Edukhabar
आइतबार, ०६ साउन २०८१
विचार / विमर्श

के शिक्षकले दलगत राजनीति गर्न हुन्छ ?

शिक्षा क्षेत्रको समस्याको खोजी शिक्षक वा त्यसमा जोडिएको राजनीतिबाट होईन पाठ्यक्रमबाट, बालबालिकाको सिकाइबाट र उक्त सिकाइको नतिजाबाट गर्नु पर्दछ ।

शनिबार, २२ असार २०८१

सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न गत बैशाख ४ गते शिक्षा मन्त्री सुमना श्रेष्ठले गरेको निर्णयको पक्ष विपक्षमा विभिन्न तर्कहरु सार्वजनिक भईरहेका छन् । प्रायः सबैजसो राजनीतिक दलले यसलाई समर्थन गरेको देखिन्छ । श्रमिकहरुको पार्टी भनिने कम्यूूनिष्ट पार्टीहरुले समेत यसलाई समर्थन गरेका छन् । यसले हरेक श्रमिकहरुको ट्रेड युनियन अधिकार माथी धावा बोलेको तर्क पनि उठेको छ । शिक्षकहरुको साझा संस्था नेपाल शिक्षक महासंघले भने यो बिषयमा असहमती जाहरे गरेको छ । राजनीतिक दल निकट बिभिन्न शिक्षक संघ संगठनहरुले यसलाई आपत्तीको बिषय नै बनाएका छन् । 

व्यक्ति सामाजिक प्राणी भएकाले नै ऊ राजनीतिक प्राणी पनि हो । हरेक सचेत व्यक्ति कुनै न कुनै रुपमा राजनीतिसँग जोडिएकै हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिबारे सुसूचित हुनु तथा दलीय व्यवस्थाका विविध पक्षहरुलाई बुझ्नु र बुझाउनु शिक्षित नागरिकको दायित्व पनि हो । नेपालको संविधान २०७२ को धारा १७ को उपधारा २ को (ग) ले हरेक नेपालीलाई राजनितिक स्वतन्त्रताको हक प्रदान गर्दै भनेको छ : प्रत्येक नागरिकलाई राजनितिक दल खोल्ने स्वतन्त्रता हुनेछ । साथै धारा १८ ले समानताको हक प्रदान गर्दै भनेको छ : सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । साथै धारा ४८ (ग)ले नेपाली नागरिक कर्तव्य पनि सुझाएको छ : राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु । 

अर्थात् नेपालको संविधानले तिनवटा कुरा उठाएको देखिन्छ हरेक नागरिकहरु राजनितिक रुपमा दलीय विचार राख्न स्वतन्त्र छन् ति सबै नागरिकहरुलाई राज्यले समान ढंगले व्यवहार गर्ने छ र राज्यले चाहेको बखत हरेकबाट अनिवार्य रुपमा सेवा गराउन वा लिन सक्ने छ ।

वैद्धिककालिन परम्परामा शिक्षकहरु अर्थात गुरुहरु राजनीतिक रुपमा सक्रिय हुन पाउने वा नपाउने के थिए त भन्ने कुरालाइ हेर्दा वेद भन्दछ : वयं राष्ट्रे जाग्रियाम पुरोहिता । 

विशाल भारतका परिकल्पनाकार तथा योजक चन्द्रगुप्त मौर्यका शिक्षक बिष्णुगुप्त चाणक्य नै चन्द्रगुप्त मौर्यका राजनीतिक गुरु तथा विशाल भारतका परिकल्पनाकार थिए ।

