Edukhabar
शनिबार, २९ बैशाख २०८१
खबर/फिचर

खाली भएको झण्डै चार महिना पछि त्रिविले पायो उपकुलपति

नयाँ उपकुलपतिले गरे पदभार ग्रहण, विश्वविद्यालयलाई पुुनःसरंचना गर्ने प्रतिवद्धता

शुक्रबार, ११ फागुन २०८०

काठमाडौं - खाली भएको झण्डै चार महिना पछि त्रिभुवन विश्वविद्यालयले नयाँ उपकुलपति पाएको छ । प्रा.डा. केशरजंग बरालले शुक्रबार पदभार ग्रहण गरेसँगै विश्वविद्यालयले नयाँ उपकुलपति पाएको हो । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बराललाई नियुक्ति गर्ने निर्णय गरेका थिए । शुक्रबार नियुक्ति पत्र बुझेसँगै कीर्तिपुर स्थित उपकुलपतिको कार्यालयमा आयोजित एक कार्यक्रममा निमित्त उपकुलपति शिवलाल भुसालले उनलाई पदभार ग्रहण गराए ।

पदभार ग्रहण गरे लगत्तै बरालले विश्वविद्यालयलाई पुुनःसरंचना गर्ने प्रतिवद्धता जनाएका छन् । विश्वविद्यालयले तत्काल भोगिरहेको चुनौतीको समाधान गर्न उपयुक्त शैक्षिक क्यालेण्डर बनाई लागु गर्ने, मानविकी तथा शिक्षाशास्त्र संकायलाई पुर्नजिवित गर्ने, स्थानीय ज्ञान र सिपलाई प्रवर्धन गर्ने, उच्च शिक्षामा राज्य र अविभावकले गरेको लगानीको प्रभावकारीता अभिवृद्धि गर्ने समेत उनको प्रतिवद्धता छ । त्रिविलाई व्यवस्थित र अनुकरणीय शैक्षिक संस्थाको रुपमा विकसित गर्ने आफ्नो योजनालाई सफल पार्न विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीको सहयोग प्राप्त हुने उनले अपेक्षा गरेका छन् । 

चार बर्षे कार्यकालका लागि नियुक्त भएका बरालसँगको भिडियो अन्तर्वार्ता यहाँबाट सुन्नुहोस् : राजनीतिक हस्तक्षेप भए सुुधार्न सकिदैन : त्रिवि उपकुलपति बराल (भिडियो अन्तर्वार्ता)

धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली थियो । नयाँ नियुक्ति नभएसम्मका लागि शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी तोकिएको थियो । पहिलो पटक तीन महिनाका लागि तोकिएको समयमा पनि नयाँ उपकुलपति नियुक्ति नभए पछि दोश्रो पटक पुनः थप गरिएको थियो । 

उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न शिक्षा मन्त्री अशोक कुमार राई संयोजकत्वमा छनोट समिति बनाईएको थियो । तोकिएको समयमा आवेदन दिएका ४३ जना मध्येबाट १४ जना सर्टलिष्टमा परेका थिए । ती मध्ये तीन जनाको नाम सिफारिस गरिएकोमा प्रधानमन्त्री दाहालले बराललाई चयन गरेका हुन् । 

व्यवस्थापन संकायका प्राध्यापक बरालका बारेमा थप जान्नुहोस् : को हुन त्रिविका उपकुलपति बराल ?

फोटो : त्रिवि 

प्रतिक्रिया