Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

विदेशी विश्वविद्यालयको कार्यक्रम सम्बन्धन आयोगबाट

अहिले सञ्चालनमा रहेका कलेजको हकमा के हुने भन्ने स्पष्ट उल्लेख छैन ।

सोमबार, ०८ माघ २०८०

काठमाडौं– विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्न उच्च शिक्षा आयोगबाट अनुमति लिनु पर्ने प्रस्ताव गरिएको छ । यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट दिदै आएको थियो । 
मन्त्रालयले तयार गरेको उच्च शिक्षा विधेयकको मस्यौदामा विदेशी विश्वविद्यालयको कार्यक्रमको सम्बन्धन, अनुगमन र नियमनको काम आयोगमा दिने प्रस्ताव गरेको हो ।

मस्यौदा विधेयकको दफा ५० मा उच्च शिक्षा व्यवस्थापन गरी उच्चस्तरीय मानव संशोधनको आवश्यकता परिपूर्तिका लागि उच्च शिक्षाको नियामक निकायका रुपमा उच्च शिक्षा आयोगको प्रस्ताव गरिएको छ । यही आयोगले विदेशी विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्न सम्बन्धन दिने प्रस्ताव विधेयकमा गरिएको हो ।  

आयोगले विदेशी विश्वविद्यालयको सम्बन्धनमा उच्च शिक्षाको कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड तयार गरी कार्यान्वयन गर्ने विधेयकमा प्रस्ताव गरिएको छ । 
विधेयकको मस्यौदाको दफा ७१ मा विदेशी विश्वविद्यालयको सम्बन्धनमा उच्च शिक्षाको कार्यक्रम सञ्चालन गर्न नहुने उल्लेख छ । जसमा भनिएको छ,‘कसैले पििन यस ऐन बमोजिम अनुमति नलई विदेशी विश्वविद्यालयको सम्बन्धनमा उच्च शिक्षाको कुनै पनि कार्यक्रम सञ्चालन गर्न पाउने छैन ।’

विदेशी विश्वविद्यालयको सम्बन्धन उच्च शिक्षाको कार्यक्रम मापदण्ड तयार गरी कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै विदेशी विश्वविद्यालयको सम्बन्धनमा उच्च शिक्षाको कार्यक्रम सञ्चालन गर्न चाहने संस्थाले सञ्चालन गर्नु अघि आयोगमा अनुमतिको लागि निवेदन दिर्ने हुन्छ । आयोगले छानविन, स्थलगत निरीक्षण, राय परामर्श लिएर सम्बन्धन दिने प्रावधान विधेयकमा प्रस्ताव गरिएको छ । अहिले सञ्चालनमा रहेका कलेजको हकमा के हुने भन्ने स्पष्ट उल्लेख छैन । विधेयकको दफा ७१ को उपदफा ६ मा भनिएको छ,‘यो ऐन जारी हुनु पूर्व विदेशी विश्वविद्यालयको सम्बन्धनमा उच्च शिक्षाको कार्यक्रम सञ्चालन सम्बन्धी भए गरेका कार्य यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।’ 
 

प्रतिक्रिया