Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

शिक्षा समिति सभापतिमा जोशी

विथोलिएको शिक्षा ऐन निर्माणको विषय टुंगोमा पुर्याउनु पर्ने मुख्य दायित्व

आइतबार, १० भदौ २०८०

काठमाडौ - संसदीय समितिमा नयाँ नेतृत्व चयनको प्रकृया शुरु भए सँगै शिक्षा समितिले पनि सभापति पाउने भएको छ । एकीकृत समाजवादीबाट भानुभक्त जोशीको उम्मेदवारी दिने सत्तारुढ गठबन्धनले टुंगो लगाएको हो । सोही निर्णय अनुसार जोशी शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति हुने पक्का भएको हो । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिना पछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।

संसदीय समिति कानून निर्माणका लागि महत्वपूर्ण मानिन्छ । सरकारले तयार पारेका विधेयकहरु संसदीय समितिमा व्यापक छलफल भए पछि मात्रै पारित हुने प्रकृयामा पुग्छन् । त्यसैले संसदीय समितिलाई मिनि संसद पनि भनिन्छ । यस पटक शिक्षा ऐन निर्माणको विषय समितिले टुंगोमा पुर्याउनु पर्ने छ । एक पटक विधेयक तयार भएर पनि शिक्षा ऐन निर्माणको प्रकृया विथोलिएको छ । 

जोशी गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट निर्वाचित भएका थिए । उनले नेकपा एमालेका ऐन महरलाई पराजित गरेका हुन् । वि.सं. २०५१ मा नेकपा एमालेका तर्फबाट बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका जोशी पहिलो संविधानसभामा पनि सोही दल र क्षेत्रबाट निर्वाचित भएका थिए । उनी २०६८ मा झलनाथ खनाल नेतृत्वको सरकारमा वन तथा भू–संरक्षण मन्त्री थिए । 

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा मिलेर चुनाव लडेका तत्कालिन माओवादी केन्द्र र एमाले मिलेर गठन भएको नेकपामा विवाद बढे सँगै सर्वोच्चले दल दर्ता खारेज गरेपछि एमाले र माओवादी केन्द्र छुट्टिँदा जोशी २०७८ असोजमा एमाले छाडेर एकीकृत समाजवादी प्रवेश गरेका थिए । 

उनै जोशीलाई अहिले सत्ताधारी गठबन्धनका तर्फबाट शिक्षा समितिको सभापति हुने पक्का भएको हो । संसदीय समितिका सभापतिको निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेले साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् । जस अनुसार नेकपा एकीकृत समाजवादीको भागमा शिक्षा समिति परेको थियो । अन्य समिति मध्ये नेपाली कांग्रेसले ४, नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र जनमत पार्टीले १/१ वटा समितिको सभापतिमा उम्मेदवारी दिने सहमति भईसकेको छ । सोही अनुसार प्रतिनिधिसभाका १० वटा समिति र दुई संयुक्त समितिको नेतृत्व चयनको प्रकृया शुरु भएको हो । प्रतिनिधिसभाका समितिको गठन भने गत वैशाख १५ मा भएको थियो ।

प्रतिनिधिसभाको गत बिहीबारको बैठकमा सभामुखले समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरेका थिए । सोही अनुसार निर्वाचन प्रक्रिया अघि बढेको हो ।

प्रतिक्रिया