Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

'मौका पाएको बेला सुधार गरेनौं भने रोइकराई गर्नुको अर्थ छैन'

‘विश्वविद्यालयको नेतृत्व भागवण्डा नगरी सक्षम नेतृत्व चयन गर्नुपर्छ, जुन व्यक्ति योग्य भनेर छान्छौं नागरिकले टिप्पणी नगर्ने हुनुपर्छ । अहिले पनि चुक्यौं भने कुरा मात्रै हुनेछ ।’

बुधबार, २४ माघ २०८०

काठमाडौं - सत्ताधारी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नीतिगत रुपमा शिक्षा क्षेत्र सुधार गर्ने मौका आएको उल्लेख गर्दै यो मौकामा प्रतिनिधि सभाले गम्भिर भएर काम गर्नु पर्ने बताएका छन् । सोमबारबाट शुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्तरगत बुधबारको बैठकमा बोल्दै उनले मौका पाएको बेला सुधार नगर्ने हो भने पछि रोइकराई गर्नुको अर्थ नहुने बताएका छन् । प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षा विधेयक र दर्ताको प्रकृयामा रहेको उच्च शिक्षा विधेयक तर्फ लक्षित गर्दै उनले यो समयलाई शिक्षा क्षेत्रको नीतिगत सुधारको लागि उपयोग गर्नु पर्ने बताएका हुन् । 

विद्यालय र उच्च शिक्षा विधेयक निर्माणको यो चरणलाई उनले शिक्षाको गुणस्तर सुुधार गर्ने गरी कानुन बनाउने मौका रहेको बताएका छन् । विद्यालय शिक्षा विधेयकमा स्वार्थ समूह हावी भएको बताउँदै उनले दलको स्वार्थ भन्दा पनि गुणस्तर सुधार गर्ने गरी बनाएमा नागरिकको मन जित्न सक्ने बताए । 

'त्रिभुवन विश्वविद्यालयको नेतृत्व रिक्त छ । अन्य विश्वविद्यालयको नेतृत्व रिक्त हुदैँ छ । मौका पाएको बेला सुधार गरेनौं भने रोइकराई गर्नुको अर्थ हुदैन' उनले भने 'विश्वविद्यालयको नेतृत्व भागवण्डा नगरी सक्षम नेतृत्व चयन गर्नुपर्छ । जुन व्यक्ति योग्य भनेर छान्छौँ नागरिकले टिप्पणी नगर्ने हुनुपर्छ । अहिले पनि चुक्यौ भने कुरा मात्रै हुन्छ ।' 

युवाहरु बाहिर पढ्न गएको कुराबाट चिकित्सा शिक्षा बर्वाद भयो, नेपालमा कडाई गरेपछि छिमेकी मुलुकको सिमा क्षेत्रमा दर्जनौ संस्था खुलेको र नेपालीहरु त्यहा पढ्न गएको जस्ता भ्रम आइरहेको बताउँदै उनले तथ्याङक हेर्दा ३ सय भन्दा बढी विद्यार्थी नर्सिङ पढ्न बाहिर नगएको बताए । 

'विद्यार्थी सीमा क्षेत्रका संस्थामा भन्दा पनि युरोप क्यानडा गएका हुन् । सबै पढ्न गएका होइनन् । जति पढ्न गएका छन्, विश्वविद्यायको  कारणले गएका छन् । विश्वविद्यालय सुधार गरेमा रोक्न सकिन्छ ।' उनले भने 'उच्च शिक्षाको विधेयक सरकारले सार्वजनिक गरेको छ । चाँडै संसदमा आउने छ । विदेश गयो भनेर हामी नै तथ्याङक पेश गरिरहेका हुन्छौं । त्यसैले यसलाई रोक्न संसदले काम गर्नु पर्ने हुन्छ । विश्वविद्यालयको स्वायत्तता, मौलिककता, विश्वबजार अनुकल जनशक्ति उत्पादन गर्ने कानुन बनाउनु छ ।' 

समस्या विश्वविद्यालयमा मात्रै नभएबो बताउँदै उनले विद्यालय शिक्षाको समस्यामा पनि ध्यान दिन जरुरी रहेको बताए । 

'विद्यालयको भवन बनेको छ तर, विद्यार्थी टिकाउन सकेको छैन । एक कक्षामा १ सय जना भर्ना भएकोमा १२ कक्षामा ३२ जना मात्रै पुग्छन् ।' उनले भने 'केटाकेटी पढिरहेका छन् तर, विज्ञान, अंग्रजी, गणित सिक्न सकेन भने अर्को पटक ट्रेन छुट्छ । फाउण्डेशन नभएको केटाकेटी भयो भने चाहेर पनि केही गर्नै सक्दैनौ ।' 

त्यसैले विद्यालय शिक्षा विधेयकमा गम्भिरता पूर्वक काम गर्नु पर्ने उनको भनाई छ । आरोप प्रत्यारोप गर्ने, राजनीतिक दलको आग्रहको रुपमा आफ्नो पोजिनको रुपमा प्रयोग गर्ने कि जनताको पक्षमा काम गर्ने हो ? यस तर्फ संसदमा प्रतिनिधित्व गर्ने सबै दल सचेत हुन जरुरी रहेको उनबो भनाई छ ।

संघीय विद्यालय शिक्षा र उच्च शिक्षा विधेयक संसदीय प्रकृया पार गरेर आउन समय लाग्न सक्ने भएकाले यही अवधिमा  स्थानीय तह र प्रदेशले काम गर्नु पर्ने उनले बताएका छन् । 

प्रतिक्रिया