Edukhabar
बुधबार, २६ बैशाख २०८१
खबर/फिचर

शैक्षिक सत्र सुरु हुन एक महिना, २१ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी

२४ सै घण्टा पाठ्यपुस्तक छाप्न शिक्षा मन्त्रीको निर्देशन

विहीबार, ०१ चैत्र २०८०

भक्तपुर - शैक्षिक सत्र सुरु हुन एक महिना मात्रै बाँकी भए पनि विद्यालय तहका लागि २१ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी नै रहेको छ । कक्षा ५ देखि १० सम्मको पाठ्यपुस्तक छपाई गर्ने काम जनक शिक्षा सामग्री केन्द्रको हो । 

केन्द्रले दिएको तथ्याङ्क अनुसार कक्षा ५ का लागि २४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने भए पनि अहिले सम्म ६ लाख ३३ हजार थान मात्रै छपाई भएको छ । यस्तै कक्षा ६ को २२ हजार, कक्षा सातको १४ हजार, कक्षा आठ को २ लाख ३३ हजार थान पाठ्यपुस्तक छपाई गर्न बाँकी छ । कक्षा ९ को ५१ हजार  र कक्षा १० को ८० हजार थान मात्रै छपाई हुन बाकी रहेको केन्द्रले जनाएको छ । 

दैनिक एक लाख मात्रै छपाई गर्दा शैक्षिक सत्र अघि नै पाठ्यपुस्तक नपुग्ने छनक पाए पछि शिक्षा मन्त्री सुमना श्रेष्ठ बिहीबार बिहान केन्द्र मै पुगेर अवस्थाको यकिन गरेकी छन् । चालु शैक्षिक सत्रमा समयमै पाठ्युस्तक पुगेको जस तत्कालिन शिक्षा मन्त्री शिशिर खनालले पाएका थिए । सत्ता गठबन्धन बदलिएसँगै फेरी सोही दलबाट श्रेष्ठ शिक्षा मन्त्री भए पछि उनको ध्यान पनि पाठ्यपुस्तकमा केन्द्रित भएको हो । 

बिहीबार अनुगमनका क्रममा मन्त्री श्रेष्ठले दैनिक १ लाख मात्रै छपाई हुँदा २१ दिन लाग्ने भएकोले ढुवानी गरेर विद्यार्थीको हातमा बेलैमा पुर्याउन समस्या हुन सक्ने भन्दै २४ सै घण्टा गर्ने गरी दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छन् । 

‘अहिलेको अवस्थामा २१ दिन लाग्न सक्छ,’मन्त्री श्रेष्ठले भनिन्,‘बिचमा कुनै सानो समस्या आयो भने झन् बेलैमा सकिदैन । त्यसैले अर्को विकल्प अपनाउनु पर्ने देखिन्छ ।’ 

उनले छपाई स्थल सहित स्टोरको जानकारी पनि लिइन् । पुस्तक छपाई गरेर राखेको चाङमा फोहर देखे पछि व्यवस्थापनमा कमजोरी भएको टीप्पणी गरिन । 

janak_sumana

‘छपाई गरेर राखेको पुस्तकमा यस्तो फोहर छ । यस्तो किन भयो ?’ उनले कर्मचारीलाई प्रश्न गरिन् । 

उनी कार्यालय समय अघि नै केन्द्रको अनुगमनमा जाँदा छपाई र बाइण्डिङ्को काम चलिरहेको थियो । 

binding

केन्द्रले अहिले लिएको तीन साताको योजनालाई आधामा झार्नु पर्ने मन्त्री श्रेष्ठले बताईन् । काम गर्न परेको समस्या र समाधान कसरी गर्ने योजना ल्याउन वा आफुलाई इमेल गर्न उनले कर्मचारीलाई निर्देशन दिईन् । 

सरकारले पाठ्यपुस्तकको लागि आवश्यक पर्ने रकम विद्यालयमा नपठाई केन्द्रलाई दिने व्यवस्था गरिदिन केन्द्रका कर्मचारीले मन्त्रीलाई आग्रह गरे ।

कक्षा १ देखि पाँच सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा सरकारले निजी क्षेत्रलाई दिएको छ । 

‘निजी प्रकाशनको पोहरको स्टक छ भन्ने जानकारी आएको छ । त्यसैले हामीले कम छापेका छौ,’केन्द्रका म्यानेजर तिलबहादुर अधिकारीले भने,‘निजीले छापेको छैन भने हामी छाप्न तयार छौँ ।’

प्रतिक्रिया