Edukhabar
सोमबार, ३१ बैशाख २०८१
गतिविधि

त्रिविको उपकुलपति नियुक्तिमा माओवादी भित्रै विवाद, छनोटमै चलखेल !

सिफारिस तीन जना मध्ये दुई जनाबाट कसलाई उपकुलपति बनाउने भन्ने बारेमा सत्ताधारी दल माओवादी भित्रै मतभेदले छनोट प्रक्रियामै प्रश्न उब्जिएको छ ।

विहीबार, १० फागुन २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस तीन जना मध्ये दुई जनाबाट कसलाई बनाउने भन्ने बारेमा सत्ताधारी दल माओवादी भित्रै मतभेदले छनोट प्रक्रियामै प्रश्न उब्जिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पाल्पाका केशरजंग बराललाई, वर्षमान पुन र देवेन्द्र पौडेलले बाग्लुङका चित्रबहादुर बुढाथोकीलाई काखी च्यापेपछि छनोटको पारदर्शीतामा प्रश्न उठेको हो । 

सिफारिस समितिले आइतबार पहिलो नम्बरमा बुढाथोकी, दोस्रो नम्बरमा बराल र तेस्रोमा टंकप्रसाद धमलाको नाम सिफारिस गरेको थियो । नाम सिफारिस नहुदासम्म एकले अर्कोलाई च्यापेको खासै गन्ध आएको थिएन । जब नाम प्रधानमन्त्रीकोमा पुग्यो त्यसपछि एकले अर्कोलाई च्याप्ने काम सुरु हुन थाल्यो । तीन जना मध्ये कसले कति नम्बर पाएको समेत बाहिर आउन थाल्यो । नम्बर बाहिर ल्याउनुको एउटै कारण हो–पौडेल र पुनले च्यापेका पहिलो नम्बरका बुढाथोकीलाई कुलपति बनाउने । नम्बर नै बाहिर ल्याएपछि प्रधानमन्त्री बुढाथोकीलाई उपकुलपति बनाउन वाध्य हुन्छन् भन्ने पौडेल र पुनको रणनीति भएको स्रोतले बतायो ।  

यतिसम्म कि उपकुलपतिको नियुक्तिको निर्णयमा दवाव दिन पौडेलले सोमबार सामाजिक सञ्जालमा बधाई समेत दिन भ्याए । गोरखा पत्रकार समाजसंगको मंगलबार बिहानको भेटमा प्रधानमन्त्री दाहालले पौडेलको नामै लिएर हतार गरेको भन्न भ्याए । यसले पनि माओवादीमा उपकुलपति नियुक्तिमा तानातान भएको पुष्टि हुन्छ । 

सिफारिसमा हँुदा पनि माओवादीका बुढाथोकी र बराल पर्नु र स्वतन्त्र छविका धमला मात्रै पर्दा पनि छनोटमा आशंका गरिएको थियो । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले विश्वविद्यालयको उकुलपतिमा ३ जनाको नाम सिफारिसमा असन्तुष्टि जनाएका थिए । असफल सिद्ध व्यक्तिलाई उपकुलपति सिफारिस गरेको उनको आरोप थियो । 

सत्ताधारी अर्को दल नेपाली कांग्रेस महामन्त्री गगन थापाले उपकुलपति नियुक्तिमा खराब नियत राखेको आरोप लगाएका छन् । प्रधानमन्त्री दाहालले खुला प्रतिष्पर्धाबाट नियुक्ति गरेको छ भन्ने देखाएर सबैलाई झुक्याएको उनको आरोप छ । खुला प्रतिष्पर्धा गरेको भनिए पनि नियत भागवण्डाकै राखिएको उनले आरोप लगाएका छन् । 

तीन जनाको नाम सिफारिस भएकै दिन ओली र दाहालले दिएको अभिव्यक्तिलाई उपकुलपति नियुक्तिमा माओवादी भित्र देखिएको विवादले पुष्टि गर्दै लगेको छ । पौडेल र पुन निकटका व्यक्तिहरुले बरालले बिगतमा गरेका अनियमितताको कुरा बाहिर ल्याएर खुईल्याउन थालेका छन् भने प्रधानमन्त्री निकटले बुढाथोकीको कर्तुत छताछुल्ल पार्न लागेका छन् । माओवादी भित्रै उपकुलपति कसलाई बनाउने भन्ने सस्साकस्सी चलेको छ । यतिसम्म कि यी दुई समूहले त्रिविका माओवादी समर्थित प्राध्यापकहरुलाई उचालेर एकले अर्कोको बिरोध गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने सम्म गर्न भ्याइसके । 

सिफारिस समितिले पहिलो नम्बरमा पार्न बुढाथोकीलाई अस्वाभाविक रूपमा सबैभन्दा बढी अंक दिएको आरोप समेत लागेको छ । बुढाथोकीलाई प्रस्तुतीकरणमा अस्वभाविक नम्बर दिएको समेत सार्वजनिक हुन थालेको छ ।  
कान्तिपुरका पत्रकार सुदिप कैनीले बुढाथोकीलाई प्रस्तुतीकरणमा दिएको नम्बर सार्वजनिक गरेका हुन् । बुढाथोकीलाई २० पूर्णाङ्कको प्रस्तुतीकरणमा १८ नम्बर दिएको उनको समाचारमा उल्लेख छ । त्यस्तै व्यक्तिगत विवरण, कार्ययोजना र सोचपत्रको मूल्यांकनमा उनी भन्दा बढी अंक पाएका केही प्रतिस्पर्धीलाई भने ७ अंक मात्र दिएर बुढाथोकीलाई ३ जनामध्ये उत्कृष्टमा पारेको विवरण माओवादीले नै सार्वजनिक गरे पछि  छनोट प्रकृया नै देखावटी मात्रै भएको पुष्टि हुदँै गएको छ । 

उपकुलपतिको खुला विज्ञापनमा ४३ जनाले दरखास्त दिएका थिए । 

प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए । प्राध्यापकहरुले प्रस्तुतीकरण र अन्तर्वार्तामा पनि निश्चित व्यक्तिलाई फाइदा पुग्ने गरी क्याम्पसका रिडर राखेकोमा असन्तुष्टि बाहिर आउन थालेको छ । पहिलो नम्बरमा सिफारिस गरेर उपकुलपति नियुक्ति गराउन शिक्षा मन्त्री अशोक कुमार राई र पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले विज्ञ नियुक्तिदेखि नै दवाव दिँदै आएको कान्तिपुरको समाचारमा उल्लेख छ । 

समाचारमा भनिएको छ,‘माओवादी नेता पौडेललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले उपकुलपति नियुक्तिका विषयमा सहजीकरण गर्ने जिम्मा दिएका थिए । राई उपकुलपति छनोट तथा सिफारिस समितिका संयोजक हुन् । बुढाथोकी र माओवादी नेता पौडेलको गृह जिल्ला बाग्लुङका हुन् । बुढाथोकीकी श्रीमती धना थापा र शिक्षा मन्त्री राईले ३० वर्षअघि सँगै राजनीति गरेका थिए । माओवादी केन्द्रका नेता वर्षमान पुनले समेत बुढाथोकीलाई पहिलो नम्बरमा पार्न दवाव दिएका छन् ।’

प्रतिक्रिया