Edukhabar
सोमबार, ०३ बैशाख २०८१
खबर/फिचर

६० वर्षीया आमाको एसईई सम्मको यात्रा

‘छोराछोरी पढाए पछि बल्ल मेरो पढ्ने पालो आयो’

आइतबार, ११ चैत्र २०८०

भक्तपुर - सुमित्रा अधिकारी उमेरले ६ दशकमा टेकिन् । छोरा, बुहारी र नातिनी अष्ट्रेलिया छन् । घरमा श्रीमान, श्रीमती । छोरा पढाएर उच्च शिक्षा अध्ययन गर्न विदेश पठाइन् । उनी पनि दुई पटक अष्ट्रेलिया गइसकिन् । जब उनी विदेश आउजाउ गर्न थालिन् अंग्रेजी भाषा बोल्न नजान्दाको हण्डर नराम्ररी बुझिन् । पहिलो पटक विदेश जाँदा जुन समस्या भोगेकी थिइन्, अर्को पटक जाँदा नहोस भनेर पढ्ने निधो गरिन् । विदेशमा रहेका छोराबुहारी र साथमै रहेका श्रीमानसंग पढ्ने इच्छा देखाइन् । घरबाट पनि रोकतोक भएन उल्टै साथ पाइन् । ५४ वर्षको हुँदा उनी गठ्ठाघर स्थित अस्था महिला विद्यालयमा भर्ना भइन् । सानो छँदा नपाएकी उनले उमेरले ५ दशकबाट उकालो लागेपछि पढ्ने रहर पुरा गरिन् । विद्यालय भर्ना भएको ६ वर्षमै उनले यसपाली १० कक्षाको अन्तिम परीक्षा (एसईई) दिँदै छिन् । 

‘सानो हुँदा पढ्ने रहर यति थियो कि बुबा आमाले भर्ना नगरिदिए पनि भाईको झोला लिएर स्कूल जान्थेँ’ ६० वर्षीया अधिकारीले भनिन्,‘छोरीले पढ्न हुँदैन । छोराले पढे पो पाल्छ भन्ने सोच थियो । छोराछोरी पढाए पछि बल्ल मेरो पढ्ने पालो आयो ।’ 

जुन बेला उनी विद्यालय भर्ना भएकी थिइन् त्यसबेला उनी साँवा अक्षर मात्रै चिन्थिन् । अंग्रेजीको ए बी सी डी समेत ज्ञान थिएन । पछिल्लो ६ वर्षमा सिकेको ज्ञानलाई उनी यसपाली एसईई दिने झण्डै ५ लाख विद्यार्थी बिच प्रतिष्पर्धा गर्दै छिन् । 

‘विद्यालय भर्ना हुँदा जोडिएको र मोडिएको अक्षर पनि चिन्दिन थिएँ । अंग्रेजी त आउने कुरै भएन,’उनले भनिन,‘यसपाली त एसईई दिँदै छु । यो नै मेरो ठुलो उपलब्धी हो । पास गर्छु भनेर पढिरहेको छु । भाग्यले कति साथ दिन्छ ?’ 
उच्च शिक्षा अध्ययन गर्ने धोको रहेको उनले बताइन् । एसईईको तयारी पनि नियमित घर धन्दा भ्याएर गरिरहेको उनले बताइन् । 

‘एकहोरो पढ्न पाइँदैन । घर धन्दा पनि हेर्नै पर्छ,’उनले भनिन्,‘नियमित कक्षा बाहेक घरमा पनि बिहान बेलुका पढिरहेको छु ।’ 

उनीसंग पढ्ने ५५ वर्षीया सरला भण्डारीलाई एसईईको चिन्तासंगै घरमा सासु बिरामी भएपछि अर्को पिरलो थपिएको छ । यत्रो वर्ष दुःख गरी पढेकी उनलाई एसईई पनि पुरा दिन पाउँछु कि पाउँदिन भन्ने चिन्ता थपिएको छ । छोराहरु पढाउँदै आफु पढ्न थालेकी उनले एसईईमा सासु सिकिस्तै बिरामी भएपछि सबै विषयको परीक्षा दिन पाउँला कि नपाउँला भन्ने चिन्ता बढेको हो । 

