Edukhabar
आइतबार, ०६ साउन २०८१
विदेशमा शिक्षा

बेलायती शिक्षाको समाजवादी मार्गचित्र

हाम्रो देशमा पनि फरक हिसाबले केही विचार गर्नु पर्ने छ । भाषा कै कारण पनि हाम्रा उत्पादन देशका लागि अनुपयुक्त त भइसके अङ्ग्रेजी बोलिने देशमा पनि अभिव्यक्तिका लागि पर्याप्त छैन ।

मंगलबार, १८ असार २०८१

बेलायतको सत्तारुढ दलले आगामी बिहीबारका लागि पूर्वावधि चुनावको घोषणा गरेको छ । छिमेकी देश फ्रान्समा पनि पहिलो चरणको चुनाव आईतबार भएको छ र दोश्रो चरणको चुनाव आउँदो आईतबार हुँदै छ । मझधारे मानिएका म्याक्रों चाहिँ विद्यालय पोसाकको अनिवार्यता फिर्ती, राष्ट्रिय गानको अनिवार्यता, फ्रान्सेली कलाको इतिहास पाठ्यक्रममा समावेश गर्नु पर्ने जस्ता कुराले  शिक्षामा दक्षिण पन्थ लिएको आरोप खेप्दै छन् । 

केयर स्टार्मर बेलायती प्रतिपक्षी श्रमिक दल अर्थात् लेबर पार्टिका अध्यक्ष हुन् । कुनै पनि बेला निर्वाचनको घोषणा हुन सक्ने आंकलन गरेका उनले शिक्षासँग सम्बन्धित समस्या र त्यसमा आफ्नो दलले लिने नीतिका बारेमा गत वर्ष नै व्यापक विचार प्रवाह गरेका थिए । सन्दर्भ निकै फरक भए पनि एक तहको गहिराइमा दुबै खालका सवाल नेपालमा पनि अनुभव गर्न सकिन्छ । सत्तारुढ कन्जर्भेटिभ (टोरि पनि भनिन्छ) पार्टिलाई शिक्षाको बेवास्ता गरेको कडा आरोप लगाएका स्टार्मरले आफूलाई समाजवादी दावी गर्ने भएकाले उनले व्यक्त गरेका शिक्षा सम्बन्धी विचार यहाँ प्रस्तुत गरिएको छ । 

यी सब कुरालाई शिक्षाको सानो घेरा भन्दा अलि व्यापक सन्दर्भमा पनि हेर्नु पर्ने हुन्छ । याद रहोस् हामी अझै पनि हाम्रो शिक्षा सिर्जन विहीन हुनुमा बेलायती औपनिवेशिकताको प्रभावलाई औंल्याउँदै आइरहेका छौं । हेरौं हाम्रा उहिले देखि अहिले सम्मका आदर्श देशका प्रतिपक्षी नेता के सोच्दै रहेछन् !

