Edukhabar
शनिबार, २९ बैशाख २०८१
खबर/फिचर

विश्व वरीयतामा खस्के पनि सञ्चारकर्मीलाई बोलाएर सुधारका फेरहिस्त सार्वजनिक !

राजनीतिक दलको भागवण्डा गर्ने चलनले तत्काल नयाँ नियुक्ति हुने सम्भावना कम

बुधबार, १५ कार्तिक २०८०

काठमाडौ - त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटाले आफ्नो चार बर्षे कार्यकालमा विश्वविद्यालय सुधारमा निकै प्रगति भएको दावी गरेका छन् । उनकै कार्यकालमा विश्वविद्यालय विश्व वरीयतामा पछाडी परे पनि आफ्नो कार्यकाल सकिने छेकमा बुधबार सञ्चारकर्मीलाई बोलाएर उनले सुधारका फेरहिस्त सार्वजनिक गरे । 

विश्व वरीयतामा खस्केको विश्वविद्यालयको नेतृत्वमा रहेका बाँस्कोटाले आफ्नो नेतृत्वले विश्वविद्यालयको पूर्वाधारको क्षेत्रमा उपलब्धी हासिल गरेको, प्रविधि मैत्री विश्वविद्यालय निर्माणमा उल्लेख्य प्रगती भएको, अनुसन्धान क्षेत्रमा सुधार र शैक्षिक क्यालेण्डरलाई व्यवस्थित गर्न अघि सारिएका सुधारका प्रयत्नहरुको चर्चा गरेका थिए । परीक्षा प्रणालीमा सुधार र विकेन्द्रिकरणको अभ्यास, बजारमुखी स्वोरोजगार जनशक्ति निर्माणमा पहल, शिक्षक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी उत्प्रेरणा जगाउने कार्यको थालनीलाई सुधारका रुपमा उनले प्रस्तुत गरे । आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको प्रभावकारी नियमन, विद्यार्थी कल्याण तथा खेलकुदमा प्रगति भएको दावी गर्दै उनले विश्वविद्यालयको सम्पत्तिको संरक्षण गरेको एवं विश्वविद्यालयको सुशासनमा उल्लेख्य सुधार भएको दावी गरे । ऐन नियमलाई समयसापेक्ष बनाउन कार्य गरेको दावी गर्दै उनले उच्च शिक्षाको अन्तराष्ट्रियकरणमा राम्रो थालनी गरेको दावी गरे । 

जब की विश्वभरीका विश्वविद्यालयका बारेमा टाइम्स हायर एजुकेसनले हरेक बर्ष सार्वजनिक गर्ने वरीयताको सूचीमा त्रिविको वरीयता कमजोर देखिएको छ । टाइम्सले गत असोजको पहिलो साता सार्वजनिक गरेको विश्व वरीयतामा त्रिवि १२ सय देखि १५ सयको सूचीमा परेको थियो । यस भन्दा अघि त्रिवि आठ सयदेखि एक हजार भित्रको सूचीमा पर्दै आएको थियो । 

यस्तो अवस्थामा पत्रकार भेटघाट कार्यक्रम गर्दै बाँस्कोटाले आफ्नो नेतृत्वले सुधार गरेको दावी गरे । 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा २०७६ कात्तिक १७ गते उपकुलपति नियुक्त बाँस्कोटाले १८ गते पदभार ग्रहण गरेका थिए । भदौ ५ गते तत्कालिन उपकुलपति तीर्थ खनियाँको कार्यकाल सकिए पछि सरकारले तत्कालिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठन गरेको समितिले पहिलो नम्बरमा डा. भगवान कोइराला, दोश्रोमा बाँस्कोटा र तेश्रोमा प्रा.डा. चन्द्रमणी पौडेलको नाम सिफारिस गरेको थियो । कोइरालालाई मेडिकल काउन्सिलमा नियुक्त गरे लगतै चिकित्साशास्त्र अध्ययन संस्थानमा नाक, कान र घाँटी रोगका विज्ञेषज्ञ बाँस्कोटालाई सरकारले त्रिवि उपकुलपति बनाएको थियो ।  

सोही सरकारले २०७६ पुष ११ गते प्रा. डा. पेशल दाहाललाई रजिष्ट्रार पदमा नियुक्त गरेको थियो । यस्तै २०७६ चैत ६ गते विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा मानविकी तथा सामाजिक शास्त्र संकायका डिन रहेका प्रा.डा. शिवलाल भुसाललाई नियुक्त गरेको थियो ।

राजनीतिक दलको भागवण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त हुने प्रचलन स्थापित भईसकेको अवस्थामा सरकारले उपकुलपतिको मात्रै नियुक्ति गर्ने सम्भावना कमजोर रहेको विश्वविद्यालयका प्राध्यापकहरु बताउँछन् । त्रिविको उपकुलपति संगै रजिष्ट्रार र रेक्टरमा भागवण्डा गरेरै नियुक्ति गर्ने शैलीले तत्काल नयाँ उपकुलपतिको नियुक्ति हुने सम्भावना कम रहेको उनीहरुको निष्कर्श छ । 

'हाम्रा विश्वविद्यालयका पदाधिकारीको नियुक्ति प्राज्ञिक क्षमता भन्दा पनि राजनीतिक कार्यकर्ताका लागि भर्ति केन्द्रका रुपमा स्थापित भएको छ, सबै दलका कोटा मिलाउने चलन छ' एक प्राध्यापकले भने, 'त्यस माथि त्रिवि मात्रै हैन अन्य विश्वविद्यालय र त्यहाँका पदाधिकारीमा पनि भागवण्डा मिलाउने होलान् त्यसैले तत्काल नयाँ उपकुलपतिको नियुक्ति होला जस्तो लाग्दैन ।'

फोटो : त्रिवि 

प्रतिक्रिया