६० वर्षिय अधिकारी, ५५ वर्षिया भण्डारी जस्तै भक्तपुरको गठ्ठाघरको आस्था महिला विद्यालयबाट यसपाली १२ जना आमाहरुले परीक्षा दिँदै छन् । परीक्षा दिएपछि पास हुनै पर्छ भन्ने त सबैलाई हुन्छ नै तर आस्थामा पढ्ने विद्यार्थीलाई आफु १० कक्षाको अन्तिम परीक्षा दिन योग्य भएकोमै गर्व छ । उनीहरु यतिसम्म हिम्मतिला भएका छन् कि पास हुन आवश्यक पर्ने २७ नम्बर त जसरी नि ल्याइहाल्छु नि । 
‘घरको काम भ्याएर पनि मिहनेत साथ उहाँहरुले परीक्षाको तयारी गर्नु भएको छ,’विद्यालयका प्रधानाध्यापक बिना देउजाले भनिन्,‘कखरा देखि  हात समाएर भए पनि अक्षर लेख्न सिकाउँदै एसईई दिन योग्य बनाउँदा हामी पनि खुसी छौँ ।’ 

पढाई प्रतिको मोह कति छ भन्ने बुझ्न  ३८ बर्षिया कुमारी तामाङका कुरा सुन्नु पर्छ । उनी दैनिक ३२ किलोमिटर टाढा आशापुरीबाट गठ्ठाघर ओहोरदोहोर गर्छिन् । अरनिको राजमार्ग साँगासम्म भाडाको गाडीमा आउजाउ गर्छिन् भने साँगाबाट आशापुरीसम्म कहिले हिँडेर कहिले अरुसंग लिफ्ट मागेर घर पुग्छिन् । घरबाट स्कूल आउँदा भने छोराछोरीको स्कूल बसमा साँगासम्म झर्छिन् । ६ वर्षअघि आस्था महिला विद्यालय भर्ना भएकी उनले पनि यसपाली १० कक्षाको अन्तिम परीक्षा दिँदै छन् । श्रीमानको राम्ररी साथ नपाए पनि ससुरा, देवर देउरानीको आड भरोसाले उनले पढाई निरन्तर लैजान सकेकी छिन् । विद्यालयबाट कक्षा सकेर घर पुग्न कहिलेकाही ढिलो हुदा छोराछोरी भुलाइदिएर देवर देउरानीले सहयोग गरेको उनले बताइन् । 

आस्था महिला विद्यालयमा भर्ना भएकी ३८ वर्षिया मनिका अधिकारीको कथा अझ रोचक छ । उनले काठमाडौं उपत्यकाको कुनै एक विद्यालयमा जागिर सुरु गरिन् । हाजिर कापीमा उनको नाम अंग्रेजीमा लेखिएको थियो । अब आफ्नो नाम दिनहुँ खोजेर हस्ताक्षर गर्नु पर्ने भयो । मनिकाले जागिर पाउँदा जति खुसी थिइन्, हाजिर गर्नु पर्दा उनको लागि पहाड खसे जस्तो भयो । उनले आफ्नो नाम भएको हाजिर कापीको पान भेटाउनै सकिनन् । उनले के योजना बनाइन् भने अब पढ्छु । 

‘हाजिर कापीमा इङ्लिसमा लेखेको नाम नै भेटिएन । त्यही झोँकमा स्कूल खोजेर पढ्न थालेँ,’उनले भनिन् ‘भर्ना हुनु अघि सम्म नेपाली अक्षर अलिअलि आउँथ्यो । जोडिएको अक्षर पढ्न सक्दिनथेँ । ६ वर्ष पढेँ यसवर्ष त एसईई दिँदै छु ।’ 

