Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

नियुक्तिमा भईरहेको अस्वभाविक ढिलाई प्रति आपत्ति

आफ्नो टीम बनाई काम गर्न पाउनु पर्छ भन्ने आफूहरुको मान्यता स्मरण

शुक्रबार, २३ चैत्र २०८०

काठमाडौं - सिफारिस भएको नौ दिन वितिसक्दा पनि रेक्टर र रजिष्ट्रार नियुक्ति नगरेर त्रिभुवन विश्वविद्यालयको नियमित काममा अवरोध ल्याएको भन्दै पूर्वउपकूलपतिहरूले आपत्ति जनाएका छन् । योग्यताका आधारमा अबिलम्ब त्रिविका पदाधिकारीहरू नियुक्त गर्न उनीहरुले आग्रह गरेका छन् ।

पुर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदाभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जङ्ग शाहले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् । 

'त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति भएको लामो समय वितिसक्दा पनि शिक्षाध्यक्ष र रजिष्ट्रार जस्ता पदाधिकारीहरुको नियुक्तिमा अस्वभाविक ढिलाई भईरहेको छ', विज्ञप्तिमा भनिएको छ 'नियुक्तिमा ढिलाइ भएको कारणबारे सम्बन्धित मन्त्रालय र त्रिभुवन विवविद्यालय दुबै मौन छन् । त्यसबाट त्रिविको शैक्षिक एवं प्रशासनिक कार्यहरुमा पर्न सक्ने वा परिरहेका समस्याहरु प्रति जिम्मेवार व्यक्तिहरु चिन्तित हुनु पर्ने हो ।'

उपकुलपतिले आफ्नो टीम बनाई काम गर्न पाउनु पर्छ भन्ने आफूहरुको मान्यता स्मरण गराउँदै नियुक्तिमा भएको ढिलाईले विश्वविद्यालयको नियमित काममा जानी नजानी अवरोध ल्याईएको आरोप पनि लगाएका छन् । 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले रेक्टरमा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक खडग केसी र रजिस्ट्रारमा वातावरण विभागका प्राध्यापक एवं खुला विश्वविद्यालयका डीन केदार रिजाललाई सिफारिस गरेका छन् । तर, सत्ता गठबन्धनले चाहेको व्यक्ति नभएको भन्दै सिफारिस भएका नाममा सहमति जुट्न नसकेको हो । सिफारिस नामहरुमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले असन्तुष्टि जनाउँदै नियुक्ति गर्न आनाकानी गरेका छन् । यसले गर्दा सिफारिस गरेको नाम नौ दिन देखि प्रधानमन्त्री कार्यालयमा थन्किएको छ । सत्ता गठबन्धनले चाहेको व्यक्तिको नाम रेक्टर र रजिस्ट्रारमा नपरेपछि  प्रधानमन्त्रीले नियुक्ति नगरेको स्रोतको दाबी छ । 

यी खबर पनि पढ्नुहोस् : त्रिविको रेक्टरमा केसी, रजिस्ट्रारमा रिजाल सिफारिस, सत्ता गठबन्धनले चाहेको व्यक्ति नभएपछि सिफारिस थन्कियो

दबाबमा त्रिविका उपकुलपति

प्रतिक्रिया