विश्वका प्रजातान्त्रिक मुलुकका अभ्यासहरु हेर्दा के देखिन्छ भने कुनै पनि देशमा कुनै पनि प्रजातान्त्रिक देशको संविधानले जुनसुकै पेशा व्यवसाय वा राष्ट्र सेवामा लागेका व्यक्तिलाई राजनीतिक दलको कार्यकर्ता हुनबाट रोक लगाएको होस । तर संसारभर एउटै मान्यता मिल्दोजुल्दो देखिन्छ त्यो हो सेना, प्रहरी वा राज्यको सुरक्षा निकायमा बसेका व्यक्तिलाइ जो सेवामा २४ सै घण्टा सेवारत रहन्छ त्यसलाई दलीय दायरामा रहने कुरा अस्विकार गरेको छ ।

नेपालको संवैधानिक व्यवस्था लगायतको दृष्टान्तबाट हेर्दा शिक्षकहरु राजनितिक दलको सदस्य हुनबाट बञ्चित गर्ने उक्त निर्णय कति जायज कति नाजायज ? यो निर्णयले केही प्रश्न उब्जाएको छ । 

पहिलो, शिक्षकहरुले राजनीति गर्नुहुन्न वा दलीय सदस्यता लिनुहुन्न भन्ने प्रश्न कानूनी प्रश्न हो कि नैतिक प्रश्न हो ? 

दोश्रो, शिक्षकहरु २४ सै घण्टा सेवा प्रवाह गर्ने सुरक्षाकर्मी जस्ता कर्मचारी हुन् कि १० देखि ४ पछि उनीहरुले अन्य काम गर्न पाउने प्रकृतिका कर्मचारी ? 

तेश्रो, २४ घण्टे सेवा प्रवाह नगर्ने वर्गका सेवाप्रदायक भएको हिसावले १० देखि ४ बाहेकको जीवन उनिहरुको निजी जीवन हो कि सेना प्रहरी जस्तो सेवारत रहँदा सम्म पुरै समय सरकारी हो ?

यी प्रश्न माथि छलफल गर्दा शिक्षक भनेका समाजका अगुवा हुन् । समाजका आँखा हुन्, समाज परिवर्तनका मसिहा हुनु र हुनुपर्दछ । इतिहासलाई फर्केर वर्तमानको बिश्लेषण गर्ने हो भने हाम्रा वर्तमान मुख्य राजनीतिक दलका नेताहरु प्रायः शिक्षण पेशामा रहेर राजनीति गरेर आएको देखिन्छ । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन हाँक्ने दलहरु नेपाली काँग्रेस वा वाममोर्चाका नेता कार्यकर्ताहरु सबै भूमिगत रुपमा समाजमा शिक्षकको भूमिकामा रहेर दलको संगठन बिस्तार गरेको ईतिहास छ ।

पछि गुरुहरुको समेत हत्या गर्न पुगे यो दुखद् हो तर, २०५२ सालबाट सुरु भएको माओवादी जनयुद्धका सञ्चालकहरु सुरुमा शिक्षकको रुपमा काम गरेको देखिन्छ । अहिले यो सवालसंग अर्को कुरा पनि गाँसिएको छ त्यो हो शिक्षकहरु राजनीतिक दलमा सक्रिय भएकै कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको छ । कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजाका आधारमा पनि यो भनाई पुष्टि भएको देखिन्छ । 

यसमा पनि हामीले छलफल र समीक्षा गर्न आवश्यक छ ।

शिक्षकले आफ्नो कार्य समय बाहेक स्वतन्त्र ढंगले राजनीतिक दलको सदस्यता लिन, राजनीतिक कृयाकलापमा भाग लिन वा राजनीतिक गतिबिधी गर्न छुट पाउनु पर्दछ । राज्यले उनीहरुलाई बञ्देज लगाउनु हुँदैन ।

माथिका सवालहरुमा छलफल गर्दा आम मत के देखिन्छ भने शिक्षकहरुले कुनै अमुक राजनीतिक दलमाथि आस्था राख्दैमा केही बिग्रने पनि होइन । तर, दलीय राजनीतिको क्रियाशीलताले शिक्षण पेशा भने कमजोर हुनु हुँदैन । राजनीतिक रुपमा सचेत हुन सक्दा यसबाट धेरै पक्षहरुको जानकारी लिन पनि सकिन्छ ।