उनको एउटा छोराले १२ कक्षा सकाए, अर्को १२ पढ्दै छन् ।

बिष्णु बर्मीले पनि अंग्रेजी अक्षर लेख्न नजानेकै कारण पढाई सुरु गरेकी हुन् । छोरालाई स्कूल छाड्दा होस् वा लिन जाँदा अंग्रेजीमा नाम लेख्नु पर्ने उनले भोगेकी वाध्यताबाट उन्मुक्ति पाउन विद्यालय भर्ना भएकी हुन् । साँवा अक्षर मात्रै जानेकी उनी विद्यालय भर्ना भएको आठ वर्षमा एसईई दिन योग्य भएकी हुन् । 

‘अब त जे गर्न पनि आँट आउन थालेको छ,’उनले भनिन् । 

उनको एक छोरी नर्स पढ्दै छन् भने एउटा छोरा आइटी पढ्दै छन् । 

‘म पनि घरको बुहारी विद्यार्थी भँए । गाडीको नम्बर मात्रै होइन संसार बुझ्न सक्ने भएँ’ उनले भनिन । 

उनकै सहपाठी हुन् भक्तपुर बालकोट बस्ने ५० बर्षिया शोभा राई । सानोमा पढ्न नपाए पछि उनी पनि आस्थामा भर्ना भएकी थिइन् । तीन छोरी र एक छोरा मध्ये कान्छो छोरा नै ११ कक्षामा पढछन् । तीनै छोरी विदेशमा छन् । छोराछोरी हुर्काएर पढ्न थाले पनि जागिर खानको लागि नभई साँवा अक्षर चिन्ने र अंग्रेजीमा अरुले भनेको कम्तीमा बुझ्न सकियोस् भन्ने उनको इच्छा थियो । 

‘लेखपढ गर्न मात्रै जान्छु भन्ने थियो । घरमा त्यतिकै बस्ने समयको सदुपयोग मात्रै गरेको थिएँ एसईई नै दिँदैछु’ उनले भनिन,‘साह्रै खुसी लागेको छ ।’ बुढेसकालको पढाई बच्चाको जस्तो नहुने उनको बुझाई छ । घरको काम गरेर मात्रै पढ्नु पर्ने भएकोले एकहोरो पढ्न नपाइने उनले बताइन । 

aasta_3‘घर धन्दा गर्नै पर्छ । बच्चा भएको भए पो पढेको पढ्यै गर्न पाइन्थ्यो ।’ 

'दुई चार घण्टा त घरको काम गर्दै बित्छ । यो उमेरमा जति पढे पनि सम्झना नहुने रहेछ,’उनले भनिन्,‘एउटै प्रश्न धेरै पटक पढ्दा पनि सम्झन सकिँदैन । पढ्न गाह्रो हुँदो रहेछ । छोडौँ नि यत्रो वर्ष पढिसकेँ ।’ 

आफुले पढिरहेको कुरा छिमेकीलाई समेत थाहा भएकोले फेल हुँदा अब त इज्जतको सवाल पनि जोडिएकोले जसरी पनि पास हुने गरी पढिरहेको उनले बताइन् । 

‘फेल हुँदा छिमेकीले के भन्लान् भन्ने छ । छिमेकीले यो उमेरमा किन पढ्न गएको भनेको सम्झन्छु,’उनले भनिन्,‘फेल भइयो भने त आएको र गएको केही उपलब्धी नै हुँदैन ।’  

यसपाली हरेक विषयमा २७ नम्बर ल्याउनु पर्ने व्यवस्था लागू हुँदैछ । २७ नम्बर त कसो नआउला ? भन्ने उनी सोच्छिन तर, जब मोडल प्रश्न अभ्यास गर्छिन, विद्यालयमा शिक्षकले दिएको प्रश्न लेख्न बस्दा चाँहि सकिदैन कि भन्ने हरेस खान्छिन् । 

उनी भन्छिन् ‘पढ्न त गाह्रो हुँदो रहेछ । साथीसंग पनि भेट्ने, घरमा मात्रै किन बस्नु भनेर आइयो, अहिले त पहिला नै छोड्नु पर्ने रहेछ जस्तो पो लाग्यो ।’ 

