Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

सेण्ट जेभियर्स र मेरिजमा भर्ना भनसुनमा नभई पारदर्शी बनाउन शिक्षामन्त्रीको निर्देशन

मन्त्रीको कोटामा आफ्नो सन्तानको नाम निकालिदिन शिक्षा मन्त्री सुमना श्रेष्ठलाई फोन आएपछि विद्यालय सञ्चालकलाई बोलाएर भनसुनको आधारमा भर्ना नगर्न निर्देशन दिएकी हुन् ।

बुधबार, १४ चैत्र २०८०

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यार्थी भर्नाको लागि भनसुन आएपछि केही विद्यालयलाई भर्ना प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएकी छन् ।

बुढानीलकण्ठ, सेण्ट जेभियर्स र सेण्ट मेरिज स्कुलमा भर्नाको लागि भनसुन आएपछि यसलाई रोक्न मन्त्री श्रेष्ठले विद्यालयका प्रधानाध्यापकसंग बुधवार छलफल गरेकी हुन् ।

‘मलाई अत्यधिक फोन कल आउन थाले, राती पनि जेभियर्समा भर्ना गरिदिनु, तपाईँको कोटा हुन्छ भनेर कल आएपछि यस्तो पनि हुन्छ ? भनेर अचम्म लागे पछि सचिवज्यूलाई सोधेँ,’मन्त्री श्रेष्ठले भनिन,‘कुनै कोटा भएको त हुँदो रहेनछ । भनसुनको विकृति हटाउनु पर्छ भनेर विद्यालयका प्रध्यानाध्यपाकसंग छलफल गरेको हो ।’

शक्ति र पहुँच भएकाले मात्र यी विद्यालयमा पढ्न पाउने भन्दा पनि पारदर्शी बनाउन निर्देशन दिएको उनले बताइन । 

विद्यार्थी भर्नाको नाममा लिइने प्रवेश परीक्षामा अनुत्तीर्ण गराएर  विद्यार्थीलाई तनाव दिन नहुने उनले बताइन ।

‘विद्यार्थी भर्नामा ठुलाबडाको कोटा हुन्छ भन्ने जनमानसमा परेकोले यो सोचलाई चिरेर समाजको विश्वास जित्नु आवश्यक छ,’उनले भनिन ।  

बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले विद्यालय शिक्षाका लागि स्थानीय सरकारले बनाएका नीति नियमको कडाइका साथ पालना गर्न सहभागी विद्यालयहरूलाई निर्देशन दिए । बैठकमा सेण्ट जेभियर स्कुलका प्रतिनिधिले आफ्नो विद्यालयमा भनसुनको आधारमा भर्ना गर्ने प्रक्रिया नभएको बताएका छन् । स्थानीय तहले गोला प्रथाबाट भर्ना गर्न अनुरोध गरेको र नयाँ भर्ना पारदर्शी रहेको बैठकमा जानकारी गराएका छन् । सेण्ट मेरिजका प्रतिनिधिले भर्नाको  बेला ट्राफिक प्रहरीदेखि सिडिओसम्मको दबाब आउने गरेको मन्त्रीलाई जानकारी गराएका छन् । 

बैठकमा बुढानीलकण्ठ स्कुलका प्रतिनिधिले आफ्नो विद्यालय मन्त्रालयकै मातहतमा सञ्चालन रहेकोले छात्रवृत्ति र कोटा निर्धारण मन्त्रालयबाटै हुने भएकोले पारदर्शी रहेका बताएका छन् । भर्नाको लागि प्रधानमन्त्रीकै तहबाट पनि विगतमा भर्नाका लागि दबाब आउने गरेको भए पनि पारदर्शी हुने गरेको विद्यालयका प्रतिनिधिले मन्त्रीलाई जानकारी गराएका छन् । 

प्रतिक्रिया