Edukhabar
बुधबार, २६ बैशाख २०८१
खबर/फिचर

राष्ट्रपति शैक्षिक सुधारको १ अर्ब विद्यालयको भौतिक संरचनामा खर्च गर्न सांसदको सुझाव

असारमा बजेट पास भएको हो अहिलेसम्म खर्च नहुनु शिक्षा मन्त्रालयको कमजोरी, अबण्डाको बजेट प्रयोग गर्न नसकेकोमा प्रश्न

मंगलबार, १७ पुस २०८०

काठमाडौ - प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा प्रविधि समितिका सांसदहरुले शिक्षा मन्त्रालयले अबण्डमा रहेको एक अर्ब बजेटबाट तत्काल भुकम्प प्रभावित क्षेत्रको विद्यालयको भौतिक संरचना सुरु गर्न सुझाव दिएका छन् । 

भुकम्पबाट जाजरकोट र रुकुम पश्चिमका चार सय ३३ विद्यालय पूर्ण रुपमा क्षति भएको मन्त्रालयले समितिमा जानकारी गराएपछि सांसदहरुले दातालाई पुननिर्माणमा सहयोग गर्न आग्रह गर्नुको सट्टा आफ्नै खर्चमा पुननिर्माण गर्न सुझाव दिएका छन् । एमालेकी सांसद विद्या भट्टराईले मन्त्रालयसंग भएको बजेटबाट तत्काल काम गर्न आग्रह गरिन । शिक्षा मन्त्रालयसंग भुकम्पले क्षति भएको सम्पूर्ण विवरण समेत समितिलाई उपलब्ध नगराएको भन्दै आक्रोशित भइन । 

‘भुकम्पले क्षति भएको विद्यालयका छात्राले छुटटै शौचालय प्रयोग गर्न पाएको छ कि छैन ?, स्यानिटरी प्याडको व्यवस्था छ कि छैन ? कुनै जानकारी बिना आउनु उपयुक्त हुदैन,’ उनले भनिन् ।  

रास्वपाकी सांसद सुमना श्रेष्ठले मन्त्रालयमा भएको एक अर्ब रुपैयाँ भुकम्प प्रभावित विद्यालय पुननिर्माणमा खर्च गर्न समितिले निर्देशन दिनु पर्ने बताइन ।

‘शिक्षा मन्त्रालयमा अबण्डा कुन कुन छ ? त्यसको लिष्ट पाउँ, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको अबण्डाको बजेट किन प्रयोग गर्न सकेका छैनौ,’ सांसद श्रेष्ठले भनिन् ‘एक अर्ब बजेट तत्काल पुननिर्माणमा खर्च होस् ।’ 
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले विद्यालय पुननिर्माणमा समन्वयन नगरेको भन्दै उनले आपत्ती जनाइन । 

समिति सभापति भानुभक्त जोशीले राष्ट्रपति शैक्षिक सुधारको बजेटको खर्चको प्रक्रिया अघि बढाउन ढिलाई भएको बताए । 

‘असारमा बजेट पास भएको हो अहिलेसम्म खर्च नहुनु शिक्षा मन्त्रालयको कमजोरी हो,’उनले भने । 

शिक्षा सचिव सुरेश अधिकारीले एक अर्ब बजेट राष्ट्रपति शैक्षिक सुुधारमा भएपनि माग धेरै भएकोले खर्च हुन नसकेको बताए  ।

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको १ अर्ब बाँकी छ । अहिले सूचना निकाले माग थेग्न सकिदैन,’उनले भने,‘पुर्ननिर्माणका लागि बजेट अपुग भएकाले अर्थ मन्त्रालयसंग थप बजेट मागेकोले बजेट कुरिरहेका छौ ।’

प्रतिक्रिया