उनले देशमा केही हुनका लागि मेहनत गरे पछि केही हुन्छ भन्ने भरोसा सबै भन्दा महत्वपूर्ण रहेको बताए र शिक्षाले यसको प्रत्याभूति गर्न सक्नु पर्ने बताए । उनका विचारमा जब केही गर्न आफ्नो क्षमता भन्दा आफ्नो पृष्ठभूमि जिम्मेवार हुन थाल्छ अनि उसको आशा उड्न थाल्छ । उनले यसलाई ‘वर्गीय बार’ भनेका छन् । पक्कै पनि यसमा आर्थिक र संरचनात्मक पक्षहरु पनि जिम्मेवार छन् तर उनले शिक्षादेखि श्रम प्रतिको सम्मानहीनता र ठालू प्रवृत्ति काम र वयस्क हुञ्जेल सम्म रहने विषय अवसरको ठूलो वाधाका रुपमा लिएका छन् । कुनै काम गर्दा गजब मानिने र कुनै काम हेय मानिने कुरा थ्याचर (सन् १९७९ देखि १९९० सम्म प्रधानमन्त्री रहेकी टोरि नेता) भन्दा पहिला देखि नै रहेको भए पनि टोरीले यसलाई मलजल गरेको र पछिल्लो पटक लेबरको सरकार हुँदा (सन् ९० को मध्य देखि २०१०) शिक्षा सब भन्दा राम्रो स्थितिमा पुराएको दावी पनि गरे, हरेक राजनीतिज्ञले जस्तै । उनले “हाम्रा लागि प्राज्ञिक र तिम्रा लागि व्यावसायिक” भन्ने भेदको भविष्य नरहेको बताउँदै दुबैलाई भविष्यमा दुबै किसिमको सक्षमता आवश्यक हुने बताए । प्राज्ञिकतासँगै प्राविधिक सिप, समस्या समाधान गर्ने दृढता, सिक्ने चाह र उत्सुकता सधैँ चाहिन्छ भन्दै भविष्यमा परिवर्तनको गति तीव्र हुँदै जाँदा सिर्जनशीलता, सम्वेगात्मक बौद्धिकता, तचकता र घुलनशीलता अझ आवश्यक हुने ठहर गरे । डिजिटल प्रविधि सापेक्ष पाठ्यक्रम परिमार्जन गर्नै पर्ने कुरा गरे पनि उनले भने “त्यसले हामीलाई सिकाउने मेसिन भन्दा फरक छुट्टिने मानव एवं हाम्रो समाज र जीवन समृद्ध र सम्मानपूर्ण बनाउने हुनु पर्दछ ।”  

यो प्रसङ्गमा के उल्लेख गर्नु चाहिँ वाञ्छनीय हुन्छ भने बेलायतमा प्राज्ञिक र व्यावसायिक धारहरुले वर्गीय विभाजन बढाएको र काम पाउने अवसरहरुमा पनि यसले सजिलो नबनाएको विषय छलफल भइ नै रहेको हो । सिप विहीन जनशक्ति उत्पादन गरेको कारणले प्रचलित  ए–लेभल खारेज गर्न ऋषि सुनाकले नै निर्णय लिएको खबर यही अनलाइनमा पनि प्रकाशन भएको थियो । पढ्नुहोस् : 'ए - लेभल' खारेज गर्ने घोषणा

उनले  भने : विश्वविद्यालय नगएको मूल्य धेरै महङ्गो र आर्थिक उन्नति निश्चित समुदायमा सीमित हुन थालेको कुरालाई जब सम्बोधन गरिएन भविष्य खेद्दै हाम्रा केटाकेटीहरु जीवन र काम दुबैका लागि तयार भएनन् ।  उनले कोभिडको शैक्षिक क्षतिपूर्ति योजना ऋषि सुनाक अर्थमन्त्री हुँदा रद्द गरेको कुरालाई सम्झाउँदै केटाकेटीको भविष्य प्रति सुनाकले सरोकार नराख्ने आरोप लगाए । ‘कालान्तरमा जब शिक्षकहरु हुलका हुल काम छोड्छन्, विद्यालय भवनहरु भत्किन थाल्छन् र विद्यार्थीको अनुपस्थिति भयावह हुन्छ त्यति बेला उनको दलले थाहा नपाए जस्तो गर्ने बाहेक त्यसको पुर्ताल गर्ने केही हुने छैन ।’ 

उनले देशमा फेरि घरको मालिक हुन सक्ने सपना बुन्न, भविष्यका कामका आधार स्तम्भहरु सुरक्षित मुहल्लाहरु, सस्तो र सफा बिजुली, भविष्यसँग तादात्म्य राख्न सक्ने राष्ट्रिय स्वास्थ्य प्रणाली र हरेक समुदायमा दिगो आर्थिक वृद्धि बहाली गर्न उपयुक्त ऐन कानुनहरुको व्यापक तर्जुमा गर्ने बताउँदै सुधारिएको शिक्षा त्यसको ‘गेम चेञ्जर’ हुने बताए । त्यसमा भविष्यका लागि बालबालिकाहरु तयार गर्न निम्न ५ वटा बाधाहरु हटाउन पर्ने बताए ।  

