Edukhabar
बुधबार, २३ असोज २०८१
विचार / विमर्श

जागिर खाने होइन काम गर्ने शिक्षा

साधारण शिक्षाले साधारण मान्छे जन्माउँछ, व्यावसायिक शिक्षाले व्यवसायी

शुक्रबार, २९ भदौ २०८०

नेपाल धपक्क बलेको ज्योति हो । प्रकृतिमा चमचम चम्केको मोती हो । पूर्वीय ज्ञानको गहिराइमा डुबेको पिरती हो । यहाँ समय अनुसार शैक्षिक लगानीको बिउ छर्नु पर्छ । लगानी भनेकै केही उत्पादन गर्न गरिने खर्च हो । त्यो खर्च व्यक्ति, समाज र राष्ट्रले गरेको हुन्छ ।

हाम्रो देशले पनि यो आर्थिक वर्ष २०८०/८१ मा क्षेत्रमा कुल बजेटको ११ प्रतिशत भन्दा माथि लगानी गरेको छ । यो लगानी संविधानको मर्म अनुसार गरिएको धर्म र कर्म हो ।  यो बालुवामा पानी हालेको पानी होइन । करोडौँ नेपालीको बिहानी हो । शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब रकम विनियोजन हुँदा यसको प्रतिफल आउनुपर्छ । प्रत्येक बालबालिकामा  खुसीको मुहार छाउनुपर्छ । बाँझो खेतमा सिरु र दुबो बाहेक केही उम्रदैँन । हाम्रो दिमाग पनि बाँझो खेत नै हो ।  समय हेरेर मलजल भए ज्ञानका बाला झुल्छन् । उखानै नि, घोकन्ती विद्या र धावन्ती खेती । आजको शिक्षा त धावन्ती खेती हो । जसले धाउँछ उसले पाउँछ । तँ रानी म रानी कसले भर्ला कुवाको पानी ? त्यसैले त हामीलाई चाहियो माटोअनुसारको लगानी । यही विचारको पथमा यहाँ मन्दक्रान्ता छन्दको रथ चलाइन्छ :

थोपा थोपा तपतप झरी ताल बन्ने छ यौटा
हाम्रै माटो मगमग छ यो ज्ञान फुल्ने छ यौटा । 
हुर्की बढ्ला, नव शिशु बरा बाँच्छ पाए लगानी 
लागौँ जागौं रवि किरणमा खुल्छ प्यारो बिहानी ।। 

लगानीको सन्दर्भमा एउटा भनाइ छ । एक वर्षको समृद्धि चाहनु हुन्छ भने अन्न उमार्नुृहोस् । १० वर्षको समृद्धि चाहनुहुन्छ भने रुख रोप्नुहोस् । १०० वर्षको समृद्धि चाहनु हुन्छ भने बालबालिकामा लगानी गर्नुहोस् । हो, बालकको खाली पानामा जे लेख्नु हुन्छ त्यही देख्नु हुन्छ । इनारमा खस्दा खाल्डा देखिन्छ । सगरमाथामा पुग्दा संसार भेटिन्छ ।  शिक्षामा लगानी परिवार, समाज र देशले गर्नै पर्छ । लगानी पैसा मात्र होइन । ज्ञान र सिप पनि हो । शिक्षक र विद्यार्थी पनि हो ।  जोन डिबेले शिक्षा जीवनको तयारी होइन शिक्षा जीवन हो भनेका छन् । यस सन्दर्भमा जीवनलाई सुन्दर बनाउन शिक्षामा सही लगानी हुनुपर्छ । सुनिश्चित भविष्यको यसले सबैको मन छुनुपर्छ । रात रहे अग्राख पलाउँछ ।  

हो, बालबालिकाका मस्तिष्क रित्ता डाली हुन् । त्यो डाली फूलले भर्ने कि खोस्टाले भर्ने भन्ने कुरा लगानीमा भर पर्छ । उत्तिसको बिरुवा रोपेर गुराँस फुलेको कतै देख्नुभएको छ त ? छैन नि । गुराँसको सुन्दरता ल्याउन गुराँसै रोप्ने हो । यसैले बालबालिकामा लगानी गरौँ । त्यही लगानीबाटै सिकाइको प्रक्रिया सुरु हुन्छ । अनि पो उत्पादन खान पाइन्छ । जाँगर नगरी आँ गर्न मिल्दैन । मकै नरोपे भोकै मरिन्छ । हाम्रो मकै सिप र दक्षताको गुदी हो । संस्कारको नदी हो । बाँच्नका लागि सहारा हो । यो यात्रा राम्रो बनाउन प्रत्येक राष्ट्रले योजनाबद्ध लगानी गर्नुपर्छ । सिरु घाँस रोपेर बाँसको टुसा पलाउँदैन । भिजेको सलाइको काँटीले आगो जलाउँदैन । शिक्षाको आगो बाल्न ज्ञानकै यज्ञ गर्नुपर्छ यहाँ ।

