Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

सानै कक्षादेखि राजनीतिबारे जानकारी दिन आग्रह

शुक्रबार, २५ मंसिर २०७२

भक्तपुर - गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै वागीश्वरी उच्च माविले आफ्नो ५७ औं तथा कलेजको आठौं वार्षिकोत्सव मनाएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छले सिद्धिबहादुर छात्रवृत्ति, नारायणी मानन्धर छात्रवृत्ति, शिक्षक कर्मचारी सहायता कोष छात्रवृत्ति, जिशिका छात्रवृत्ति लगायतका छात्रवृत्ति  प्रदान गरे ।

कार्यक्रममा नर्सरीदेखि स्नातकोत्तर सम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो भने वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिता उत्कृष्ट शिक्षक कर्मचारी तथा विद्यार्थी लगायतलाई पुरस्कृत पनि गरियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बिजुक्छेंले उहाँले देशको विकासका निम्ति बौद्धिक वर्गको स्पष्ट राजनीतिक विचार हुनुपर्ने भएकोले शिक्षक शिक्षिकाहरुले विद्यार्थीलाई तलै कक्षादेखि देशको राजनीतिबारे सही जानकारी दिनुपर्ने बताए ।  उनले सम्पन्न परिवारका अभिभावकले आफ्ना सन्तानलाई जागिर खान  निरुत्साहित गरी देशलाई आवश्यक विषयमा विशिष्टता हासिल गराउन सल्लाह दिए ।

कार्यक्रमका विशेष अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेपालको संविधान माथि आपत्ति व्यक्त गर्दै भारतले लगाएको नाकाबन्दीले नेपालका लाखौं विद्यार्थीको भविष्य बर्बाद भएको बताउँदै यसले विद्यार्थी विदेशिने क्रम झन् तीव्रता आउनु नेपालका निम्ति घाटा भएको बताए ।

भक्तपुरका जिल्ला शिक्षा अधिकार दिनेश कुमार श्रेष्ठले बैशाख १२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भक्तपुरका १४ वटा विद्यालय पुनःनिर्माण गर्न एसियाली विकास बैंक र जाइकाको सहयोगमा जिशिकाले काम थालेको बताए । सिटिइभिटी टेक्स डिभिजन प्रमुख डोब्बरलाल शिलाकारले उत्पादन श्रमसँग जोडिएको शिक्षा दिने भक्तपुरको उद्देश्यलाई सहयोग गर्न वागीश्वरीले थालेको प्राविधिक कार्यक्रम उदाहरणीय भएको बताए ।

नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले शिक्षा ऐनमा अस्थायी शिक्षकको मागलाई सम्बोधन गराउने संघको पहललाई सरकारले पूरा गर्ने अपेक्षा व्यक्त गरे ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वको सभापतित्वमा सम्पन्न कार्यक्रममा वागीश्वरी उमाविका प्राचार्य कृष्णप्रसाद धन्छा र कलेजका प्राचार्य धनकुमार श्रेष्ठले क्रमशः उमावि र कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । पूर्व प्राचार्य मोहनप्रसाद प्रजापति, उमाविस्तरीय एवम् सार्वजनिक मावि संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष पुष्पलाल सुजखु, स्रोत व्यक्ति प्रेमगोपाल कर्माचार्य, सह प्राचार्य ज्ञानसागर प्रजापति, शिक्षक राजन लाखा, धनेशराज राजोपाध्याय, शिक्षिका रोजी चवाल लगायतले शुभकामना ब्यक्त गरे ।

वार्षिकोत्सवको औपचारिक कार्यक्रम पश्चात् विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति २०७२ मंसिर २५ गते

प्रतिक्रिया