हाम्रो देशमा पनि कामका अवसरहरुका लागि नेपाली भाषा र अझ स्थानीय भाषा जरुरी हुन्छ । निजी विद्यालयमा र बढ्दो रुपमा सार्वजनिक विद्यालयमा पनि अङ्ग्रेजीको प्रचलन बढ्दो छ ।

पहिलो हो असुरक्षा, जसले परिवार नै तहस नहस बनाइ दिएको छ । यसको आँशिक सम्बोधन शिक्षाबाट नै हुन्छ अझै जीवनकै सुरुका दिनको शिक्षाबाट जसले जीवन पर्यन्त हिँडिराख्ने आधार तयार गर्छ । यसका लागि २०३० सम्ममा पाँच लाख थप बालबालिकाका प्रारम्भिक शिक्षाको लक्ष प्राप्त गर्न जोड दिनु हो । उनले बालशिक्षामा सरकारका लगानीका कारणले एक एकल महिलाले उन्नति गरेको उदाहरण दिँदै समुदायमा हजारौं थप स्वास्थ्यकर्मीको सेवा, नव माता पिताहरुको मानसिक स्वास्थ्यमा पहुँच, प्रारम्भिक बालविकासमा स्थानीय अधिकारीहरुको क्षमता वृद्धि र प्रारम्भिक बाल शिक्षाको गुणस्तर वृद्धि र बन्द हुँदै गरेका सयाँै बालकक्षाहरुलाई रोक जस्ता काम अघि सारे । 

दोस्रो बाधा हो बालबालिकाको खस्कँदै गरेको आत्मविश्वास । यो कुरा हर शिक्षकलाई थाहा भएको जिकिर गर्दै केयरले भने पर्याप्त क्षमता र प्रतिभा हुँदा हुँदै पनि उनीहरु आफ्ना विचारको अर्थ छ भनेर आफ्ना कुरा बाहिर ल्याउन सकिरहेका छैनन् ।  यसमा पक्कै पनि वर्गीय बारको भूमिका छ । हाम्रा बालबालिकाहरु राम्ररी अभिव्यक्त हुन नसकेर मौकाबाट बञ्चित हुन परिरहेको छ । कोभिडको महामारीले यसलाई झन् अप्ठेरो पारेको स्वीकार्दै मातृत्व र पितृत्वको उल्लासको यो क्षण झनै तनावपूर्ण रहेको उनले बताए । यसका लागि प्राज्ञिक शब्दावलीमा भनिने वक्तृत्वको महत्वलाई उठाउन प्रस्ताव गरे जसमा बालबालिकाको भविष्यको सफलता टिकेको हुन्छ । उनले शिक्षा विधि अलि भित्र पस्दै भने पहिलो शैक्षिक उपलब्धि हो –  लेख्नु अघि राम्ररी मुखले बताउन सक्यो भने लेखाइमा सुधार हुन्छ । अनि कक्षा कोठामा संरचनात्मक रुपमा गरिने छलफलहरु जसले विचार गहिरो बनाउँछ । यी अङ्क ल्याउने वा काम पाउने कुरा मात्र होइनन् जिउने कला हुन् जसले धक, निराशा तनाव र शङ्काहरु माथि विजय प्राप्त गरेर साथी र परिवारमा खुल्न र म को हूँ भनेर खोजी गर्न सघाउँछ । यो बानी प्रारम्भिक कक्षादेखि नै हुर्काउनु पर्छ भन्दै घोषणा गरे कि यसका लागि हरेक प्राथमिक विद्यालयमा विश्वस्तरको भाषिक गतिविधि बढाउन थप बजेट दिइने छ र निजी विद्यालयहरुलाई पनि यसो गरेमा केही कर छुट दिइने छ । 