यो संसार ज्ञान र विज्ञानले बनेको सुन्दर  बगैँचा हो । यो बगैँचाको सुन्दरता देशको दृष्टिकोणमा फुक्नुपर्छ । यो ज्ञानको बगैँचामा फूल रोप्न चाहनुहुन्छ भने अक्षरका फूल मात्र भएर पुग्दैन अब । सीप र इलमका धारिला हतियार चल्नुपर्छ । घाँस काट्न हँसिया चाहिन्छ । पहाड फोर्न घन चाहिन्छ । हामीकहाँ शिक्षामा लगानी नभएको त होइन ।  तर ती हाम्रो माटाअनुसार छ कि छैन भनेर हामीले कहिल्यै हेरे जस्तो लागेन ।  यदि एकपटक  हेरिएको भए अहिले विमानस्थलमा विदेश जानेको लर्को लाग्ने थिएन । बर्को ओढेर आमाले छोराको झर्को नमानी बाटो हेर्नुपर्ने थिएन । अमेरिका र युरोपमा जे बिक्यो त्यही शिक्षा नेपालमा बेचियो । तब त बाटो न घाटो कसरी भयौँ बाठो ?  हाम्रा हिमालदेखि तराईसम्मका फाँटमा फलफूल मात्र लगाएको भए पनि कस्तो हुन्थ्यो होला ? देशले चोला फेर्थ्यो । गोजीमा पैसा भएर पनि भएको गाउँको खोलाबाट  बिजुली निकाल्न विदेशको मुख ताक्नु परेको छ । सिकाए सिकौती पकाए बिगौती । हामी अरूको सहारामा हिँड्दा आफ्नै देशको रारा ताल छाडेर सहारा मरुभूमिमा पराईलाई सुन खोजिदिन लाग्यौँ । यसैले त हुने हार दैव नटार भयो । 

अब हामीलाई जागिर खाने होइन काम गर्ने शिक्षा चाहियो । विदेशमा दोस्रो दर्जाको नागरिक भएर फोस्रो अनुहार लगाई हिँड्ने मान्छे होइन । स्वदेशमा सिप र श्रम बोक्ने पौरखी हात चाहियो । सगरमाथाको देशले भरिया र गोठाला अब उत्पादन गर्नु हुँदैन । वीर गोर्खालीको पहिचान ढोके र पालेमा मात्र झर्नु हुँदैन । हरेक दिन विदेशमा नेपाली मर्नु हुँदैन । तसर्थ साधारण शिक्षाले साधारण मान्छे जन्माउँछ । व्यावसायिक शिक्षाले व्यवसायी जन्माउँछ । अहिले यो कुरा नबुझे अब कहिले बुझ्ने ? सधैँ बर्खामा अरूले छाता दिन्छ कि भनेर भिज्ने ? अबको शिक्षाको लगानी  देशको व्यथा अनुसार हुनुपर्छ ।  अब पनि अगाडि नबढे समृद्धिको गाडी भिरबाट खसेर त्रिशुलीमा खस्छ । भदौरे भेलमा बग्दा जीवनको खेल कतिखेर सकिन्छ, थाहा पाइन्न । 

