Edukhabar
आइतबार, ३० बैशाख २०८१
खबर/फिचर

त्रिविको उपकुलपतिमा बराल

सिफारिस तीन जना मध्ये दुई जनाबाट कसलाई उपकुलपति बनाउने भन्ने बारेमा सत्ताधारी दल माओवादी भित्रै बढेको मतभेदको बिचमा अन्ततः बरालको नियुक्ति, बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन् ।

विहीबार, १० फागुन २०८०

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको लामो कसरत पछि बराललाई नियुक्त गरिएको हो । बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन् । 

विश्वविद्यालयको उपकुलपति छनोट समितिले आइतबार पहिलो नम्बरमा प्रा.डा. चित्रबहादुर बुढाथोकी, दोस्रोमा बराल र तेस्रो नम्बरमा प्रा.डा. टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।  

दाहालले यी तीन मध्ये कसलाई बनाउने भन्ने निर्णय गर्न ५ दिन लगाएका हुन् । बुढाथोकी र बराल दुवै माओवादी समर्थित भए पनि कसलाई बनाउने भन्नेमा पार्टी भित्रै विवाद भएपछि नियुक्ति गर्न ढिलाइ भएको स्रोतले जनाएको छ । माओवादी नेता वर्षमान पुन, देवेन्द्र पौडेल बुढाथोकीलाई उपकुलपति बनाउनु पर्ने पक्षमा थिए भने प्रधानमन्त्री दाहाल बरालको पक्षमा थिए । 

उपकुलपति पदमा नियुक्तिको विज्ञापनमा ४३ जनाले आवेदन दिएका थिए। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा रहेको छनौट समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य थिए । समितिले १४ जनाको सर्टलिष्ट निकालेको थियो । ४ वर्षीय कार्य योजना, अन्तर्वार्ताको आधारमा तीन जनाको नाम उपकुलपतिको लागि सिफारिस गरिएको थियो । 

धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ ।

प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा योग्य व्यक्ति छनौट गर्ने घोषणा गरे पनि मापदण्ड खुकुलो बनाइएको भन्दै विरोध भए पछि पहिलाको सूचना रद्द गरी फेरी प्रक्रिया सुरु गरिएको थियो । 

 

प्रतिक्रिया