Edukhabar
सोमबार, १७ बैशाख २०८१
खबर/फिचर

विद्यार्थीले 'पार्ट टाइम' काम गर्न पाउने नीतिका पक्षमा सांसद

नेपालमा पढ्न आउने विद्यार्थीलाई झण्झटिलो भिसा प्रक्रिया सच्याएर अनलाइनबाटै स्टडी भिसाको अप्लाई गर्ने व्यवस्था गर्न सुझाव

सोमबार, ०५ चैत्र २०८०

काठमाडौं - विद्यार्थीले पढ्दै पार्ट टाइम काम गर्न पाउने नीतिका पक्षमा संसदमा आवाज उठेको छ । संसदमा शुरु भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलका क्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतमले विदेशमा पार्ट टाइम काम गर्दैै पढ्ने व्यवस्था भए पनि नेपालमा नभएको भन्दै यस्तो व्यवस्था राख्न सरकारलाई सुझाव दिइन । 

‘विदेशमा विश्वविद्यालय पढ्दै आफुलाई पुग्ने ट्युसन फि देखि जिविकोपार्जन खर्चसम्म ब्यवस्थापन गर्न सक्छन् तर नेपालमा  आमा बुवासंग निर्भर हुनु पर्ने वा बुवाआमाको आर्थिक अवस्था कमजोर भए पढाइ छोडेर काम नै गरेर बस्नुपर्ने वाध्यता छ’ उनले भनिन् ‘त्यस माथि महिना भर काम गर्दा नेपालका धेरै व्यवसायिक संस्थाले सरकारले तोकेको न्युनतम तलबसम्म पनि दिँदैनन् ।  महिना भरि काम गर्यो ८/१० हजार कमाइ त्यहि पनि साहुले बेलामा नदिने अनि युवा यस्तो परिस्थितिमा कसरि बाँच्ने ?’ 

नेपालका युवाहरु आर्थिक हिसावले आत्मनिर्भर हुन चाहे पनि सरकारले वातावरण बनाउन नसकेको उनले बताइन । ‘कलेज फि देखि, आफ्नो आधारभूत आवश्यकता आँफै धान्न चाहन्छ ।  विदेशमा पार्ट टाइम काम गरेर पनि सबै पुर्याउन सकिन्छ, नेपालमा चै पार्ट टाइम जब गर्न किन नपाउने ? नेपालमा पार्ट टाइम जब लागु गर्ने नीतिलाई प्राथमिकतामा राखियोस्’ उनले भनिन् ।

विदेशबाट नेपालमा अध्ययन गर्न आउने विद्यार्थीलाई भिसा प्रक्रिया झण्झटिलो भएकोले अनलाइनबाटै एप्लाई गर्ने व्यवस्था राख्नु पर्ने उनले माग गरिन् । नेपालबाट विदेश अध्ययन गर्न दैनिक एक हजार भन्दा बढीले अध्ययन अनुमति पत्र लिने गरे पनि नेपालमा विदेशी विद्यार्थी ल्याउन नसकेको भन्दै आलोचना भइरहेको छ । विदेशी विद्यार्थीलाई नेपालमा ल्याउन भिसा प्रक्रियामै सुधार गर्नु पर्ने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतमले बताइन । 

‘नेपाललाई शैक्षिक हब बनाउन सकिन्छ । माउण्टेनरिंग, बुद्धिजम, संस्कृति, हाइड्रो, हाइ अल्टिचुटका स्र्पोर्टका साथै मेडिकल शिक्षा पढ्न आउने विद्यार्थीको सम्भावना पनि उतिकै छ,’ उनले भनिन् ‘नेपालमा पढ्न आउने विद्यार्थीले पहिला आउँदा भिजिट भिजामा आउने अनि आएर कलेज भर्ना भए पछि शिक्षा मन्त्रालयको सिफारिस पाए पछि स्टडी भिसा दिने रहेछ । संसार भरि नेपाली पढ्न जाँदा पढ्न जानेले विद्यार्थी भिसा लिन्छन्, नेपालमा चैँ यो तरिका अलि मिलेको छैन, अनलाइन बाटै स्टडी भिसा अप्लाई गर्ने व्यवस्था हुनु पर्छ ।’ 

नेपालमा पढाई हुने पढाईको अन्तराष्ट्रिय स्तरमा विज्ञापन गर्नु पर्ने उनले बताइन् । 

प्रतिक्रिया