Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

४ सय ४२ माध्यमिक शिक्षक पदमा ४३ हजारले दिए दर्खास्त

चैत ३ मा हुने परीक्षामा ९६ गुणा बढी दर्खास्त परेको शिक्षक सेवा आयोगले जनाएको छ ।

मंगलबार, १६ माघ २०८०

काठमाडौँ–शिक्षक सेवा आयोगले माध्यमिक तहको ४ सय ४२ पदको लागि गरेको विज्ञापनमा ४३ हजार ८ सय ८८ जनाले दर्खास्त  दिएका छन् । आवेदन दिएका मध्ये ४२ हजार ६ सय ३२ जनाले दस्तुर समेत तिरिसकेका छन् । यो संख्या विज्ञापन गरेको भन्दा ९६ गुणा बढी हो । 

आयोगका प्रशासकीय प्रमुख कमल पोखरेलले माध्यमिक तहको शिक्षकमा आकर्षण झन् बढेको बताए । दोब्बर दस्तुर तिरेर पनि पछिल्लो एक सातामा १० हजार जनाले दर्खास्त  दिएका छन् । 

आयोगले माध्यमिक तह तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षाको पुस ८ मा गरेको थियो ।  दोब्बर दस्तुर तिरेर माघ १५ सम्म दर्खास्त दिने अवधि निर्धारण गरिएको थियो । 

चैत तीन गते लिखित परीक्षा गर्ने गरी आयोगले सातै प्रदेशका लागि ४ सय ४२ पदमा विज्ञापन खोलेको थियो । सबै भन्दा धेरै विज्ञानमा एक सय २५ र गणितमा ८६ पदका लागि विज्ञापन भएको छ । यसै गरी अङ्ग्रेजीमा ८०, नेपालीमा ६८, सामाजिकमा ५४, लेखामा १६ शिक्षकका लागि आयोगले विज्ञापन खोलेको छ । अर्थशास्त्रमा सात, संस्कृत र कम्प्युटर विज्ञानमा तीन तीन जनाका लागि विज्ञापन खोलेको आयोगले जनाएको छ । आयोगले पुस ९ मा निकालेको विज्ञापनमा ४ सय ३६ पदको लागि भए पनि संशोधन गरेर ४ सय ४२ पुर्‍याएको  हो । कोशीमा ६ वटा पद थप भएको हो । 

प्रतिक्रिया