Edukhabar
आइतबार, ०६ साउन २०८१
गतिविधि

विश्वविद्यालयका गोल्डमेडलिष्टलाई सामुदायिक विद्यालयको शिक्षकमा सिधै नियुक्ति

स्कुलका विद्यार्थीलाई पार्ट टाइम रोजगारी दिने महानगरको घोषणा

शनिबार, ०१ असार २०८१

 

काठमाडौँ-काठमाडौँ महानगरपालिकाले विद्यालय तहका विद्यार्थीलाई पार्ट टाइम रोजगारीको व्यवस्था गर्ने घोषणा गरेको छ ।

महानगरले आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममा विद्यार्थीलाई पढ्दै कमाउँदै अवधारणा अनुसार पार्ट टाइम काम गर्ने गरी रोजगारी सिर्जनाको लागि आवश्यक व्यवस्था उल्लेख छ । सरकारले प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई पढ्दै कमाउँदै कमाउँदै कार्यक्रम गर्दै आएको थियो । महानगरले पार्ट टाइम रोजगारीको अवधारणा ल्याएको हो । 

महानगरले खेलकुदलाई विशेष प्राथमिकता राखेको छ । विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि पूर्व प्राथमिकता तहदेखि अनिवार्य खेलकुदका कार्यक्रम अघि बढाउने महानगरले नीति लिएको छ ।

त्यस्तै व्यावसायिक खेलाडी तथा प्रशिक्षकको रूपमा जनशक्ति विकास गर्न सम्भावित विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चालन गर्ने नीति ल्याएको छ । महानगरले हरेक विद्यालयमा विद्यालय स्तरमा वार्षिक रूपमा एक महिने खेल महोत्सव आयोजना गर्ने नीति अघि सारेको छ । 

शैक्षिक गुणस्तर सुधार गर्न विश्वविद्यालयका गोल्डमेडलिस्टलाई सिधै शिक्षक बनाउने नीति पनि महानगरले अङ्गीकार गरेको छ । महानगरले विश्वविद्यालयका गोल्ड मेडलिस्टहरूलाई सामुदायिक विद्यालयको रिक्त शिक्षक पदमा करार सेवामा शिक्षण गर्ने प्रबन्ध मिलाउने नीति लिएको हो । 

महानगरले अघि सारेको शिक्षाको नीति 

१. विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुदलाई पूर्व प्राथमिक तहदेखि नै अनिवार्य गरिनेछ । सबै श्रोत केन्द्रमा कम्तीमा एक–एक जना मनोसामाजिक परामर्शदाता र नर्सको व्यवस्था  गरिनेछ । पूर्व प्राथमिक तहका कक्षालाई कम्तीमा दुई तहमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ  । 

२. विद्यार्थीको अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको क्षमता विकास गर्न सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक गुणस्तर सुधार गरिनेछ ।

३.सामुदायिक विद्यालयहरूमा दिवा खाजाको लागि डाइट प्लान सहितको मापदण्ड लागु गरिनेछ । यसो गर्दा विद्यार्थी सङ्ख्या दुई सय भन्दा कम भएका विद्यालयहरूमा सेन्ट्रल किचनको अवधारणा समेत प्रयोगमा ल्याइनेछ ।

४.सामुदायिक र संस्थागत विद्यालय तथा गैरसरकारी संस्थाहरूबाट उपलब्ध गराउँदै आएको छात्रवृत्तिलाई काठमाडौँ महानगरपालिकाको एकद्वार प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाइनेछ ।

५.अटिजम भएका विद्यार्थीलाई लक्षित गरी विशेष विद्यालय स्थापना गरी सञ्चालन गरिनेछ । सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूमा अपाङ्गता भएका विद्यार्थीहरूलाई भेदभावरहित तवरमा पठनपाठन कार्य गर्न गराउन अनिवार्य गरिनेछ ।

६.विद्यार्थीहरूलाई पढ्दै कमाउँदै अवधारणा बमोजिम पार्ट टाइम काम गर्ने गरी रोजगारी सिर्जनाका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।

७. काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित शैक्षिक तथा रोजगार परामर्श केन्द्रहरूको अनुमति, नवीकरण, नियमन, गुणस्तर परीक्षण र प्रमाणीकरण सम्बन्धी कार्य गर्न काठमाडौँ सीप तथा तालिम परिषद् गठन गरिनेछ ।

८. सामुदायिक विद्यालयहरूको भौतिक तथा वित्तीय परीक्षणका आधारमा विद्यालय सुधार योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ । विद्यालयको चल अचल सम्पत्तिलाई शैक्षिक प्रयोजनका लागि मात्रै उपयोग गरिनेछ ।

९. महानगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक सिकाइ केन्द्रहरूलाई पुस्तकालयको रूपमा विकास गरिनेछ । निजी तथा गैरसरकारी संस्थाहरूलाई पुस्तकालय सेवा विस्तार गर्न प्रोत्साहन गरिनेछ

१०.विद्यालयको वित्तीय सुशासनको लागि विद्यालयको लेखा परीक्षण महानगरपालिकाबाट गरिने प्रबन्ध मिलाइनेछ ।

११. व्यावसायिक खेलाडी तथा प्रशिक्षकको रूपमा जनशक्ति विकास गर्न सम्भावित विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चालन गरिनेछ । विद्यालय स्तरमा वार्षिक रूपमा एक महिने खेल महोत्सव आयोजना गरिनेछ ।

१२. काठमाडौँको स्थानीय पहिचान र मौलिक सभ्यताका विषयहरू समेटिएको संक्षिप्त पाठ्यक्रम तयार गरी कक्षा ११ र सो भन्दा माथिल्लो तहका विद्यालय तथा क्याम्पसहरूमा अतिरिक्त कक्षा सञ्चालनका लागि सहजीकरण गरिनेछ ।

१३. विश्वविद्यालयका गोल्ड मेडलिस्टहरूलाई सामुदायिक विद्यालयको रिक्त शिक्षक पदमा करार सेवामा शिक्षण गर्ने प्रबन्ध मिलाइनेछ । काठमाडौँलाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यको रूपमा विकास गरी विदेशी विद्यार्थीहरूलाई आकर्षित गरिनेछ ।

 

प्रतिक्रिया