Edukhabar
सोमबार, ३१ बैशाख २०८१
खबर/फिचर

त्रिविको उपकुलपतिको सर्टलिष्टमा बाहलवालादेखि पूर्व उपकुलपतिसम्मको नाम समावेश (सूची सहित)

अन्तरवार्ता माघ २९, फागुन १ र २ मा हुनेछ ।

विहीबार, २५ माघ २०८०

काठमाडौँ–त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट समितिले १४  जनाको नाम सार्वजनिक गरेको छ । 

खुला प्रतिस्पर्धाबाट दर्खास्त दिएका ४३ जनाले बुझाएको सोच पत्र, ४ वर्षीय व्यावसायिक योजना, अनुभव, पुस्तक प्रकाशन, अनुसन्धानको मुल्याङकनको आधारमा छनौट समितिले सर्टलिष्ट निकालेको हो । छनौट समितिको बिहीबार साँझ अबेर बसेको बैठकले मुल्याङकनमा खटिएका तीन जना विज्ञले दिएको अंकको आधारमा सर्टलिष्ट निकालेको हो । अन्तरवार्ता माघ २९, फागुन १ र २ मा हुनेछ ।  

शिक्षा मन्त्री अशोक कुमार राई संयोजक रहेको छनौट समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य छन् । मन्त्री राई शुक्रवार निर्वाचन क्षेत्र जाने भएपछि बिहीबार सर्टलिष्ट निकालेको हो । दर्खास्त दिएका हेबी वेट भनिएका खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. लेखनाथ शर्मा, मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह,  पूर्व रजिस्ट्रार एवं राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल सर्टलिष्टमा अटाएनन् । 

 त्रिविको उपकुलपतिको प्रतिस्पर्धामा सहभागी ४३ जनाले दिएको आवेदन, सोच पत्र र कार्य योजना ३ जना विज्ञबाट परीक्षण गराएर पाएको औसत अंक मध्ये उत्कृष्ट  १४ जनाको नाम सार्वजनिक गरेको हो । सर्टलिष्टमा परेकाहरूले मात्रै अन्तर्वार्ता र कार्य योजनाको प्रस्तुतीकरण गर्नेछन् । प्रस्तुतिपछि ३ जनाको नाम कुलपति तथा प्रधानमन्त्रीलाई सिफारिस हुनेछ । 

प्राध्यापक पदमा कार्य अनुभवमा १०, विद्यावारिधि उपाधिमा ५, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव हासिल गरेकोमा ४, प्राज्ञिक एवं अनुसन्धानमूलक पुस्तक प्रकाशन गरेबापत ५ अंक दिने कार्यविधिमा  उल्लेख छ ।

सोचपत्र र चार वर्षीय व्यावसायिक कार्ययोजना बापत ३५, प्रस्तुतीकरणमा २० र अन्तर्वार्तामा १५ अंक छुट्याइएको छ।

सर्टलिस्टमा परेकाको नामावली  

TU_अल्पसूचीसम्बन्धी सूचना
 

प्रतिक्रिया