राजनीतिक विषयवस्तु बारे सत्यतथ्य सिकारु समक्ष पुर्याउनु पनि शिक्षकको दायित्व हो । तर, कुनै अमुक राजनीतिक दलको बफादार कार्यकर्ता भएर विभिन्न राजनीतिक विचारधारा तथा राजनीतिक दलहरुको क्रियाकलापको वस्तुगत विश्लेषण कक्षा कोठामा प्रस्तुत गर्नु हुँदैन ।

शिक्षकहरु सेना प्रहरी जस्तो २४ घण्टे सेवाप्रदायक निकाय होइनन् । उनीहरुले राजनिती गर्न पाउने कि नपाउने उनीहरुको कानूनी प्रश्न होइन यो नैतिक प्रश्न हो ।  शिक्षकहरुले राजनीतिक दलमा आस्था राख्न सदस्यता लिन वा त्यसको भूमिकामा रहन पाउनु पर्दछ । किन भने उनीहरु नै समाजका अगुवा भएको हुनाले राजनीतिक चेतना भर्ने दायित्व फेरी पनि शिक्षक कै हो । उनीहरुले कक्षा कोठामा १० देखि ४ बजे सम्म सेवा गर्दा दलीय राजनिति गर्नु हुँदैन । विद्यार्थीलाइ विचारका आधारमा भेदभाव गर्नु हुँदैन । उनीहरुलाई फरक मत राखेकै आधारमा भेदभाव गर्न पाइदैँन । तर आफ्नो सेवा समय बाहेक उनीहरुको निजी जीवन लागु हुन्छ जुन समय उनिहरुले संविधानले दिएको अधिकार पूर्णरुपले उपभोग गर्न पाउँछन् । यसो गर्दा शिक्षकहरुले ध्यान दिनु पर्ने केही कुराहरु छन् जसलाइ बुँदागत रुपमा प्रस्तुत गरिन्छ :

१. शिक्षकले कक्षा कोठालाई मन्दिरको रुपमा मान्नु पर्दछ । त्यहाँ रहने विद्यार्थीलाई देवताको रुपमा लिनुपर्दछ । ति देवताका हरेकका क्षमता विचार तथा भावनालाइ कदर र आदर गर्दै कक्षा कोठालाइ पवित्र बनाउनु पर्दछ । त्यसमा जसरी एउटा भक्त मन्दिर गएर तोकिएको विधि बिधानमा पुजा गर्दछ । ठिक त्यस्तै शिक्षकले पनि कक्षा कोठालाई विचारबाट असंलग्न, स्वतन्त्र र सबैलाइ समेटेको समावेशी बनाउनु पर्दछ । यसमा उसले कुन दलको के बिचार राख्दछ त्यसको गन्ध कक्षा कोठामा आउनु हुँदैन ।  कक्षाकोठा दलीय राजनितिक वातावरणबाट मुक्त, सिक्न लायक, सबैको विचारलाई कदर भएको सबै विचारहरुको सम्मान भएको र पूर्ण समावेशी बनाउने दायित्व शिक्षकको हो ।

२. शिक्षकले विद्यालयमा पाठयक्रमलाई ध्यान दिनु पर्दछ । आफुले शिक्षण गर्ने पाठयक्रम कति व्यवहारिक छ । विद्यार्थीलाई कति व्यवहारिक बनाउन सकिन्छ ? उनीहरुलाई कति सृजनशिल बनाउन सकिन्छ ? कसरी यो पाठयक्रमलाई जीवनउपयोगी बनाउन सकिन्छ ? विद्यार्थीलाई के कसरी शिक्षण गरेको खण्डमा सबैलाई आवधिक परीक्षामा तथा जीवनका परीक्षामा उत्तीर्ण गर्न सकिन्छ ? यो अर्जुनदृष्टि शिक्षकका हुन आवश्यक देखिन्छ ।

