Edukhabar
आइतबार, ३० बैशाख २०८१
खबर/फिचर

त्रिवि उपकुलपतिको सर्टलिष्टमा परेका को हुन् ?

बौद्धिक चोरीमा आरोपित, राष्ट्रिय सूचना आयोगले जरिवाना गरेका व्यक्ति पनि शिक्षामन्त्री संयोजक रहेको छनौट समितिले सार्वजनिक गरेको उपकुलपतिको सर्टलिष्टमा अटाएका छन् ।

शुक्रबार, २६ माघ २०८०

काठमाडौं-त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिको लागि नाम सिफारिस गर्न गठित  समितिले बिहीबार राती अबेर गरी  १४ जनाको नाम सार्वजनिक गरेको छ । उपकुलपतिको लागि भएको खुला विज्ञापनमा ४३ जनाले दर्खास्त दिएकोमा १५ जनाको नाम सर्टलिट गर्नु पर्नेमा १४ जनाको मात्रै नाम समावेश छ ।

उपकुलपति छनौट कार्यविधिमा १५ जना गर्ने भनिए पनि १४ जना मात्रै योग्य भएको एक सदस्यले बताए ।

सर्टलिष्ट हुनेमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. तीर्थ खनियाँ पनि परेका छन् । खनियाँले २००४ मा इन्टरनेट टीएइसएल जर्नलमा लेखेको ‘इएफएल कक्षा कोठामा प्रामाणिक सामग्रीको प्रयोग’ शीर्षकको लेखको अन्तिम भागमा फेरिट किलिक्कियाको लेखबाट हुबहु कपी पेस्ट गरेको समाचार दि हिमालयन टाइम्समा रुद्र पंगेनीले लेखेका थिए । सन्दर्भ सामग्रीको उल्लेख नगरी आफ्नो लेख तयार पारेको भन्दै बौद्धिक चोरीको आरोप लागेका खनियाँको नाम सर्टलिष्टमा अटाएको हो । यसअघि उपकुलपति हुँदा नै सम्बन्धन दिँदा विवादमा परेका उनको नाम उपकुलपतिको सर्टलिष्टमा अटाएपछि सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । 

rudra

रास्वपाका सांसद सुमना श्रेष्ठले माघ १६ मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर बौद्धिक चोरीमा परेका व्यक्तिलाई समेत उपकुलपति हुने बाटो खुला राखेको भन्दै त्रिविको उपकुलपति छनौट गर्ने कार्यविधि परिमार्जन गर्नु पर्ने भन्दै ध्यानाकर्षण गराएका थिइन । 

उपकुलपतिको उम्मेदवार राजनीतिक दलको सदस्य लिएको हुन नहुने भनिए पनि उनी माथि ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई हराएको भन्दै पार्टीमा अन्तर घातको उजुरी समेत परेको थियो । उनी त्यसबेला कांग्रेस महासमिति सदस्य थिए । 

उपकुलपतिको सर्ट लिस्टमा पर्नेमा त्रिवि मानविकी संकायकी डिन कुशुम शाक्य पनि छिन् । ४३ जनाले दर्खास्त दिएकोमा उनी सहित दुई जना महिला थिए । त्यस्तै पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल,त्रिवि कीर्तिपुर क्याम्पसका पूर्व प्रमुख गोविन्द सुवेदी, त्रिवि शिक्षा संकायका डिन चित्र बहादुर बुढाथोकी,त्रिविकै इतिहासका प्राध्यापक  ज्ञानेन्द्र प्रसाद पौड्याल पनि सर्ट लिस्टमा परेका छन् । समितिले सार्वजनिक गरेको लिस्टमा केन्द्रीय गणित विभागका प्रमुख टंकनाथ धमला, पूर्व सह परीक्षा नियन्त्रक नारायण प्रसाद वेलवासे, माइक्रोबाइलोजी विभागका पूर्वप्रमुख प्रकाश घिमिरे, व्यवस्थापन विभागका पूर्व प्रमुख भोजराज अर्याल छन् । त्यस्तै जनसङ्ख्या विषयका प्राध्यापक महेन्द्र प्रसाद शर्मा, रसायन शास्त्र विभागका पूर्व प्रमुख रामचन्द्र बस्नेत,  कार्यवाहक उपकुलपति शिवलाल भुसाल र अर्थशास्त्रका प्राध्यापक सूर्यबहादुर थापा उपकुलपति प्रतिस्पर्धाको सर्ट लिस्टमा अटाएका छन् ।  उपकुलपतिको सर्ट लिस्टमा परेका कार्यवाहक उपकुलपति भुसाल पनि विवादमा मुछिएका छन् । रेक्टर भएको बेला ०७७ मा सूचना लुकाएको आरोपमा उनलाई राष्ट्रिय सूचना आयोगर्ले  ५ हजार जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगको आदेश पालना नगरी मातहतको कार्यालयमाथि जिम्मेवारी पन्छाउन खोजेको, आयोगको आदेश, पत्राचारको बेवास्ता गरी विषयान्तर गर्दै पन्छिन खोजेको आयोगको ठहर छ । आयोगले त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्नातकोत्तर तह भौतिक शास्त्र प्रथम सेमेस्टरको ‘क्वान्टम मेकानिक्स’ विषयको उत्तर पुस्तिका नष्ट गरेका कारण जरिवाना गरेको थियो । 

प्रतिक्रिया