Edukhabar
शनिबार, २९ बैशाख २०८१
खबर/फिचर

उपकुलपतिमा बुढाथोकी, बराल र धमला सिफारिस

आइतबार, ०६ फागुन २०८०

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिले आइतबार तीन जनाको नाम सिफारिस गरेको छ । समितिले पहिलो नम्बरमा चित्रबहादुर बुढाथोकी, दोस्रोमा केशरजंग बराल र तेस्रो नम्बरमा टंकनाथ धमलाको नाम सिफारिस गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा रहेको समितिले तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाललाई सिफारिस गरेको हो । 

छनोट समितिले आइतबार साँझमा तीन जनाको नाम दाहाललाई बुझाएको हो । उपकुलपतिको प्रतिष्पर्धामा ४३ जनाले दर्खास्त दिएका थिए । उनीहरु मध्ये  समितिले १४  जनाको नाम सर्टलिष्टमा निकालेको थियो । ४ वर्षिय कार्ययोजना, अन्तर्वार्ताको आधारमा तीन जनाको नाम उपकुलपतिको लागि सिफारिस गरेको हो ।

सिफारिसमा परेका बुढाथोकी त्रिवि शिक्षा संकायका डिन हुन् । धमला गणित विभागका पूर्व प्रमुख  हुन् । बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन् । 

शिक्षा मन्त्री राई संयोजक रहेको छनौट समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य छन् । 

धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा योग्य व्यक्ति छनौट गर्ने घोषणा गरेपनि मापदण्ड खुकुलो बनाइएको भन्दै विरोध भए पछि पहिलाको सूचना रद्द गरी फेरी प्रकृया शुरु गरिएको थियो । 

शिर्षकमा अन्यथा भएकोले सच्याईएको छ - स.

प्रतिक्रिया