Edukhabar
विहीबार, २७ बैशाख २०८१
गतिविधि

उपकुलपति प्रतिष्पर्धीको अन्तर्वार्ता आइतबार

प्रतिष्पर्धीलाई बढीमा आधा घण्टासम्म अन्तर्वार्ता लिने तयारी

विहीबार, ०३ फागुन २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट सिमितिले  सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तर्वार्ता आइतबार लिने भएको छ । 

समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति तय गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई निर्वाचन क्षेत्रबाट फर्के लगत्तै मन्त्रालयमा समितिको बैठक बसेको थियो । 

सर्टलिष्टमा परेकालाई एकै दिनमा अन्तर्वार्ता लिइसक्ने निर्णय गरेको हो । विज्ञ र छनोट समितिको सदस्यसंगै बसेर अन्तर्वार्ता लिन लागेको हो । 

उपकुलपतिका प्रतिष्पर्धीलाई बढीमा आधा घण्टासम्म अन्तर्वार्ता लिने तयारी समितिको छ ।

‘कम्तीमा २० मिनेट हुनेछ बढीमा आधा घण्टासम्म अन्तर्वार्ता हुन सक्छ,’ समिति सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीले भने । 

त्रिविको उपकुलपतिको प्रतिस्पर्धामा सहभागी ४३ जनाले दिएको आवेदन, सोच पत्र र कार्य योजना ३ जना विज्ञबाट परीक्षण गराएर पाएको औसत अंक मध्ये उत्कृष्ट  १४ जनाको नाम सार्वजनिक गरिएको थियो । सर्टलिष्टमा परेकासंग बुधबारसम्म प्रस्तुती लिइएको  थियो । यसअघि ६५ अंकको आधारमा सर्टलिष्टमा १४ जनाको नाम सार्वजनिक भएको थियो । अब ४ वर्षीय बिजनेश प्लान र सोचपत्र प्रस्तुतीको २० अंक, अन्तर्वार्तामा १५ अंक छुट्याएको छ ।अन्तर्वार्ता र प्रस्तुतीमा पाएको नम्बरको आधारमा तीन जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिस हुनेछ । 

बौद्धिक चोरीमा परेका तिर्थ खनियाँ, भ्रष्टाचार मुद्धामा मुछिएका पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल र सूचना लुकाएको आरोपमा राष्ट्रिय सूचना आयोगले जरिवाना तिराएका त्रिविका बाहलवाला उपकुलपति शिवलाल भुसाल माथि बिशेष ध्यान दिन प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले कुलपति तथा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। 

कात्तिक १६ मा तत्कालीन उपकुलपति प्राध्यापक धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ माघदेखि शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको छ ।

 

प्रतिक्रिया