Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

त्रिविको रेक्टरमा केसी, रजिस्ट्रारमा रिजाल सिफारिस, सत्ता गठबन्धनले चाहेको व्यक्ति नभएपछि सिफारिस थन्कियो

एमालेले प्रगतिशिल प्राध्यापक संगठनका अध्यक्ष बेदराज केसीलाई रजिस्ट्रार बनाउन चाहे पनि उपकुलपतिले अर्कै व्यक्तिको नाम पठाएपछि ६ दिन देखि सिफारिस थन्किएको हो ।

मंगलबार, २० चैत्र २०८०

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले रेक्टर र रजिस्ट्रारमा सिफारिस गरेको नाममा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले असन्तुष्टि जनाउदै नियुक्ति गर्न आनाकानी गरेका छन् । उपकुलपतिले सिफारिस गरेको नाम ६ दिन देखि प्रधानमन्त्री कार्यालयमा थन्किएको छ । सत्ता गठबन्धनले चाहेको व्यक्तिको नाम रेक्टर र रजिस्ट्रारमा नपरेपछि  प्रधानमन्त्रीले नियुक्ति नगरेको स्रोतको दाबी छ । 

सत्ता गठबन्धनले चाहेको व्यक्ति नभएको भन्दै सिफारिस भएको व्यक्तिमा सहमति जुट्न नसकेको हो । सहमती जुट्न नसकेपछि प्रधानमन्त्री एवं कुलपति दाहालले नियुक्ति नै रोकेका हुन् । 

स्रोतका अनुसार उपकुलपति बरालले बिहीबार रेक्टरमा खडग केसी र रजिस्ट्रारमा केदार रिजाललाई सिफारिस गरेका छन् । केसी अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक हुन भने रिजाल वातावरण विभागका प्राध्यापक एवं खुला विश्वविद्यालयका डीन हुन् । एमालेले रजिस्ट्रारमा आफु निकट प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष बेदराज केसीलाई नियुक्ति दिन प्रधानमन्त्रीलाई दबाब दिएको स्रोतले जनाएको छ । त्यस्तै रेक्टरमा काँग्रेस निकटलाई नियुक्ति दिनु पर्ने माग छ । तीन दलको भागवण्डामा दुई जना नै नपरेपछि त्रिविका उपकुलपति बरालले सिफारिस गरेका व्यक्तिको नियुक्ति हुन नसकेको हो । 

त्रिवि कानुन अनुसार उपकुलपतिले सिफारिस गरेको व्यक्तिलाई कुलपतिले नियुक्ति दिनु पर्ने हुन्छ । कुलपतिले सिफारिस गरेको नाम अस्वीकार नगर्नुको कारण बाहिर आएको छैन । तर, विद्यार्थी संघ संगठन मार्फत  उपकुलपति बराललाई आफू निकट दलका प्राध्यापकलाई रेक्टर र रजिस्ट्रारमा नियुक्ति गर्न दबाब दिएका छन् । विद्यार्थी संगठनको विभिन्न नाममा ज्ञापन पत्र दिएर दबाब दिएका छन् । उपकुलपति बराललाई रेक्टर र रजिस्ट्रारमा आफू निकट दलका प्राध्यापकलाई नियुक्तिको लागि सिफारिस पठाउन दबाब दिएकै कारण विश्वविद्यालयले प्रहरी प्रधान कार्यालय मार्फत  सुरक्षा गार्ड (पीएसओ) माग गरेका थिए । बरालले पीएसओ लिइसकेका छन् । 

‘मुख्य तीन दलका नेताहरुको कुरा नमिल्दा उपकुलपतिको सिफारिस गरेको नाममा प्रधानमन्त्रीले सहमति नजनाएको भन्ने खबर आएको छ’ उपकुलपति निकट स्रोतले भन्यो,‘जुन नाम गएको छ यसमा सहमति नदिए उपकुलपति सरले त राजीनामा दिने तयारी हामीलाई सुनाउनु भएको छ ।’

उपकुलपति माओवादी निकट भएकोले रजिस्ट्रार र रेक्टरमा एमाले, कांग्रेसले भागवण्डा खोजेका छन् । 

बरालले, उपकुलपति नियुक्तिकै बेला आफ्नो टिम आफै बनाउने सर्त प्रधानमन्त्रीलाई राखेको बताउँदै आएका छन् । उनी फागुन १० मा उपकुलपति नियुक्त भएका हुन् । बरालले आफू नियुक्त भएको एक महिना ५ दिनमा रेक्टर र रजिस्ट्रारको नाम सिफारिस गरेका हुन् ।

‘विश्वविद्यालयका पूर्व उपकुलपति र निष्पक्ष, योग्य प्राध्यापकहरुसंगको छलफलबाट विश्वविद्यालयमा काम गर्न सक्ने व्यक्तिलाई उहाँले टिममा राख्न खोज्नु भएको छ’ स्रोतले भन्यो,‘ प्रधानमन्त्रीको साथ पाउने हो कि होइन थाहा छैन ।’

उपकुलपति बरालले रेक्टर र रजिस्ट्रार हुन चाहनेको आवेदन माग गरेका थिए । आवेदन दिएका मध्येबाटै केसी र रिजाल छानिएका हुन् । 

यो पनि 

दबाबमा त्रिविका उपकुलपति

प्रतिक्रिया