Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

शिक्षकको तलब, पाठ्यपुस्तकको खर्च सत प्रतिशत, सिकाइ सुधार्ने बजेटको खर्च न्यून

शिक्षामा छुट्टिएको १ खर्ब ३७ अर्ब ९५ करोड४९ लाख रुपैयाँ बजेट मध्ये पछिल्लो चौमासिकमा ३३ अर्ब ५५ करोड २५ लाख ४७ हजार रुपैयाँ अर्थात् २४.३२ प्रतिशत मात्रै खर्च

सोमबार, १८ मंसिर २०८०

काठमाडौ - मंसिर आर्थिक वर्षको पछिल्लो चार महिनामा शिक्षामा छुट्टिएको बजेटको २४ दशमलब ३२ प्रतिशत खर्च भएको छ । शिक्षकको तलब भत्ता, पाठ्यपुस्तकको खर्च सत प्रतिशत भएपनि शिक्षक तालिम, विद्यालयमा पठाइने शैक्षिक सामाग्रीको बजेट खर्च हुन सकेको छैन । शिक्षामा छुट्टिएको १ खर्ब ३७ अर्ब ९५ करोड४९ लाख रुपैयाँ बजेट मध्ये पछिल्लो चौमासिकमा ३३ अर्ब ५५ करोड २५ लाख ४७ हजार रुपैयाँ अर्थात् २४.३२ प्रतिशत मात्रै खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । 

शिक्षकको तलब भत्ताको लागि ९४ अर्ब ८० करोड ४५ करोड मध्ये चार माहिनामा २५ अर्ब ३७ करोड ७७ लाख ४३ हजार रुपैयाँ खर्च भएको छ । संघमा रहेको १ अर्ब ४२ करोड ४० लाख बजेटमा २ करोड ३० लाख ८७ हजार अर्थात १ दशमलब ६२ प्रतिशत मात्रै खर्च भएको छ । त्यस्तै प्रदेश तहमा पठाइएको ५६ करोड ९३ लाख रुपैयाँमा १४ करोड २३ लाख २५ हजार रुपैयाँ अर्थात २५ प्रतिशत खर्च भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विनियोजन गरिएको १ अर्ब ७२ रुपैयाँ अझै अबण्डामा राखिएको छ । यो रकम बिगतको जस्तै पहुँचको आधारमा मन्त्री र सांसदहरुको निर्वाचन क्षेत्रमा पठाउने कि भुकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, बाजुरा र बझाङको विद्यालय भवन निर्माण गर्ने भन्ने यकिन नएभएकोले बजेट खर्च गर्ने ढाँचा तय हुन सकेको छैन । 

पछिल्लो चार महिनामा बजेटको उपयोगबारे स्थानीय तहमा अभिमुखीकरण भएको, स्थानीय र प्रदेश तहमा पठाइने बजेट स्वीकृत भएको मन्त्रालयले जनाएको छ । यस अवधिमा स्थानीय तहको रिपोर्टिङको लागि सफ्टवेयर विकास भएको मन्त्रालयले जनाएको छ । कम्तीमा १ सय पालिकाले आफ्ना गतिविधि यही सफ्टवेयरबाट अद्यावधिक गरिरहेको विवरणलाई चौमासिक प्रगतिको रुपमा लिईएको छ । यही अवधिमा रिकभरी एण्ड एक्सेलेरेटेड कार्यक्रम १ सय ३० स्थानीय तहहरुले विद्यालय स्तरमा कार्यान्वयनको लागि अभिमुखीकरण गरेको मन्त्रालयको प्रगतिमा समेटिएको छ । 

संघमा राखिएको बजेटको नीति, मापदण्ड बनाउने, प्रशिक्षक तयार गर्ने, बिपन्न लक्षित छात्रबृति पठाउने गरिन्छ । 

प्रदेशमा शिक्षक तालिकको लागि बजेट राखिएको छ । त्यस्तै स्थानीय तहमा शिक्षक तलब, पाठ्यपुस्तक, स्यानिटरी प्याड, दिवा खाजा, अनौपचारिक शिक्षा लगायतको बजेट पठाउने गरिन्छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षामा बिनियोजन भएको बजेटको २४ दशमलब ३२ प्रतिशत खर्चलाई सन्तोषजनक रुपमा लिनु पर्ने बताए । 

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट खर्च नहुँदा पनि हामीले चार महिनामा खर्च गर्नु पर्ने झण्डै २५ प्रतिशत पुरा भएको छ’ उनले भने ।

प्रतिक्रिया