Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

दुई नयाँ नियुक्तिका लागि २१ जनाको दर्खास्त

पछिल्लो पटक थप गरिएको समयमा थप दुई, दुई जनाले दर्खास्त दिएका छन् ।

शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं - मध्यपश्चिम र सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा २१ जनाको दर्खास्त परेको छ । उपकुलपति छनोट समितिका अनुसार मध्यपश्चिम विश्वविद्यालयमा ११ र सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १० जनाले दर्खास्त दिएका छन् । 

दर्खास्त दिनेमा मध्यपश्चिमका लागि निमित्त उपकुलपति केशर सिंह राना, पुर्व उपकुलपति नन्दवहादुर सिंह सहित सीपी रिजाल, कवी पोखरेल, शोभाकर पौडेल, शोभाकर गौतम, यमबहादुर कार्की, दीपेन्द्र खड्का लगायतका छन् । यस्तै सुदुरपश्चिममा रजिष्ट्रार यज्ञराज पाठक, हेमराज पन्त लगायतले दर्खास्त दिएका छन् । 

सत्ता समिकरण परिवर्तन भएसंगै दुबै विश्वविद्यालयको रोकिएको उपकुलपति छनोट प्रक्रिया अघि बढेको हो । दुबै विश्वविद्यालयका प्राध्यापक संघ संगठनले उपकुलपतिका लागि आवश्यक पर्ने योग्यतामा अनुसन्धानलाई प्राथमिकता दिएको भन्दै विरोध जनाए पछि कांग्रेस सभापति शेरबहादुर देउवाको दवावमा प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा फागुन ६ गते छनोट प्रक्रिया नै स्थगित भएको थियो ।

पढ्नुहोस् :

उपकुलपति छनोट रोक्न प्राध्यापक संघले यसरी गरे चलखेल

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति प्रक्रिया स्थगित

सत्ता गठबन्धन फेरिए सँगै अनुसन्धानलाई नै प्राथमिकता दिएको कार्यविधि अनुसार छनोट सुरु गर्ने संकेत पाएपछि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी संयोजक रहेको समिति सक्रिय भएको थियो । 

समितिको १२ गते बसेको बैठकले शुक्रबारसम्म दर्खास्त दिन सकिने सूचना निकालेको थियो । पछिल्लो पटक थप गरिएको समयमा मध्यपश्चिममा थप दुई जना र सुदुरपश्चिममा थप दुई जनाले दर्खास्त दिएका छन् । 

आवेदन दिनेमा विश्वविद्यालयका वहालवाला र पूर्व पदाधिकारी नै रहेको स्रोतले जनाएको छ । दर्खास्त लिने समय सकिएकोले छनोट समितिले आइतबारदेखि तिव्र गतिमा काम गर्ने समितिका एक सदस्यले बताए । पूर्वाञ्चल र त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामा सुरुमै विश्वविद्यालयको बिजनेश प्लान र सोचपत्र पेश गर्नु पर्ने थियो । सुदर र मध्यपश्चिममा भने आवेदन दिएर सर्टलिष्टमा परेपछि मात्रै सोचपत्र र बिजनेश प्लान पेश गर्नु पर्ने प्रावधान कार्यविधिमा राखिएको छ । 

प्रतिक्रिया