Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

ख्वप विश्वविद्यालयको विधेयक अर्थ मन्त्रालयमा

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ, ख्वप कलेज, ख्वप कलेज अफ ललाई समेटेर विश्वविद्यालय बनाउन खोजिएको हो ।

आइतबार, १३ फागुन २०८०

काठमाडौँ - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भक्तपुरमा स्थापना हुने ख्वप विश्वविद्यालयको विधेयकको मस्यौदा संसदमा दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ । 

सरकारको लगानी विना ख्वप विश्वविद्यालय चलाउने गरी विधेयकको मस्यौदा अघि बढाएको मन्त्रालय स्रोतले जनाएको छ ।

शिक्षा मन्त्रालयले विधेयक संसद पठाउनु अघि सहमतिको लागि बुधबार अर्थ मन्त्रालय पठाएको हो । अर्थबाट फिर्ता भएपछि रायको लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ । मन्त्रालयका अनुसार ख्वप विश्वविद्यालय सम्बन्धन  नबाड्ने, कुलपति प्रधानमन्त्री नहुने, बोर्ड अफ ट्रष्टिजको प्रावधान हुने र ट्रष्टिजमा भक्तपुर नगरपालिकाको प्रतिनिधि हुने प्रावधान राखिएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ, ख्वप कलेज, ख्वप कलेज अफ ललाई समेटेर विश्वविद्यालय बनाउन खोजिएको हो । यी कलेजहरुमा त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरिएको छ । 

भक्तपुर नगरपालिकाले आफैले सञ्चालन गर्ने गरी विश्वविद्यालयको विधेयकको मस्यौदा हुनु पर्ने प्रस्ताव गरेको थियो । संविधानले विद्यालय तह सम्मको अधिकार मात्रै स्थानीय तहलाई दिएको भन्दै मन्त्रालयले अडान राखेपछि बोर्ड अफ ट्रष्टिजमा नगरपालिकाको प्रतिनिधि हुने गरी सहमति भएको हो । कलेजको संरचना यस अघि नै नगरपालिकाले बनाएर सञ्चालनमा रहेकोले विश्वविद्यालयको संरचना मात्रै बनाउनु पर्ने हुन्छ । विश्वविद्यालयको संरचना पनि नगरपालिकाले बनाउन तयार रहेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बताए । नगरपालिकाले सल्लाघारीको ९९ रोपनी जग्गामा ख्वप विश्वविद्यालयको प्रस्ताव गरेको छ । जग्गा प्राप्तको लागि नेपाल ट्रष्टलाई अनुरोध गरेको भए पनि  जवाफ आउन बाँकी रहेको उनले बताए । 

उक्त जग्गा नगरपालिकाले वरिपरि तार बार लगाएर घेरेर राखिएको छ । 

संसदमा ख्वप विश्वविद्यालयको विधेयक माग 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ख्वप विश्वविद्यालयको विधेयक संसदमा ल्याउन सरकारलाई आग्रह गरेका छन् । 

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन उनले आग्रह गरेका हुन् ।

‘शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक सरकारले ल्याएको तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको ?,’ प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद परियारले भने,‘ख्वप विश्वविद्यालयको विधेयक तत्काल ल्याउन पर्‍यो ।’ 

ख्वप कलेजले देशभरका विद्यार्थीलाई न्यून शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको पनि चाप छ । 

‘सन १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औँ वर्षमा लागिसकेको छ । देशभरबाट ४० हजार भन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् । सरकार समाजवाद उन्मुख भन्छ, शिक्षा महँगो छ,’परियारले भने,‘ख्वप कलेज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज हो । त्यसले न्यूनतम शुल्कमा धेरै विद्यार्थीले शिक्षा पाइरहेका छन् । विभिन्न औपचारिक, अनौपचारिक छलफलमा पनि प्रधानमन्त्रीज्यूलाई ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइदिन आग्रह गरेका छौं ।’ 

प्रतिक्रिया