Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

सिंहदरबारबाटै तय हुन्छ कक्षाकोठामा पढाई हुने पाठ

शिक्षा मन्त्रालयको परिपत्रलाई ब्यग्य गर्दै एक शिक्षकले सामाजिक सञ्जालमा लेखेका छन्,‘भोलि शिक्षा मन्त्रालयले ज्येष्ठ नागरिक दिवस भएकोले स्कुलमा त्यही पाठ पढाउन निर्देशन दिएछ । जुन दिवस हो त्यही प्राक्टिस गर्ने हो भने जनयुद्ध दिवसको दिन के गर्ने त सरकार ?’

मंगलबार, १० पुस २०८०

काठमाडौँ-कक्षामा पढाउने विषयवस्तु सिंहदरबारबाटै तय हुन थालेको छ । विद्यालयको कक्षाकोठामा के पढाउने भनेर सिंहदरबार स्थित मन्त्रालयहरूले विषय चयन गरेर विद्यालयलाई निर्देशन दिन थालेको हो ।

विद्यालय र शिक्षकले पाठ योजना बनाएर पढाउनु पर्नेमा मन्त्रालयले नै सिधै कुन दिन के पढाउने भनेर परिपत्र गरेको पाइएको हो । ज्येष्ठ नागरिक दिवसको अवसरमा बुधवार ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न भन्दै मन्त्रालयले निर्देशन दिएको छ ।

‘पुस ११  गते सम्पूर्ण सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट अनुरोध भई आएकोले आदेश अनुसार अनुरोध छ,’मन्त्रालयको पत्रमा भनिएको छ । 

हरेक कक्षा मन्त्रालयले निर्धारण गर्ने हो भने शिक्षकको काम के हुने ? भन्दै मन्त्रालयको आलोचना भइरहेको छ । ‘कुन दिवस कहिले पर्छ भन्ने विद्यालय र शिक्षकले पनि हेक्का राखेको हुन्छ,’काठमाडौँ उपत्यकाका एक सामुदायिक विद्यालयका शिक्षकले भने,‘हरेक दिवसमा यो विषय पढाउने भनेर मन्त्रालयले निर्देशन दिने दिन आयो ।’ मन्त्रालयले नीति नियम बनाउनु पर्नेमा कक्षाकोठामा समेत हस्तक्षेप गर्न थालेको ती शिक्षकको भनाई छ । 

शिक्षकले शिक्षा मन्त्रालयको परिपत्रलाई ब्यग्य गर्दै जनयुद्ध दिवमा के पढाउने भनेर सोधेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘भोलि शिक्षा मन्त्रालयले ज्येष्ठ नागरिक दिवस भएकोले स्कुलमा त्यही पाठ पढाउन निर्देशन दिएछ । जुन दिवस हो त्यही प्राक्टिस गर्ने हो भने जनयुद्ध दिवसको दिन के गर्ने त सरकार ?’

प्रतिक्रिया