु बाहेक विद्यार्थी र साना छोराछोरी बोकेर अभिभावकहरु पनि आएका छन् । कतिपय इन्धन संकटले समस्या भएर बच्चालाई ल्याउन सकिन भन्दै किताब किनेर लिएर गएका पनि छन् । अरु त छदै छन् । पहिलेको भन्दा अहिले धेरै आएका छन् ।

- कतिजना सम्मले यसरी प्रदर्शनी अवलोकन गर्छन् भन्ने अपेक्षा छ ?

हामीले कम्तिमा ५० लाख मानिसहरुले यो प्रदर्शनी अवलोकन गर्छन भन्ने अपेच्छा राखेका छौँ ।

- कस्तो खालका पुस्तक पढ्ने अनि त्यो कसरी छान्ने ?

किताब पढ्नुपर्छ । मेरो भनाईमा त किताब यो संसारको तेश्रो शक्ति हो । प्राकृतिक र कृत्रिम शक्ति पछि किताबको शक्तिले नै आज संसारमा प्रतिष्पर्धा र सफल असफल हुने क्रम चलिरहेको छ । त्यसैले बुक छान्दा आफ्नो रुचि के छ ? त्यही अनुसार छान्नुपर्छ । साहित्यमा रुचि छ भने साहित्य तिरका छानौँ । कोर्सको पनि पढ्नुपर्छ । त्यसैगरी अहिलेको पछिल्लो घटनाक्रमका बारेमा पनि किताब पढ्यो भने आफ्नो क्षमतालाई तिखार्न सकिन्छ ।

- दिन, हप्ता, महिना अनि बर्षमा कतिजति पुस्तक पढ्ने ?

दिनमा एक घण्टामात्र पढ्यो भने पनि हप्तामा एउटा पुस्तक पढ्न सकिन्छ । अनि हप्तामा एक पुस्तक पढ्यो भने महिनामा चार वटा र बर्षमा ५२ वटा किताब पढ्न सकिन्छ । यसरी पढ्दा बर्षमा ग्राजुएसन लेभलको अध्ययन पनि सकिन्छ । अनि त्यही क्रमलाई निरन्तरता दिएर लगातार ३ बर्षसम्म अध्ययन गर्यो भने मास्टर लेभलको अध्ययन सकिन्छ । अनि त्यसरी निरन्तरता दियो भने मान्छे हरेक कुरामा पोख्त र अनुभवी हुन्छ । यसले मानिसको काम, क्षमता, सीप अनि शैलीमा धेरै सुधार दक्षता ल्याउँछ ।

- पुस्तक पढ्दाका अरु फाइदाहरु के के हुन सक्छन् ?

पुस्तकमा अपार शक्ति छ । यसले हरेक मानिसलाई एकबाट अर्को बनाईदिन सक्छ । र पुस्तककै सहयोगमा मानिस निकै विकसित, परिवर्तन र समृद्ध पनि हुन्छ । त्यसैले यसका फाइदा असिमित छन् । तर बुझ्नै पर्ने कुरा पढ्ने बानीको विकास गर्यो भने राष्ट्र विकासको आधार बन्छ । अध्ययन गर्ने मानिस काममा दक्ष हुन्छ । दक्ष मानिसहरुले राष्ट्र निर्माण गर्छ । यसरी निरन्तर अध्ययन गर्दा राष्ट्र विकासको मुख्य आधार बन्न सक्छ ।

- पुस्तक प्रदर्शनीलाई अझ नियमित र व्यवस्थित कसरी गर्नु पर्ला ?

प्रदर्शनीलाई थप व्यवस्थित गर्न जरुरी छ । यसलाई निरन्तर गर्न पनि त्यत्तिकै आवश्यक छ । प्रदर्शनीमा छुटलाई विशेष महत्व दिनुका साथै पाठकले खोजेका सबै पुस्तकहरु उपलब्ध गराउनुपर्छ । अनि प्रदर्शनी स्थललाई अलिकति फराकिलो गर्न जरुरी छ । सरकारले प्रदर्शनीमा विशेष सहयोग पनि गर्नुपर्छ । सकभर हामी प्रत्येक तिन महिनाको फरकमा प्रदर्शनी आयोजना गरिरहने योजना बनाईरहेका पनि छौँ ।

प्रकाशित मिति २०७२ मंसिर १५ गते

प्रतिक्रिया