छोराले भर्ना गरिएकी कृष्णमाया 

थिमीकी ४५ बर्षिया कृष्णमाया तकोले पनि यसपाली एसईई दिँदै छन् । सानोमा भाई बहिनी हुर्काउनकै लािग पढ्न नपाएकी उनले छोराछोरी हुर्काइन, उनीहरुको पढाई प्लस टु भन्दा अघि बढाए पछि  आफु पढ्न थालिन् ।  दुई छोरा मध्ये एउटा छोराले स्नातकोत्तर पढ्दै छन् । अर्कोले स्नातक । उनीहरुले आमालाई पढाउन आस्थामा भर्ना गरिदिएका हुन् । 

‘हाम्रो लागि कति गर्नुहुन्छ भनेर पढ्न पठाएको हो । छोरालाई पढाउँदा मैले बेलैमा सुत्ने होइन, पढ्नु पर्छ भन्थेँ,’उनले भनिन्,‘ अहिले उनीहरुले नै पढ्नु पर्छ सुत्ने होइन भन्छन् । इक्ज्यामको बेला पनि मोइबाईल चलाउने होइन पढ्नु पर्छ भन्छन् ।’ 

aasta_1दैनिक खेतीको काम गर्ने उनी दिनभरी विद्यालय आउँछिन बिहान बेलुकी मात्रै घरको काममा सघाउँ छिन् । 

‘पहिला कहाँ कसरी बोल्नु पर्छ भन्ने थाहा थिएन । कसैको अगाडि उभिएर बोल्दा पनि बिग्रन्छ कि जस्तो लाग्थ्यो,’उनले भनिन् ‘बोल्दा पनि नेवारी टोन आउँथ्यो । बोल्नै डर लाग्थ्यो । एसईई दिन पाउँदा यति खुसी छु कि कुरै नगरौँ । म पनि एसईई दिने हो भन्ने छ ।’ 

एउटा छोरा बैंकर, अर्को विदेशमा 

अरु जस्तै ५२ बर्षिया भवानी भुजेलले पनि छोराछोरीलाई पढाएर जागिर लगाए पछि पढ्न थालेकी थिइन् । उनको एउटा छोराले स्नातकोत्तर सकाए । अर्कोले गर्दै छन् । छोरीले स्नातक सकाईन् । एउटा छोरा अष्ट्रलिया छन् । अर्को नेपालकै एक बैँकमा जागिरे छन् । 

उनले यही विद्यालयबाट कखरा सिकेकी हुन् ।

‘यहाँ आउँदा नाम लेख्न पनि जानेको थिइन । पछिल्लो ६ वर्षमा यति मिहेनत गरेँ कि घरको काम भ्याएर पढेँ,’उनले भनिन् ‘उमेरले गर्दा होला दिमागमा बस्न चाँहि गाह्रो हुन्छ ।’ 
 

आमाछोरी संगै 

३१ वर्षीया राधिका खाती आस्था महिला विद्यालयबाट एसईई दिँदै छन् भने उनकी १५ बर्षिया छोरी जेनिसा सुर्यविनायकको दधिकोट स्थित मोर्डन स्कुलबाट । १४ वर्षको उमेरमा विवाह भएको उनी घरमा आमा छोरी मात्रै होइन साथी पनि हुन् । एकले अर्कोलाई सिकाउँछन् । घरमा पनि सघाउँछन् । 

‘मलाई नआएको उसले सिकाउँछे, उसलाई नआएको म सिकाउँछु,’राधिकाले भनिन् । 

आमा छोरीकै परीक्षा भएपछि राधिकाको श्रीमानले घरको काममा सघाउने गरेका छन् । छोरी स्कूल पठाएर घर धन्दा भ्याएर उनी पनि पढ्न जान्थिन् । 

‘पहिले पढ्ने उमेरमा रहर लाग्दा पनि पढ्न पाइन । छोराछोरी विद्यालय जान थालेपछि भने मेरो पढ्ने रहर पुरा गर्दै छु,’उनले भनिन् । 

उनी आस्थामा कक्षा आठ देखि पढ्न थालेकी विद्यार्थी हुन् ।

प्रतिक्रिया