हाम्रो देशमा पनि यो हिसाबले केही विचार गर्नु पर्ने छ । कामका अवसरहरुका लागि नेपाली भाषा र अझ स्थानीय भाषा जरुरी हुन्छ । निजी विद्यालयमा र बढ्दो रुपमा सार्वजनिक विद्यालयमा पनि अङ्ग्रेजीको प्रचलन बढ्दो छ । भाषा कै कारण पनि हाम्रा उत्पादन देशका लागि अनुपयुक्त त भइसके अङ्ग्रेजी बोलिने देशमा पनि अभिव्यक्तिका लागि पर्याप्त छैन । देशमै पनि केही औपचारिक क्षेत्रमा बाहेक अरु व्यावसायिक काम गर्न अङ्ग्रेजी पर्याप्त छैन । हाम्रा केटाकेटीहरु सम्वाद शून्य नभए पनि वक्तृत्व सिप विहीन हुँदै छन् । 

उनले देखेको अर्को बाधा म्याद गएको पाठ्यक्रम हो । स्टार्मरले भने दुनियाँमा अब्बल गनिएका सिङ्गापुर  वा इस्टोनिया जस्ता देशले पनि आफ्ना पाठ्यक्रममा पुनर्विचार गरिरहेका बेला हामीले पुरानै समातेर बस्नु हुँदैन । हामी आठ प्रगति (विद्यालयलाई आठवटा आधारमा जवाफदेही बनाइने टोरि सरकारले विकास गरेको बेलायत सरकारको एक पद्धति जुन आखिरी परीक्षामा उच्च अङ्कल्याउने विद्यार्थी सङ्ख्याका आधारमा पुरस्कृत गर्ने भन्दा समग्र परिणाम, भाषा र गणितलाई दुइगुना भार दिएर सबै विद्यार्थीका केही वर्षा अगाडिदेखिका सरदर प्राप्ताङ्क ध्यानमा राखी हिसाब गरिने एक पद्धति ।) को समीक्षा गर्ने छौ र हाम्रा नानीहरुले १६ वर्ष नहुँदै सिर्जनात्मक कला या खेलकूदको अध्ययन गरिसकेको हुनु पर्छ ।

हामी अझ अगाडि गएर पाठ्यक्रममा वक्तृत्व क्षमता पनि उन्नेछौँ अनि सिद्धान्त र अभ्यास, व्यावसायिक सिप र प्राज्ञिकता, विद्यालय र घरेलु कामहरुको दूरी कम पार्नेछौं । उनले कार्ययोजना सुनाए र अगाडि भने ‘हाम्रो पाठ्यक्रमले डिजिटल पहेलिहरु पनि तोड्न सक्ने छ । हामी २० वर्ष पुराना कम्प्युटरमा अल्झिने होइन भनेर हरेक विद्यार्थी कम्प्युटर कोड बनाउने र कृत्रिम बौद्धिकतालाई आफ्ना सबै काम जिम्मा लगाउने भनेको होइन; भविष्यका लागि विद्यार्थी तयार गर्ने भनेको हो । कम्युटरको आवश्यक ज्ञानको अभावमा उनीहरु अवसरबाट वञ्चित नरहुन् भन्ने हो । अब ‘हरेक हप्ता यो यो  विषय पढियो वा पढाइयो’ भनेर चिनो लगाएर पुग्दैन । 

कति शिक्षकहरुले यो कुरा पहिल्यै देखि उठाइ नराखेका होइनन् । कतिले उन्नत पाठ्यक्रम बनाएर ज्ञान तथा सिप प्रवाह गरिरहेका छन् । लेबर सरकारले यसैलाई अगाडि बढाउने छ ।  सिप र ज्ञानको तुलनात्मक महत्वको विवाद शिक्षा विषय भित्र नपसेका मानिसहरुलाई अनौठो लाग्न सक्छ तर हामी नझुक्किउँ व्यावसायिक सिप प्रति हाम्रो समाजले राखेको दृष्टिकोण मुख्य बाधा हो । यसमा हामी मात्र होइन पूरा समाज लाग्नु पर्छ । हामी सबै वर्गीय बारको विचारबाट अनुकूलित छौ । हामीले यसलाई हटाउन यी उपायहरु अवलम्बन गर्नु पर्छः 

