Edukhabar
शनिबार, २२ बैशाख २०८१
खबर/फिचर

शिक्षक महासंघको विवाद सतहमा : अध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र कार्यसमितिका ९ सदस्यद्वारा महाधिवेशन बहिस्कार

महासंघका अध्यक्ष कमला तुलाधर नै महाधिवेशनमा अनुपस्थित भएपछि सह अध्यक्ष नानीमाया पराजुलीको अध्यक्षतामा दोस्रो महाधिवेशन सुरु

सोमबार, १० बैशाख २०८१

काठमाडौँ–शिक्षक महासंघ भित्रको विवाद सतहमा आएको छ । काठमाडौँको सुकेधारा स्थित नवदुर्गा पाटी प्यालेसमा  सोमबारदेखि सुरु भएको दोस्रो महाधिवेशनमा महासंघका पदाधिकारी अध्यक्ष, उपाध्यक्ष र उपमहासचिव सहित १२ जना अनुपस्थित भए पनि महाधिवेशन सुरु भएको छ । महाधिवेशन बुधवार सम्म चल्नेछ । एमाले निकट राष्ट्रिय शिक्षक संगठनले महाधिवेशन बहिस्कार गरेको हो । teachaer

महासंघका अध्यक्ष कमला तुलाधर नै महाधिवेशनमा अनुपस्थित भएपछि सह अध्यक्ष नानीमाया पराजुलीको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुने भनेर निम्तो पत्र पठाए पनि माओवादी नेता एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रमुख अतिथि नै ढिला आएपछि सोमबार ११ बजेलाई तय गरेको कार्यक्रम १ बजे मात्रै सुरु भएको थियो । कार्यक्रम हुने हल खाली भएपछि महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले जिल्लाबाट आउने क्रम जारी भएकोले उद्घाटनमा हल खाली भएको स्टेजबाट बताइरहेका थिए । ‘आज यो हल खाली भए पनि भोली भरिनेछ,’उनले भने,‘जिल्लाबाट साथीहरू आउँदै हुनुहुन्छ ।’ 

असन्तुष्ट जनाएका समूह पनि महाधिवेशनमा समावेश हुनेमा उनी ढुक्क छन् । ‘नेपाल शिक्षक महासंघ शिक्षकको साझा संस्था हो,’उनले भने,‘कहिलेकाहीँ वैचारिक, प्रक्रियागत मतभेदहरू हुनु स्वाभाविक हो । यसलाई हामी मिलाएर लैजान्छौ ।’ 

कार्यक्रममा वक्ताहरूले एउटा समूहलाई बाहिर राखेर महाधिवेशन पुरा भएको मान्न नसकिने बताएका छन् । सहमति, सहकार्य र एकताको मर्म विपरीत वैधानिक व्यवस्था प्रतिकुल हुने गरी महाधिवेशन गरेको, विभिन्न जिल्लामा अधिवेशन बाँकी रहेको, जिल्ला अधिवेशनबाट प्रतिनिधि छनोटमा एकलौटी गरेको जस्ता समस्या समाधान गर्नु पर्ने राष्ट्रिय कर्मचारी संगठनको माग छ । सहमति गरेर अघि बढौँ भन्दा पनि सुनुवाइ नभए पछि महाधिवेशन नै बहिष्कार गर्ने ठाउँमा पुगेको महासंघका अध्यक्ष कमला तुलाधरले बताइन । ‘हामी महासंघ भन्दा बाहिर बस्न सक्दैनौ । हामीले उठाएको माग सम्बोधन भएपछि महाधिवेशनमा सहभागी हुन्छौ,’उनले भने,‘हामीले उठाएको विषयमा वार्ता गर्न वार्ता समिति गठन बनिसकेको छ ।’ अखिल नेपाल शिक्षक संघको अध्यक्ष सानुभाई कार्की सांयेजकत्वमा वार्ता समिति गठन भएको छ । 

 

प्रतिक्रिया