Edukhabar
आइतबार, १६ बैशाख २०८१
खबर/फिचर

नियुक्तिको प्रकृया शुरु, सात दिन भित्र आवेदन माग

छनोटका लागि अन्तर्वार्ता गर्ने की के गर्ने भन्ने यकिन चाँही भएको छैन ।

मंगलबार, ०६ चैत्र २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको खाली रहेको शिक्षाध्यक्ष र रजिष्ट्रार नियुक्तिको प्रकृया शुरु भएको छ । सात दिन भित्र उपकुलपतिको अफिसियल ईमेलमा बायोडाटा पठाउन विश्वविद्यालयले सूचना जारी गरेको छ । 

त्रिवि सेवा ऐन २०४९ को १९ १ मा भएको व्यवस्था अनुसार शिक्षाध्यक्ष र २० १ मा भएको व्यवस्था अनुसार रजिष्ट्रार पदमा कार्य गर्न ईच्छुक प्राध्यापकहरुलाई वायोडाटा पठाउन सूचना गरिएको छ । योग्य व्यक्ति छनोट गर्ने गरी उक्त सूचना जारी गरिएको उपकुलपति प्रा.डा. केशरजंग बरालले बताए । 

'दुबै पदमा प्राध्यापकको नियुक्ति गर्ने तय भएको छ, योग्य व्यक्ति छनोट गर्ने गरी ईच्छुक प्राध्यापकहरुको वायोडाटा मागिएको हो' बरालले भने 'छनोटका लागि अन्तर्वार्ता गर्ने की के गर्ने भन्ने यकिन चाँही भएको छैन ।' 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले २०७६ पुष ११ गते प्रा. डा. पेशल दाहाललाई रजिष्ट्रार र चैत ६ गते प्रा.डा. शिवलाल भुषाललाई शिक्षाध्यक्ष (रेक्टर) मा नियुक्त गरेको थियो । त्यस अघि सोही सरकारकै पालामा कात्तिक १७ गते उपकुलपतिमा प्रा.डा. धर्मकान्त बाँस्कोटाको नियुक्ति भएको थियो । बाँस्कोटाको कार्यकाल सकिए पछि शिक्षाध्यक्ष भुषाललाई कात्तिक २० गते तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी दिईएको थियो । पहिलो तीन महिनामा नयाँ उपकुलपति छनोट हुन नसकेपछि दोश्रो पटक फेरी तीन महिनाकै लागि भुषाललाई नै जिम्मेवारी दिईएको थियो । 

खाली भएको झण्डै चार महिना पछि गत फागुन १० गते बराललाई उपकुलपतिमा नियुक्त गरिएको थियो । आफ्नो नियुक्तिसंगै बरालले विश्वविद्यालयलार्ए पुनःसरंचना गर्ने प्रतिवद्धता जनाएका थिए । उनको उक्त प्रतिवद्धता पुरा हुने नहुने विषय शिक्षाध्यक्ष र रजिष्ट्रार नियुक्तिको प्रकृयाले पनि निर्धारण गर्ने छ । 

प्रतिक्रिया