Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

विद्यार्थी र शिक्षकलाई र्‍यालीमा सहभागी गराउन विद्यालयहरुलाई परिपत्र

पठनपाठन नै रोकेर र्‍यालीमा सहभागी गराउनु बाल अधिकारको हनन् हुने तर्क सहित सामाजिक सञ्जालमा विरोध भईरहेको छ ।

विहीबार, १७ फागुन २०८०

भरतपुर - भ्रमण बर्षको उद्घाटन समारोहको र्‍यालीमा भरतपुर महानगरपालिकाले विद्यार्थीलाई समेत सहभागी गराउने भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने उद्घाटन कार्यक्रम अघिको  र्‍यालीमा विद्यार्थी सहित शिक्षकलाई उपस्थित गराउन महानगरको शिक्षा शाखाले पालिका भित्रका सबै विद्यालयहरुलाई परिपत्र गरेको छ । 

'वडा कार्यालयसँग समन्वय गरी त्यस विद्यालयका कक्षा ९ देखि १२ मा अध्ययनरत छात्रछात्राहरु र माध्यमिक तहका शिक्षकहरु वडास्तरको  र्‍यालीमा विद्यालयको व्यानर सहित उपस्थित हुनु पर्ने' शिक्षा शाखाको परिपत्रमा उल्लेख छ । 

पठन पाठन नै रोकेर  र्‍यालीमा सहभागी गराउनु बाल अधिकारको हनन् हुने तर्क सहित सामाजिक सञ्जालमा विरोध भईरहेको छ । तर, उक्त कार्यक्रममा विद्यार्थी र शिक्षकको सहभागिताले पठनपाठनमा असर नगर्ने नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालको तर्क छ ।  र्‍यालीमा देखाईने विभिन्न जातजातीको भेषभुषा मार्फत् विद्यार्थीले  संस्कृतिको अध्ययन गर्न पाउने उनले दावी गरे । विद्यार्थीको सहभागितालाई सांस्कृतिक अवलोकनका रुपमा महानगरले हेरेको उनले बताए ।   

'हरेक शुक्रबार विद्यालयहरुले व्यवहारिक शिक्षा प्रदान गर्ने गरी पाठ्यपुस्तक नपढाउने नीति तर्जुमा गरिसकिएको छ', उनले भने 'यस पटकको व्यवहारिक शुक्रबार कार्यक्रम अन्तरगत विद्यार्थी भरतपुर भ्रमण बर्ष २०२४ को सांस्कृतिक  र्‍यालीमा सहभागी भएर मनाउने छन् ।' 

महानगरपालिकाद्वारा निजी क्षेत्रको सहकार्यमा 'घुमौं भरतपुर' भन्ने मुल नाराका साथ पर्यटन क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको भरतपुर भ्रमण बर्ष २०२४ को प्रधानमन्त्री दाहालले शुक्रबार दिउँसो १ बजे नारायणी किनारको प्रर्दशनी मैदानमा गर्ने छन् ।  

यस अघि गत जनवरी १ तारिखमा उद्घाटन गर्ने योजना महानगर भित्रका सडकहरु तथा मुग्लिन नारायणगढ र नारायणगढ बुटवल सडकखण्ड निर्माणको चरणमा रहेको भन्दै स्थगित गरिएको थियो । 

महानगरका गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वधन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्य सहित भ्रमण वर्ष आयोजना गरिएको हो । भ्रमण वर्षका अवसरमा विभिन्न संघसंस्थाहरुले वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरू गर्ने तय भएको छ । यो अवधिमा करिब २ लाख वाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भरतपुरमा भित्र्याउने लक्ष्य रहेको मेयर रेनु दाहालले बताईन् । भरतपुर र आसपासका क्षेत्रहरूको पर्यटन मार्फत् आर्थिक उपार्जन गर्ने अपेक्षा गरिएको कार्यक्रमको उद्घाटनमा मात्रै करिब ५० हजार जना सहभागी गराउने महानगरको लक्ष्य छ । 

प्रतिक्रिया