Edukhabar
मंगलबार, १८ बैशाख २०८१
खबर/फिचर

मधेस प्रदेशमा पदस्थापन गरेपछि मन्त्रालयमै डाको छोडेर रोए उपसचिव

शिक्षा मन्त्रालयले ११ जना उपसचिवको पदस्थापन, एनओसीमा मगर, शिक्षक कितावखानामा तिवारी र अर्याल

विहीबार, २९ चैत्र २०८०

काठमाडौँ–शिक्षा मन्त्रालयको बरन्डामा ढाका टोपी लगाएका एक पुरुष एकोहरो टोलाएर बसेका थिए । काँधमा झोला भिरेर कहिले तल, कहिले माथि गरिरहे । बुधवार साढे तीन बजे तिर उनी मन्त्रालयको योजना तथा अनुगमन महाशाखामा छिरे ।

महाशाखा प्रमुख इमनारायण श्रेष्ठ, प्रशासन महाशाखाका प्रमुख कालीप्रसाद पराजुली थिए । उनीहरू आपसमा कुराकानी भइरहेको बेला ती पुरुष मलिन अनुहार लगाएर छिरे । उनले सिधै मलाई अन्याय भयो भन्दै कुरा सुरु गरे ।‘१ नम्बरको मान्छे मलाई अन्याय भयो । जागिर सकिन लागेको मान्छेलाई भ्याली बाहिर हाल्दिनु भयो,’उनले भने,‘पालिकाबाट आएको मान्छेलाई फेरी जिल्लामा पठाउनु भयो । यो त घोर अन्याय भयो ।’

भित्रभित्रै आँसु लुकाएर रुन्चे स्वरमा उनले आफ्नो कुरा सुनाइरहे । महाशाखा प्रमुखले इकाई प्रमुख हुँदा खुसी हुन आग्रह गरे । अधिकृतबाट बढुवा भएकालाई उनलाई मन्त्रालयले बुधवार पदस्थापन गरेको थियो । उनको पदस्थापन मधेस प्रदेशको जिल्लामा गरिएको थियो । बाग्मती प्रदेशको एक पालिकामा कार्यरत रहेका उनी बढुवा भएपछि काठमाडौँ आएका हुन् । 

‘मैले सबै झोली कुम्लो पोका पाएर आइसके । काठमाडौँमा फ्ल्याट खोजिसके । श्रीमती यतै जागिरे छिन । म बाहिर । अब फेरी पनि परिवारसँग बस्न नपाउने ?,’उनले भने,‘मेरो अभिभावक तपाईँहरू नै हो । उ बेला इमनारायण सर म सँगै तालिममा पनि काम गरे । मलाई मन्त्रालय, परीक्षा बोर्ड जहाँ भए पनि पदस्थापन गरेर न्याय गरिदिनुस् ।’ प्रशासन महाशाखा प्रमुख पराजुलीले इकाईमा गाडी, घोडा र क्वाटर सहितको सुविधा पाउने भएकोले खुसी भएर पदस्थापनको पत्र बुझ्न आग्रह गरे ।

ती उपसचिवले आफूलाई कुनै सुविधा आवश्यक नपर्ने तर, काठमाडौँ उपत्यकाका भित्रै बस्न चाहेको बताए । इकाईमा केही काम नभएको, अधिकार जति स्थानीय तहमा भएकोले उनले जान इन्कार गरिरहे । ‘त्यसो भए इकाई चाहिँदैन भनेर सुझाव सहितको प्रतिवेदन दिनुस् । ओएनएम भइरहेको छ । खारेज गरौँ,’पराजुलीले भने । ती उपसचिवले आफ्नो यो हैसियत नभएको बताए । पदस्थापन अघि ती उपसचिवलाई प्रशासनले इलाम जान प्रस्ताव गरेको थियो । इलाम टाढा हुने भएकोले उनले इच्छा नदेखाएपछि  प्रशासन महाशाखाले खाली भएको मधेस प्रदेशको एक जिल्लाको इकाई प्रमुखमा पदस्थापन गरेको थियो । ‘तपाईँहरूले मलाई न्याय गर्नु होला भनेर मैले कसैलाई भनसुन पनि गरिन । अहिले मलाई अन्याय भयो,’उनले भने ।  

उनीहरू बिच यस्तै कुरा चलिरहेको थियो । प्रशासन महाशाखा प्रमुख पराजुली आफ्नो कार्यकक्ष तिर अघि बढे । ती उपसचिव पनि पछि पछि लागेर गए । आफ्नो पीडा ती उपसचिवले प्रशासनका उपसचिवलाई सुनाउन थाले । प्रशासनमा भने पदस्थापन भएका केही उपसचिव पत्र बुझिरहेका थिए । उनी भने पत्र बुझ्नै चाहेनन् । शिक्षामन्त्री र सचिवलाई उनले आफू उपत्यका भित्रै पदस्थापनको लागि आग्रह गर्ने बताए । प्रशासनका उपसचिवलाई उनले आफ्नो कुरा सुनाइरहँदा उनले फोन गरे । फोनमा बोल्ने  पुरुषको आवाज बाहिरै सुनिन्थ्यो ।

मधेसको जिल्लामा पदस्थापन गरिएका ती उपसचिव फोनमा कुरा गर्दा सुरुमा सुकसुक मात्रै गरिरहे । कुरा गर्दै जाँदा उनले मन थाम्नै सकेनन् डाको छाडेर रोए । उनले रुँदै फोनमा भने,‘मलाई मार्‍यो मलाई मार्‍यो । मलाई बाहिर सरुवा गरिदियो ।’ उनी एकोहरो रोइरहे । फोनमा के भयो भनेर सोधिरहे तर, ती उपसचिवले जवाफ दिनै सकेनन् । धेरै बेरसम्म हिक्क हिक्क गरेर बसे । फोन राखे । 

उनी रुन थालेपछि प्रशासन शाखाका कर्मचारीहरू पनि उनलाई हेर्न थाले । उनी भने घोप्टो परेर रोइरहे । 

जागिर अवधि ३३ महिना मात्रै भएकोले उनले उपत्यका भित्रै पदस्थापन गरिदिन आग्रह गरे पनि नसुनेपछि रोएका हुन् । प्रशासनका कर्मचारीले भने उनलाई अहिले पदस्थापन भएको जिल्लामा हाजिर गरेर फेरी फर्कन सकिने बाटो पनि सुझाए । तर, उनी पदस्थापनको पत्र नबुझ्ने भन्दै अड्डी कसेर बसे । 

मन्त्रालयले हालै स्वीकृत भएको कर्मचारी सरुवा मापदण्ड अनुसार बढुवा भएका उपसचिवको पदस्थापन गरिएको जनाएको छ । 

एनओसीमा मगर

मन्त्रालयले अघिल्लो महिना बढुवा भएका ११ जनाको बुधवार पदस्थापन गरेको हो । मन्त्रालयका अनुसार शिक्षा विकास तथा समन्वय इकाई इलाममा तारानाथ निरौला, बारामा हेमराज खतिवडा, पर्सामा मोतीप्रसाद भट्टराई, महोत्तरीमा सुवर्णकुमार खड्का, सर्लाहीमा तारापति खरेल, डोटीमा भीमप्रसाद पनेरु, बर्दियामा सूर्यबहादुर खत्रीलाई पदस्थापन गरिएको छ । त्यस्तै शिक्षक किताब खानामा तारा पाण्डे तिवारी र प्रकाश अर्याल, इआरओमा युवराज अधिकारी र एनओसीमा नृप ध्वज मगरको पदस्थापन गरिएको छ । 

 

प्रतिक्रिया