Edukhabar
शुक्रबार, २८ बैशाख २०८१
खबर/फिचर

उपकुलपति छनोट रोक्न प्राध्यापक संघले यसरी गरे चलखेल

बुधबार, ०९ फागुन २०८०

काठमाडौँ–मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट रोक्न प्राध्यापक संघले संसदीय समिति, दलको नेता, मन्त्री र प्रधानमन्त्रीलाई हारगुहार गरेर चलखेल गरेको पाइएको छ । 

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी संयोजक रहेको छनोट समितिले उपकुलपतिको मापदण्ड कडाइ गरेको भन्दै प्रक्रिया नै रोक्न दुवै विश्वविद्यालयका प्राध्यापक संघको नाममा पत्र नै दर्ता गरेका थिए । 

sudur

उनीहरूको दबाबमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि अनुसन्धान र विश्वविद्यालयको चार वर्षीय कार्य योजनालाई बराबर महत्त्व दिएको कार्यविधि अनुसार छनोट नगर्नु भन्दै प्रक्रिया नै रोकेका छन् । छनोट समितिले आइतबार प्रक्रिया स्थगित गरेपछि अब कसरी अघि बढाउने भन्ने कुनै निर्णय भएको छैन । 

शिक्षा सचिव सुरेश अधिकारी र योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल सदस्य रहेको छनोट समितिले दुवै विश्वविद्यालयको उपकुलपति हुनलाई ३५ अङ्क अनुसन्धानलाई छुटाएपछि विरोध भएको हो । त्रिविमा ६ र पूर्वाञ्चलमा अनुसन्धानलाई १५ अङ्क मात्रै अनुसन्धानलाई छुटाएको थियो । त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयको विज्ञापनको अनुभवको आधारमा मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा सुधार गरेर अनुसन्धानलाई अङ्क बढाएको सचिव अधिकारीले संसदीय समितिमा जानकारी गराइसकेका छन् । 

त्रिवि र पूर्वाञ्चलमा चार वर्षीय योजना र अन्तर्वार्तालाई बढी अङ्क छुटाएको । यस्तो गर्दा मुल्याङकन गर्नेको तजबिजले नम्बर दिने भन्दै आयोग अध्यक्ष अधिकारी नेतृत्वको समितिले सुदूर र मध्यपश्चिममा बढी अंकार अनुसन्धानलाई राखेका थिए । 

दुवै विश्वविद्यालयका प्राध्यापक संघले अन्तर्राष्ट्रिय सिमागो जर्नलको क्यु वानदेखि क्यु फोरसम्मको अनुसन्धानलाई प्राथमिकता दिएको, नेपाली र मातृभाषामा गरेको नेपाली अनुसन्धानलाई प्राथमिकता नदिएको, सर्टलिष्टको प्रक्रिया पनि विभेदकारी भएको भन्दै उपकुलपतिको कार्यविधि संशोधन गर्न माग गरेर प्रक्रिया रोक्न माग गरेका थिए ।  madhya

केही निश्चित व्यक्तिहरूलाई मात्रै दर्खास्त हाल्नका लागि प्रोत्साहन गर्ने गरी कार्यविधि बनेको दुवै विश्वविद्यालय प्राध्यापक संघको आरोप छ । दुवै विश्वविद्यालयका संघले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा त्रिवि, पूर्वाञ्चल , मध्य र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति हुन फरक फरक मापदण्ड राखेको भन्दै आपत्ति जनाएका छन् । मध्यपश्चिम विश्वविद्यालय प्राध्यापक संघले समितिलाई दिएको पत्रमा भनिएको छ,‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदको लागि निवेदन दिने व्यक्तिहरूले लेखन, अध्ययन, अनुसन्धानको भार पूर्वाञ्चल विश्वविद्यालयमा निवेदन दिन दुई गुना र मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा निवेदन दिन सात गुना बढी छ । लेख रचनामा क्यु वान र क्यु ४ सम्म को अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान परियोजना सम्पन्न गरेको हुनु पर्ने जस्ता विश्वविद्यालयमा उपकुलपति चयनमा केही व्यक्तिको लागि सहज गराउने कोसिस गरिएको देखिन्छ ।’ 

madhya 1

नेपाली भाषामा नेपाली पाठक तथा नीति निर्माताका लागी काम लाग्ने गरी गरिने अनुसन्धानलाई आफ्‌नै मुलुक भित्र पनि बेवास्ता हुने कार्यविधि बनाएको समितिमा बुझाएको पत्रमा उल्लेख छ ।

 

 

 

 

प्रतिक्रिया