एक – यथार्थपरक लक्ष सहित कोभिड उत्तर तालिममा ठूलो जनसंख्याको पहुँच बढाउनु पर्छ ।  

दुई – नयाँ संस्था सहित राष्ट्रिय सिप योजना जसले हाम्रो औद्योगिक नीतिसँग हात र पञ्जा जस्तै एक भएर त्यसको तर्जुमा गर्ने छ ता कि हामी भविष्यका काममा प्रतिस्पर्धी रहन सकौं । 

र,  आखिरी  चाहिँ गर्दै सिक्ने काम (एप्रेन्टससिप)लाई दुई गुना महत्व दिने सिप र समृद्धि हो, जसले विद्यमान औपचारिक शिक्षाको चौडाइको आंकलन गरेर व्यवसायीहरुलाई लगानी गर्ने लचकता देओस् । 

अब आखिरी अवसरको बाधा चाहिँ जकडिएर बसेको न्यून अपेक्षा हो जुन पुरानै बाधा हो र जसलाई हटाउन धेरै काम गर्नु पर्छ । टोरि पार्टिको शिक्षा प्रतिको बेवास्तालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए । उनले भने ‘त्यसैले हामी कक्षा कोठालाई आफ्नो पेसा बनाउने प्रतिवद्धता भएका शिक्षकलाई पुरष्कृत गर्दै उनीहरुलाई काममा टिकाउने सङ्कटको सामना गर्ने छौं; त्यसैले नपुगेका ६५०० विषय शिक्षक थप्ने छौं; गुणस्तर बढाउने कामलाई प्रोत्साहन गर्ने छौ; अनि शैक्षिक गुणस्तर कार्यालय (Office of Standards in Education यो नेपालको शैक्षिक गुणस्तर परीक्षण केन्द्र ERO  जस्तै) लाई सुधार गर्ने छौं जसले फेरि अभिभावक र तिनीहरुका लागि काम गर्ने छ । निगरानी हरेक बर्ष हुनुपर्छ र केटाकेटीका बाउ आमा आफ्ना केटाकेटीले के कसरी शिक्षा पाउँदै छन् थाहा पाउने हैसियत राख्छन् ।’ 

उनले अगाडि भने प्रभावकारी जवाफदेहिता, स्तरीय शिक्षण र हरेकलाई काम र जीवन यापनको लागि तयार गर्ने पाठ्यक्रम यही नै लेबर सरकारले ल्याउने छ । हामी यी पाँच बाधाहरु चिर्ने छौं – नयाँ भविष्यको योजना यही हो । व्यावसायिक कामको सम्मान र वर्गीय बार भत्काउने मार्गचित्र यही हो ।  मेरो राजनीतिक परियोजना यही हो । 

यो देश फेरि एउटा समुदाय जस्तो हुने छ । त्यो देश जहाँ आफ्ना मात्र होइन हरेक बालबालिका प्रति हामी सबै सरोकार राख्ने छौं । एउटा त्यस्तो भविष्य फेरि आफ्नो हातमा लिएको बेलायत (बन्ने छ) जो एकताबद्ध छ,  अग्रगामी छ र उच्च छ जसले नागरिकलाई सुरक्षा दिन्छ, उत्साहमा साथ दिन्छ, अवसर सबैलाई दिन्छ र केटाकेटीको भविष्य सुध्रिने कुरामा साँच्चै विश्वास राख्छ । 

जनसम्वादका लागि संश्लेषित भाषान्तरण । मौलिक विस्तृत रुप यहाँ उपलब्ध छ ।  

Keir Starmer unveils Labour’s mission to break down barriers to opportunity at every stage

प्रतिक्रिया