३. शिक्षकले विद्यालयमा विभिन्न विद्यार्थी, अभिभावक वा शिक्षक जो बाट आएका फरक विचार हुन् ति विचारलाई आदर, कदर र मान्यता प्रदान गर्नुपर्दछ । शिक्षकले जहिले पनि विद्यार्थीको आलोचनात्मक चेतलाई उत्साहित गर्नुपर्दछ भने विद्यार्थीको सृजनशिलतालाई प्रशंसा गर्नुपर्दछ । शिक्षकले अरुको विचारलाई निरुत्साहित गर्ने आफ्ना विचारहरु लाद्ने गर्नु हुँदैन । आफु उभिएको र देखेको कुरा सहि र अरुले देखेको गलत भन्ने मान्यतालाई च्यात्नुपर्दछ । किन भने गल्ती सृष्टिमा होइन दृष्टिमा हुन्छ । त्यसकारण हेर्ने मानिसले स्थान परिवर्तन गरेर बस्तुलाई, घटनालाई र तथ्यलाई हेर्न नियाल्न तथा विश्लेषण गर्न शिक्षकले सहजीकरण गर्नुपर्दछ ।

४. शिक्षकको व्यक्तिगत जीवन र पेशा फरक फरक कुरा हो । यसलाई छुट्टाएर जीवनलाई अगाडि बढाउनु पर्दछ । बिहान १० बजे देखि ४ बजेसम्म वा त्यसको आवश्यकता अनुसार पेशाका निमित्त समय व्यवस्थापन गरे पश्चातको समय अवधी जीवनका महत्वपूर्ण कामको लागि छुट्टाउनु पर्दछ । जसमा राजनीति पनि पर्दछ र रुचि अनुसारका दलमा सामेल हुने कुरा त्यसका विचारहरुलाई प्रवाह गर्ने कुरा समाजमा सकारात्मक सन्देश दिने कुरा शिक्षकको दायित्व भित्रका कुरा हुन । 

निश्कर्ष 

शिक्षकले आफ्नो कार्य समय बाहेक स्वतन्त्र ढंगले राजनीतिक दलको सदस्यता लिन, राजनीतिक कृयाकलापमा भाग लिन वा राजनीतिक गतिबिधी गर्न छुट पाउनु पर्दछ । राज्यले उनीहरुलाई बञ्देज लगाउनु हुँदैन । तर शिक्षकहरुले अनिवार्य रुपमा आफ्नो पेशा व्यवसायलाई मर्यादित बनाउने र कर्तव्य परायण भएर कार्य गर्ने, परिणाम निकाल्ने दायित्व भने भुल्नु हुँदैन । उनीहरुले निम्न चारवटा आचरण पालन गर्नुपर्दछ :

क) निश्पक्षता र तटस्थता

ख) कसैलाइ पूर्वाग्रह नराखेर समान व्यवहार गर्ने 

ग) व्यवसायिक धर्मको पालना 

घ) पाठयक्रम तथा पाठयपुस्तकमा जोड 

शिक्षा क्षेत्रको समस्याको खोजी शिक्षक वा त्यसमा जोडिएको राजनीतिबाट होईन पाठ्यक्रमबाट, बालबालिकाको सिकाइबाट र उक्त सिकाइको नतिजाबाट गर्नु पर्दछ । आयातित हैन हाम्रो देशलाइ चाहिने पाठयक्रम निर्धारण गरौं । व्यवहारिक तथा मूल्य सृजना गर्ने पाठयक्रम समावेश गरौं । विचार फक्रिन दिउँ, फूल्न दिउँ, फल लाग्न दिउँ कोपिलामै निमोठ्ने प्रयास नगरौं ।

अधिवक्ता समेत रहेका राउत सामाजिक राजनीतिक क्षेत्रमा कृयाशिल छन् । 

प्रतिक्रिया