Edukhabar
सोमबार, ३१ बैशाख २०८१
खबर/फिचर

को हुन त्रिविका उपकुलपति बराल ?

पाल्पा कुवाडीका ६५ वर्षीय बरालले त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

विहीबार, १० फागुन २०८०

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयमा बिहीबार नियुक्त भएका २० औं उपकुलपति केशरजंग बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन् । २०४० मा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर बाट उपप्राध्यापकका रुपमा अध्यापन सुरु गरेका बराल ०६४ मा पोखरा विश्वविद्यालयका उपकुलपति भएका थिए  । पोखरा व्विविद्यालयको उपकुलपतिको कार्यकाल सकिए पछि उनले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापक भएर काम गरेका थिए ।  

पाल्पा कुवाडीका ६५ वर्षीय बरालले त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । 

वित्तीय संस्था र बजारका विज्ञ उनले महेन्द्र विद्या भूषण पदक ‘क’ पाएका छन् । त्यस्तै राष्ट्रिय शिक्षा पुरस्कार पनि पाएका छन् । उनी अमेरिकी वित्त संघको सदस्य पनि भए । एसियाली विकास बैंकको परामर्शदाता, पाठ्यक्रम विकास उपसमितिको संयोजक र नेपाल खुला विश्वविद्यालयको रणनीति योजना तर्जुमा उपसमितिको सदस्य समेत थिए । अमेरिकन एकेडेमी अफ फाइनान्सियल म्यानेजमेन्टको मानार्थ ग्लोबल एडभाइजर पनि हुन् । 

पोखरा विश्वविद्यालयको उपकुलपति हुँदा उनले भाडाको भवनबाट सबै शैक्षिक कार्यक्रमहरू लेखनाथ नगरपालिकामा आफ्नै शैक्षिक कम्प्लेक्समा सारेका थिए । गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, सरकारको नीति अनुरूप विश्वविद्यालयको रणनीतिक योजना परिमार्जन गरी गन्तव्य तय गरेको उनको दावी छ । विश्वविद्यालयको राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र शैक्षिक कार्यक्रमहरू विस्तार गरेर भौतिक, शैक्षिक र पूर्वाधारको विकास गरेको उनले बताए । 

२३ वटा सम्बन्धन प्राप्त कलेजलाई बढाएर उनले ५४ मा पु‍र्याएका थिए । नर्सिङ, स्नातक तहको इलेक्ट्रिकल, इलेक्ट्रोनिक इञ्जिनियरिङ जस्ता शैक्षिक कार्यक्रम उनले सुरु गरेका थिए । फर्मास्युटिकल साइन्स, मेडिकल ल्याब टेक्नोलोजी र नर्सिङ अध्यापन उनकै पालामा सुरु भएको हो । 

सम्बन्धन बिस्तार र स्केल भन्दा बढी तलब खुवाएको भन्दै उनी माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा पनि चलाएको थियो । उक्त मुद्दामा विशेष अदालतले पोखरा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र पदाधिकारी सहित २४ जनालाई सफाइ दिने फैसला गरिसकेको छ । 

प्रतिक्रिया