Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

आज सरस्वती पूजा

सरस्वती पूजा गर्दा सबैभन्दा पहिला उनलाई नुहाइदिने चलन छ । त्यसपछि माताको सिन्दूर र अन्य श्रृंगारको वस्तु चढाउने र फूल माला चढाउने चलन छ । यससँगै सरस्वती कवचको पाठ गरिन्छ ।

बुधबार, ०२ फागुन २०८०

काठमाडौँ-विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी बुधवार सरस्वती पूजा मनाइदैछ ।  सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्न पनि शुभ मानिन्छ ।

भक्तपुरको सरस्वती खेल, काठमाडौंको स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेले र अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो लाग्ने गरेको छ ।

राष्ट्रपति रामचन्द्र  पौडेलले विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा शुभकामना व्यक्त गरेका छन् ।

सरस्वती पूजा,  माघ शुक्ल पक्षको पञ्चमी तिथिलाई श्री पञ्चमी वा वसन्त पञ्चमी भनिन्छ । ‘श्री’ भन्नाले विद्या, बुद्धि र वाणीकी अधिष्ठात्री देवी सरस्वतीलाई बुझिन्छ । श्री पञ्चमीमा देवी सरस्वतीको पूजा आराधना गर्ने विधान छ । वैदिक कालमा वसन्त ऋतुको मधु मास (आर्तव चैत्र मास) मा यो पर्व मनाउने गरेको प्रमाण पाइन्छ । कालान्तरमा वार्हस्पत्य संवत्सरको लौकिक पञ्चाङ्ग चलनमा आएपछि माघ शुक्ल पक्षको पञ्चमी तिथिमा श्री पञ्चमी / सरस्वती पूजा मनाउन थालियो ।

आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन हो । सरस्वती पूजा या श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो । आजबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ । 

कसरी मनाउने ?

घर, विद्यालय, मन्दिर जहाँ पनि सरस्वती पूजा मनाउन सकिन्छ । पौराणिक कथन अनुसार सबैभन्दा अघि भगवान् श्रीकृष्णले सरस्वतीको पूजा गरेका थिए । रातको समयमा सबै दैनिक कामबाट निवृत्त भएर नुहाई, ध्यान गरेर माता सरस्वतीको तस्बिर वा मूर्ति स्थापना गर्नुपर्छ । यसपछि कलश स्थापित गरिन्छ र गणेशजी एवं नवग्रहका विधिवत् पूजा गरिन्छ ।

 

सरस्वती पूजा गर्दा सबैभन्दा पहिला उनलाई नुहाइदिने चलन छ । त्यसपछि माताको सिन्दूर र अन्य श्रृंगारको वस्तु चढाउने र फूल माला चढाउने चलन छ । यससँगै सरस्वती कवचको पाठ गरिन्छ ।

‘ऊँ ऐं सरस्वत्यै नमः’ मन्त्रलाई एक सय आठ पटक जप गरेर सरस्वतीको आरती गरिन्छ । सरस्वती मिस्री, दूध, दही, तुलसी, मह मिलाएर पञ्चामृतको प्रसाद बनाएर चढाउने प्रचलन छ । यसका साथमा खिरको प्रसाद अर्पण गर्ने गरिन्छ ।

प्रतिक्रिया