Edukhabar
विहीबार, २७ बैशाख २०८१
गतिविधि

शिक्षक, विद्यार्थी सहित विद्यालयलाई सम्मान र पुरस्कार

बुधबार, ३० फागुन २०८०

पोखरा - आफ्नो स्थापना दिवसको अवसर पारेर पोखरा महानगरपालिकाले शिक्षक, विद्यार्थी सहित विद्यालयहरुलाई सम्मान र पुरस्कृत गरेको छ । नगरपालिका स्थापनाको ६४ औं एवं राज्य पुर्नसंरचना पश्चात सातौं स्थापना दिवसको अवसर पारेर गत आईतबार उक्त सम्मान र पुरस्कार वितरण गरिएको हो । 

कार्यक्रममा सामुदायिक विद्यालयमा २५ बर्ष सेवा गरेका एक सय ४९ शिक्षक तथा संस्थागत तर्फ २० बर्ष सेवा गरेका ४१ जना शिक्षकलाई सम्मान गरिएको थियो । यसैगरी २०७९ को कक्षा १० को अन्तिम परीक्षामा चार जिपीए प्राप्त गरेका तीन जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । जसमा मदरल्याण्ड मावि मासबारका सुदेश आचार्य, जोन राना मगर र फिष्टेल मावि पोखरा १७ की प्रमिशा तुलाचन छन् । यस्तै कक्षा १२ मा सामुदायिक तथा संस्थागत तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल पाँच जना विद्यार्थीलाई पनि सम्मान गरिएको छ । जसमा सामुदायिक तर्फ अमरसिंह माविका भविष्य पौडेल र सचिन केसी तथा संस्थागत तर्फ मदरल्याण्ड माविका जीवन अधिकारी, कृतिका थापा र राजेश पौडेल छन् ।

यसैगरी कक्षा ८ को नगर स्तरीय परीक्षामा चार जिपीए प्राप्त सामुदायिकका ३३ र संस्थागतका ५८ जना विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । 

यसै गरी नतिजाका आधारमा सामुदायिक तर्फ कास्कि जिल्ला प्रथम भएको विन्ध्यवासिनी मावि बाटुलेचौर र संस्थागत तर्फ मदरल्याण्ड माविलाई सम्मान गरिएको छ । यी विद्यालय मध्ये सामुदायिकका ११ र संस्थागतका २१ शिक्षकलाइ पनि सम्मान गरिएको छ । 

कक्षा ८ को पालिका स्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याएको सामुदायिक तर्फ सितलादेवी मावि र संस्थागत तर्फ गण्डकी बोर्डिङ् स्कुलका कक्षा ८ मा शिक्षण गर्ने शिक्षकलाई पनि सम्मान गरिएको छ । शिक्षा मन्त्रालय अन्र्तगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययनका आधारमा उत्कृष्ट विन्ध्यवासिनी मावि, ईन्द्रराज्यलक्ष्मी मावि, सितलादेवी मावि र महेन्द्र माविलाई पनि सम्मान गरिएको छ । प्राविधिक धार तर्फ ब्रम्हरुपा माविलाई सम्मान गरिएको छ । 
कक्षा १० को अन्तिम परीक्षामा ५० जना भन्दा धेरै परीक्षार्थी सहभागी गराएका विद्यालयले प्राप्त गरेको औसत जिपिए नतिजा मुल्यांकनको आधारमा उत्कृष्ट घोषणा गरिन्छ । 

फोटो : पोखरा महानगरपालिका 

प्रतिक्रिया