Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

विवादित व्यक्ति बारे 'रिथिङ्क' हुने

छनोट कार्यविधिमा राजनीतिक दलको सदस्य नभएको स्वघोषणा गर्नु पर्ने प्रावधान भएकोले नियुक्ति भएपछि पनि पुष्टि भएमा रद्द गर्न सकिने

सोमबार, २९ माघ २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपति सर्टलिष्टमा परेका विवादित व्यक्तिको बारेमा छनोट समितिमा छलफल हुने भएको छ । छनोट समितिका सदस्य समेत रहेका शिक्षा सचिव सुरेश अधिकारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति सर्टलिष्टमा परेका विवादित व्यक्तिको बारेमा छनोट समितिमा छलफल हुने बताएका हुन् । प्रतिनिधि सभा अन्तरगतको संसदीय समितिको सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नलाई सम्बोधन गर्दै अधिकारीले यस बारेमा छनोट समितिमा छलफल गर्ने बताए । 

‘बौद्धिक चोरीमा परेको व्यक्तिको बारेमा अहिले कुरा उठिरहेको छ । यो विषय म समितिको बैठकमा छलफलमा लैजान्छु,’उनले भने,‘गैर कानुनी कुरा रिथिङ्क हुन्छ ।’ 

सांसदहरुले आवेदन दिएका बाहेकको अर्को व्यक्ति पनि छनोट गर्न आग्रह गरेका थिए । सचिव अधिकारीले भने यो प्रक्रियाबाट बाहिर जान नसकिने बताए । 

‘यो प्रक्रियाबाट बाहिर जान मिल्दैन । यो प्रोसेस नै फलो गर्ने हो,’उनले भने । 

सर्टलिष्टमा परेका व्यक्ति राजनीतिक रुपमा संलग्न भएको सांसदहरुले बताएका छन् ।

‘अहिले सर्टलिष्टमा परेका व्यक्ति निर्वाचनमा टिकट पाएका र दलमा आबद्ध रहेका छन,’रास्वपा सांसद डा. तोसिमा कार्कीले भनिन । 

शिक्षा सचिव अधिकारीले उपकुलपति छनौट कार्यविधिमा राजनीतिक दलको सदस्य नभएको स्वघोषणा गर्नु पर्ने प्रावधान भएकोले नियुक्ति भएपछि पनि पुष्टि भएमा रद्द गर्न सकिने बताए । 

‘स्वघोषणा भएपनि इभिडेन्स छ भने खोज्छौँ । नियुक्ति भएपछि प्रमाण भयो भने बदर हुन्छ,’ उनले भने ।  ।

प्रतिक्रिया