Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

कक्षा १२ को नतिजाका आधारमा उत्कृष्ट विद्यालय छनौट, सिन्धुलीको कमला मावि पहिलो

प्रथम दिवस भन्न पनि अप्ठ्यारो, त्यसैले हामीले कति औं शिक्षा दिवस भन्ने संख्या नै राखेनौं : शिक्षा मन्त्री

मंगलबार, ०२ असोज २०८०

काठमाडौ - सिन्धुलीको मैनी, दुधौली–११ को कमला माध्यमिक विद्यालय उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत भएको छ । देशभरका सामुदायिक विद्यालय मध्ये कक्षा १२ को नतिजाका आधारमा शिक्षा मन्त्रालयले उक्त विद्यालयलाई पुरस्कृत गरेको हो । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा मंगलबार आयोजित कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले नगद तीन लाख रुपैयाँ सहित राष्ट्रिय शिल्ड र ध्वजा सहित पुरस्कृत गरे । 

सिन्धुलीकै ढुंग्रेवास कमलामाई–४ स्थित कमला माध्यमिक विद्यालय दोस्रो भएको छ । उसले नगद दुई लाख रुपैयाँ सहित राष्ट्रिय शिल्ड र ध्वजा प्राप्त गरेको छ भने तेश्रो हुने सल्यानको रुमाल गाउँ कुमाख–२ स्थित नारायण मावि नगद एक लाख रुपैयाँ सहित राष्ट्रिय शिल्ड र ध्वजा सहित पुरस्कृत भएको छ ।  

निजी विद्यालय तर्फ ललितपुरको प्रसादी एकेडेमी पहिलो भएको छ । उसले पनि नगद तीन लाख रुपैयाँ सहित राष्ट्रिय शिल्ड र ध्वजा प्राप्त गरेको छ भने काठमाडौको सेण्ट जेभियर्स कलेज दोस्रो र काठमाडौकै बुढानीलकण्ठ स्कुल तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुने विद्यालयहरूले क्रमशः दुई लाख र एक लाख रुपैयाँ सहित राष्ट्रिय शिल्ड र ध्वजा प्राप्त गरेका छन् ।

त्यस्तै, प्राविधिक शिक्षालय तर्फ सिटिईभिटिले लिएको परीक्षाका आधारमा कोरिया नेपाल बहुप्राविधिक शिक्षालय रुपन्देही, मनमोहन मेमोरियल पोलिटेक्निक मोरङ, आदर्श मावि विराटनगर र लाइफलाइन अस्पताल झापा ले नगद एक लाख सहित ध्वजा प्रमाणपत्र प्राप्त गरेका छन् । 

क्याम्पसतर्फ विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्यांकनका आधारमा आंगिक क्याम्पसहरूमध्ये पुल्चोक क्याम्पस ललितपुर उत्कृष्ट भएको छ भने सामुदायिक क्याम्पसहरूमध्ये लुम्बिनी वाणिज्य क्याम्पस बुटवल उत्कृष्ट बनेको छ । निजीतर्फ काठमाडौं मोडेल कलेज बागबजार पुरस्कृत भएको छ ।मन्त्रालयले समाज कल्याण शिक्षा पुरस्कारबाट एसओएस बालग्राम भक्तपुर, कोपिला भ्याली सेवा समाज सुर्खेत पुरस्कृत भएका छन् । उनीहरुले दुईलाख ५० हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । 

यसैगरी समाजकल्याण शिक्षा पुरस्कारबाट एसओएस बालग्राम मध्यपुर ठिकमी भक्तपुर, कोपिलाभ्याली सेवा समाज वीरेन्द्रनगर सुर्खेतले नगद तीन लाख रुपैंया सहित प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी सोही विधामा एचआईभि संmमित बालबालिका सहित अनाथ र असहाय बालबालिकाको पालनपोषण र शिक्षामा सकृय व्यक्तिमध्ये बाल सारथी एकेडेमी काठमाडौ ८ कि अध्यक्ष माला खरेललाई एकलाख रुपैंया नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । 

मन्त्रालयले क्याम्पस, विद्यालय र प्राविधिक शिक्षालयका उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई समेत राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत गरेको छ । शिक्षा सचिव सुरेश अधिकारीले उत्कृष्ट छनौट भएका विद्यालय र व्यक्तिको नाम घोषणा गरेका थिए । 

यसैगरी शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ । यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिंदैछ । त्यसमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ । साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनालाई र ख १८ जनालाई प्रदान गरिने छ । यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

तर ती पदकहरु बजेट निकाशामा भएको ढिलाईका कारण अहिले प्रदान गर्न नसकिएको शिक्षा मन्त्री अशोक कुमार राईले बताए । चाँडै नै ति पदक वितरण गर्ने उनले बताए । 

पहिला फागुन  १२ गते मनाईने शिक्षा दिवस २०६२ / ०६३ सालको राजनीतिक परिवर्तन पछि सेप्टेम्बर ८ का दिन पर्ने अन्र्तरराष्ट्रिय साक्षरता दिवसका दिन मनाइदैं आएकोमा यस बर्ष देखि हरेक बर्ष असोज २ गते मनाउने सरकारले निर्णय गरेको थियो । नयाँ संविधानले शिक्षालाई मौलिक हक अन्र्तगत हुने व्यवस्था गरेसँगै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रीपरिषद्ले निर्णय गरेको थियो । 

'पहिला पहिला राजा महाराजाको गद्दि आरोहण लगायतका अवसर पारेर मनाईने शिक्षा दिवस यस बर्ष देखि असोज २ गते मनाउन थालियो' कार्यक्रममा मन्त्री राईले भने, 'त्यसैले यस पटक प्रथम दिवस भन्न पनि अप्ठ्यारो, त्यसैले हामीले कति औं शिक्षा दिवस भन्ने संख्या नै राखेनौं, यो समय सँगै हुँदै जाला ।'

कार्यक्रममा शिक्षा राज्य मन्त्री प्रमिला कुमारीले शिक्षा क्षेत्र सुधारमा आवश्यक कार्य हुन नसकेको भन्दै गुनासो गरिन् । उनले निर्माणको चरणमा प्रवेश गरेको शिक्षा विधेयकबाट धेरै समस्या समाधान हुने पनि बताईन् । 

‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाईएको हो । दिवसको मूल समारोहमा विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

शिक्षा दिवसकै सन्दर्भको यो खबर पनि पढ्नुहोस् : छलफलमा सरकारको बटमलाईनमा सहमत, विधेयक दर्ता भए पछि आन्दोलनको घोषणा 
 

प्रतिक्रिया