प्लेटोले शिक्षालाई औषधी मानेका थिए । मस्तिष्कलाई उर्जा दिने शिक्षामा लगानी गर्नु जत्तिको महान् कार्य अरू हुनै सक्दैन भनेका थिए । रोगबाट बचाउने औषधी राम्रो नभए हाम्रो ज्यान चिहान हुन्छ । हरेक बिहान छेपाराको आहान हुन्छ । फिनल्यान्ड र नर्वे जस्ता युरोपका देशले माटो हेरेर शिक्षामा ठुलो लगानी गरे । सम्पन्ताको सगरमाथा चढे । चीनले प्राविधिमा आफ्नो विधि जोडेर विश्वलाई देखायो । ऊ आज विश्वलाई सिन्कादेखि विद्युतीय कारसम्म बोच्ने भइसक्यो । विश्वमा नै मालिक बनेर ऋण बाँड्ने भइसक्यो । हामी चाहिँ घर भाँडेर छोराछोरी विदेश लघार्छौँ। तिनले आँसु र रगत भिजाएको पैसामा दसैँको  लुगा फेर्छौं । छिमेकीले पकाएको खानाको बासना सुँघेर हामीले पनि खाना पकाउनु पर्दैन र ? ताइ न तुइ हात लाग्यो दुई भएको हाम्रो शिक्षा नीति खरानी घस्ने जोगी र मोजमा जिउने भोगी नहोस् । हामी पानी माथिको ओभानो भएर बाँच्नु हुँदैन । यसैले अबको शिक्षाको लगानीबाट कोही नेपाली विदेशको दैलो कुर्नु नपरोस् । 

अब हामीले विदेशीको ऋणमा सुनौलो दिन देख्नु हुँदैन । ऋणलाई जबसम्म घिन ठान्दैनौँ हाम्रो दिन आउँदैन । हुन त काग कराउला पिना सुक्ला; यसले नीतिनिर्माणको टोपी ओढेकालाई छिरिक्क नछोला । हाम्रै माटामा पनि ५ मिनेटमा आँखा देखाउने सन्दुक रुइत जस्ता छन् । विज्ञानलाई बोकेर हिँड्ने महावीर पुन जस्ता छन् । हामीले उनीहरूसँग साइनो गाँसको खोइ त ? विद्या धनं सर्व धनं प्रधानम् भनेर शास्त्रमा पनि त लेखिएकै छ । हो, विद्या सर्वोच्च धन हो । हाम्रो संविधानको मर्मअनुसार माध्यमिक तहसम्म शिक्षा निःशुल्क हुँदैगर्दा लगानीको कुरो किन उठ्यो भन्नुहोला । एक छाक खाना र एक धरो नाना मात्र भएर जीवनमा गाना बज्दैन । धेरै माथि पुग्न माथिल्लो स्तरको सोच र सीप हुनुपर्छ ।  ब्रेन ड्रेन हुनको लागि गरिने शैक्षिक उत्पादन बालुवामा पानी हाल्नु जस्तो हो । अमेरिकाका लागि हामीले दक्ष जनशक्ति उत्पादन गर्ने होइन । हाम्रो  शिक्षा पनि गाँस, बास र कपाससँग जोडिनुपर्छ । शिक्षामा लगानी गर्नु भनेको जुवा खेल्नु पनि होइन । सुख खोज्ने परिवार र देशले कहिल्यै जुवा खेल्दैन पनि । त्यसैले अब  माटो अनुसारको लगानी गरौँ । बर्खाको भेल पुलबाट तरौँ । 

अतः अहिलेको समयमा राम्रा वस्तु सित्तैमा पाइँदैन । सबै सित्तैमा पाएका वस्तु उपयोगी हुँदैन । तसर्थ बालकको जीवनलाई काँचो माटो सम्झेर हिलो र गिलो मात्र नबनाऔँ । त्यसलाई बुद्ध र कृष्णको मूर्ति बनाऔँ । इलम रोपे सिलाम खान पाइन्छ । नत्र हाम्रो जीवन नै लिलाम हुन्छ । त्यसैले अब देशले फल फल्ने गरी  बालबालिकामा लगानी गरोस् ।  सुनिश्चित भविष्यको थालनी गरोस् । अन्त्यमा यहाँ मन्दक्रान्ता छन्दमा नै विचारको सार खिचिन्छ :

खोजे दीक्षा अक्षरभित्र पाइन्छ नौलौ खजाना 
बाल्यावस्था पवित्र चित्र कोरिन्छ सौन्दर्य पाना । 
माटो हेरी दलमल छरौँ ज्ञान जोडौँ लगानी
टाढा टाढा गगनमुनि खुल्ने छ ताजा बिहानी ।।

जय बालबालिका जय बालदिवस ! बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी ! 

सन्दर्भ: शुक्रबार परेको ५९ औँ राष्ट्रिय बालदिवस, केसी जालुपा माध्यमिक विद्यालय टोखा ८, गोँगबु, काठमाडौका शिक्षक हुन् । 
 

प्रतिक्रिया